धुलिखेल । प्रेमिकाको हत्या गरी इँटाभट्टामा लुकेका रामेछापका सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
चौरीदेउराली गाउँपालिका-१, डाँडाखर्क घर भई बनेपा नगरपालिका-९ नयाँबस्तीमा बस्दै आएकी ३३ वर्षीया शर्मिला उप्रेती असार ३२ गते दिउँसो २ बजेदेखि हराएकी थिइन् । उनको शव आइतबार बनेपा-१३ भगवान थुम्की सामुदायिक जंगलको भिरालो जमिनमा रहेको चिलाउनेको रुखको फेदमा कोल्टो अवस्थामा फेला परेको थियो।
प्रहरीले अनुसन्धान गर्ने क्रममा उनी प्रेमी सन्तोष सुनारसँग कोठाबाट निस्किएको तथ्य फेला परेको थियो । सुनारले असार ३२ मै उप्रेतीको हत्या गरी जंगलमा छाडेका थिए । उनको शव ५ दिनपछि भेटिएको थियो ।
प्रहरीले सन्तोषलाई बनेपा नगरपालिका-१० स्थित एक इँटाभट्टाबाट सोमबार बिहान पक्राउ गर्यो । उनी रामेछाप जिल्लाको साविक फुलासी गाविस-२ र हाल मन्थली नगरपालिका- १३ मा बस्छन् ।
सुनारलाई अनुसन्धानका लागि जिल्ला अदालत, धुलिखेलबाट ४ दिनको म्याद थप भएको जिल्ला प्रहरीका एसपी कोमलविक्रम शाहले बताए ।

Leave a Reply