ओली र ईश्वरबीचको डेढ घण्टे वार्तामा विद्यादेखि ‘व्युरोक्रेटिक’ विधानसम्मको चर्चा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तावित विधानमा प्रथम वरीयताको उपाध्यक्ष भनेर ‘व्युरोक्रेटिक’ तरिकाको पद राखिएकोमा असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डेढ घण्टा लामो वार्ताका क्रममा पोखरेलले महाधिवेशनले गरेको वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाएर कर्मचारीतन्त्रको शैलीमा पहिलो वरीयताको उपाध्यक्ष राख्ने भन्ने प्रस्ताव आफूलाई ठीक नलागेको बताएका हुन् ।

बालुवाटार स्रोतका अनुसार पोखरेलले वरिष्ठ उपाध्यक्ष पद हटाइएकोमा असन्तुष्टि जनाएका थिए । तर, प्रधानमन्त्रीले ‘तपाईँले ७० वर्षे उमेर हद चाहिन्छ भनेकाले अब वरिष्ठ के काम भनेर हटाउन लगाएको’ जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अब पार्टीमा वरिष्ठ उपाध्यक्ष बनाउने व्यक्ति तपाईँभन्दा अरु मैले तत्काल देखेको थिइनँ । तपाईँले ७० वर्षे उमेर हद लगाएर बिदा हुने कुरा गरेपछि त्यो पद मैले नै नराख्न भनेको हुँ ।’

तर, पोखरेलनिकट एक नेताले बताएका अनुसार वरिष्ठ उपाध्यक्ष पद हटाएको भन्दा पनि उपाध्यक्षहरूबीच पहिलो वरीयता भनिएकोमा पोखरेलले चासो राखेका हुन् । आफूले नीतिगत विषयमा बढी फोकस भएको बेला वरिष्ठ उपाध्यक्ष पद योजनाबद्धरूपमा हटाइएको पोखरेलले आफूनिकटहरूलाई सुनाएका छन् ।

ती नेताले भने, ‘उहाँले (पोखरेल) पार्टी जीवनको लोकतान्त्रिकरण, सुविचारित ढंगले राखिएको उमेर हद र कार्यकालको विषयमा बैठकमा बढी फोकस गर्नुभयो । यसअघि नै उहाँको तेजोबध गर्ने ढंगले सचिवालय बैठकभन्दा पहिले नै माओवादी र कतिपय कांग्रेसनिकट मिडियामार्फत ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खोसिँदै भन्ने ढंगले प्रचार गराइयो । जबकी ११ औं महाधिवेशनसम्म वरिष्ठ उपाध्यक्ष पद कसैले खोस्न सक्दैन, त्यसपछि ईश्वर पोखरेल अध्यक्षकै उम्मेदवार बन्ने बाटो उहाँहरूले नै ७० वर्षे हटाएर खोलिदिनु भएकै छ ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नै बोलाएर पोखरेल बालुवाटार गएका थिए । शनिबार पोलिटब्युरो बैठकलगत्तै ओलीले पोखरेललाई सँगै जाउँ भनेका थिए । तर, राति भइसकेकाले पोखरेलले नै आइतबार भेटौं भनेको र सोहीबमोजिम २ नेताबीच डेढ घण्टा कुरा भएको हो ।

पोखरेलले विद्या भण्डारीको सम्मानजनक ढंगले व्यवस्थापन गर्न ओलीलाई आग्रह गरेका थिए । पोखरेलले निकटस्थहरुलाई बताएअनुसार विगतमा ओली र निकट नेताहरूले नै भण्डारीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री भनेर शीतल निवासमा रहेकै बेला बचन दिएको स्मरण गराएक थिए ।

पोलिटबुयुरो बैठकमा पार्वत गुरुङले भण्डारी राष्ट्रपति भएका बेला आफूसँगै गएका ९ जनामध्ये ८ जनाले पार्टीमा फर्केर अध्यक्ष बन्नुपर्ने सुझाव दिँदा आफूलेमात्र त्यसो नगर्न भनेको प्रसंगसमेत पोखरेलले झिकेका छन् ।

आइतबारको भेटलाई प्रधानमन्त्री ओलीनिकट नेताहरूले भने पोखरेलले एघारौं महाधिवेशनमा पनि वरिष्ठ उपाध्यक्ष कायमै रहनका लागि पार्टी अध्यक्षलाई फकाउने प्रयासका रूपमा टिप्पणी गरेका छन् । पोखरेलले आफूलाई सँगै राख्न र फरक व्यवहार नगर्न ओलीलाई आग्रह गरेको उनीहरूको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *