काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीका सह-महामन्त्री एवं कांग्रेस सिन्धुपाल्चोकका नेता हरिशरण श्रेष्ठले कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कहिल्यै पनि सुध्रिन नसक्ने नेता भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस श्रेष्ठले सिन्धुपाल्चोक सरकार ! उर्फ टेरामक्स अलिकति सुध्रियो होला भन्नठानेको थिएँ, फेरि ह्रिसंक र विक्षिप्त मानसिकताले बोल्ने जसरी बोल्न थालेको भन्दै कडा प्रतिवाद गरेका छन् ।
श्रेष्ठले भनेका छन्, ‘तेरो हुती छ भने सत्य र तथ्यमा टेकेर एउटै कार्यक्रममा पार्टीका साथीहरूमाझ बसेर बहस सुरू गरौं ? हुती छ भन्दै प्रश्न गरेर बस्नेतलाई खुला बहसका लागि चुनौती दिएका छन् ।’

बस्नेतले सिन्धुपाल्चोकका अरु नेताहरू हुती र बुद्धी नभएका भन्दै आलोचना गर्दै आएका छन् । केही दिनअघि पार्टीको सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिद्वारा बलेफी गाउँपालिकाका नेता कार्यकर्ता भेटघाटमा बस्नेतले श्रेष्ठलाई ‘केही हैसियत नभएको, बजेट हाल्न र केही गर्न नसकेको आरोप लगाएका थिए ।
‘मसँग हुँदा केही हैसियत थियो । अहिले मसँग छैन उसको केही हैसियत छैन’, बस्नेतले भनेका थिए ।
बस्नेतले सार्वजनिक कार्यक्रममा आफ्नो आलोचना गरेपछि त्यसको जवाफ फर्काएको श्रेष्ठले बताए ।
नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले आफू चुप लागेर युद्धविराम गरेर बसेपनि बस्नेतले सार्वजनिक ठाउँमा आलचोना गर्न सुरू गरेपछि युद्धविराम भंग गरेको बताए ।
‘अरु पार्टीका नेताहरूलाई केही भन्न नसक्ने । आफ्नै पार्टीकालाई देखी नसहने बस्नेत प्रवृत्तिविरुद्ध हामी सबै लड्न तयार छौं’, श्रेष्ठले भने ।

Leave a Reply