सम्बन्धविच्छेदपछि महिलामाथि हुने सामाजिक बुलिङको विवेचना

काठमाडौं । सामाजिक सञ्जालमा विवाह र सम्बन्ध विच्छेदका विषयमा व्यापक बहस चलिरहेका छन् । व्यक्तिपिच्छे सबैले आ-आफ्ना धारणा राखिरहेका छन् । तर्क वितर्क चलिरहेको छ । यी बहसहरूले मलाई भने मलाई कलेज जीवनतिर फर्काइरहेछ ।

कलेजमा समाजशास्त्र पढाउने सरले विवाहलाई एक सामाजिक संस्थाको रूपमा व्याख्या गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘विवाह केवल दुई व्यक्तिबीचको सम्बन्ध मात्र होइन, यो एक सामाजिक संरचना हो, जसले संस्कृति, परम्परा, धर्म र कानुनी प्रणालीसँग गहिरो सम्बन्ध राख्छ ।’

समाजशास्त्रीहरूले विवाहलाई दुई व्यक्तिहरूको बीचमा हुने सामाजिक रूपमा मान्यता प्राप्त सम्बन्धका रूपमा परिभाषित गर्छन् । जसलाई सामान्यतः यौन सम्बन्धमा आधारित स्थिर र दीर्घकालीन व्यवस्था मानिन्छ । अधिकांश समाजमा विवाहलाई दुई व्यक्तिबीचको स्थायी सामाजिक र कानूनी सम्झौता तथा सम्बन्धको रूपमा विवाहलाई लिइन्छ । जहाँ दुवै पक्षबीच पारस्परिक अधिकार र आ-आफ्ना दायित्वहरू रहेका हुन्छन् ।

विवाह केवल पति-पत्नीबीचको सम्बन्ध मात्र होइन, यो कानुनी, आर्थिक, सामाजिक तथा आध्यात्मिक वा धार्मिक रूपले एक सामाजिक संस्थाको रूपमा पनि स्थापित हुन्छ । विवाहलाई कानुन र धर्मले मान्यता दिएको हुन्छ र दम्पतीबीच आर्थिक सम्बन्ध पनि गाँसिएको हुन्छ । विवाहको अन्त्य (रद्द वा सम्बन्धविच्छेद) गर्दा पनि यो सबै पक्षहरूमा सम्बन्धको अन्त्य गर्नुपर्ने हुन्छ ।

सम्बन्धविच्छेदको आलो घाउमा सधैँ समाजले थप नुनचुक थपिदिन्छ । उनीहरूलाई सामाजिक बहिष्कार, आर्थिक असहजता र कानुनी पहुँचभन्दा टाढा राखेर झनै यातना दिइन् । नयाँ जीवन सुरु गर्ने उनीहरूको चाहनामा समाजले सधैँ बुट बजार्छ ।

तर, जब म सामाजिक सञ्जालमा देख्छु,- विवाहको विफलतामाथि हुने दोषारोपण, सम्बन्धविच्छेदपछि महिलामाथि गरिने ट्रोलिङ अनि सहानुभूतिभन्दा बढी हुने छुद्र टिप्पणीहरू ! मलाई लाग्छ, समाजशास्त्रका सिद्धान्तहरूभन्दा व्यवहारिक समाज धेरै पछाडि छ, धेरै नै पिछडिएको छ ।

विवाहलाई सामाजिक संस्था भनेर पढ्दै गर्दा त्यो संरचनाभित्र हुने समानता, स्वायत्तता र सम्मान पनि सोचिएको थियो । तर, हाम्रो सामाजिक संरचनामा महिलाका लागि समानता, स्वायत्तता र सम्मानको लेस पनि देखिँदैन । जब उनीहरू समाजको त्यो कठोरे संरचना तोड्न खोज्छन्, तब समाजले उनीहरूलाई सजाय दिन सुरु गर्छ ।

पितृसत्तात्मक परम्परामा हुर्केका नेपाली महिलाहरूले लामो समयदेखि परिवारको इज्जत बचाउने जिम्मेवारी आफैँ बोकेका छन् । यसका लागि आफ्नै मानसिक स्वास्थ्य, स्वतन्त्रता र पहिचानको मूल्यलाई परम्पराको नाममा दाउमा राखेका छन् । महिलाप्रति अनुदार समाजमा विवाहजस्तो सम्बन्धलाई तोड्ने महिलाको निर्णय अझै पनि विवादास्पद मानिन्छ ।

कानुनी सुधार र महिलाको अधिकारको चेतना बढ्दै गए पनि सम्बन्धविच्छेदलाई लिएर समाजमा हुने बदनाम र पूर्वाग्रहले अझै पनि धेरै महिलाको जीवनलाई प्रभावित पारिरहेको छ । यद्यपि अहिले नयाँ पुस्ताका चेतनशील र विद्रोही महिलाहरू आफूमाथि पितृसत्ताले लागेको अन्यायविरुद्ध उभिन थालेका छन् ।

गायिका एलिना चौहानको प्रतिरोध एउटा उदाहरण हो । जसले घरेलु हिंसाको सामना गरेकी थिइन् । त्यसको विरुद्धमा उनी उभिइन् । तर, यथार्थ के हो भने आफ्नो नाम, परिचय र स्वरको माध्यमबाट स्वतन्त्र जीवन बाँचिरहेकी महिलासमेत हिंसाबाट बच्न सकिनन् भने आवाजसमेत उठाउन नपाएका अधिकांश महिलाको अवस्था कस्तो होला ? यो अहिलेको गम्भीर सवाल हो । एलिनाले मानसिक र शारीरिक रूपमा पीडा मात्रै भोगिनन्, सञ्जालमा तिरस्कारको सिकार समेत भइन् । महिलाको सन्दर्भमा हाम्रो पितृसत्तात्मक समाज कतिसम्म अनुहार रहेछ भन्ने कुरा एलिनाले भोगेको व्यथाले पुष्टि गर्छ ।

नेपाली समाजमा सम्बन्धविच्छेदलाई व्यक्तिको निजी निर्णयको रूपमा नलिएर सामाजिक लाञ्छनाको रूपमा लिइन्छ । विवाह तोड्ने महिलाले आफ्नै परिवार, समुदाय र कहिलेकाहीँ आफ्ना सन्तानबाट पनि आरोप, आलोचना र प्रश्नको सामना गर्नुपर्छ । आफ्नो आत्मसम्मान र सुरक्षाको लागि लिएको निर्णयलाई समाजले ‘सम्झौता गर्न नसक्ने’, ‘घमन्डी’ वा ‘घर बिगार्ने’को रूपमा बुझ्छ ।

यहाँ सम्बन्धविच्छेदलाई अझै पनि ठूलो कलंकको विषय मानिन्छ । धेरैजसो परिवार र समुदायमा सम्बन्धविच्छेद भएकी महिलाहरूलाई ’असफल’ वा ’अपरिपक्व’ भनेर हेर्ने चलन छ । विशेष गरी ग्रामीण क्षेत्रमा त यस्तो दूषित मानसिकता अझैँ गहिरोसँग गडेर बसेको छ ।

सम्बन्धविच्छेदपछि महिलाहरूले भोग्नुपर्ने पारिवारिक र सामाजिक दबाब अर्को स्तरको मानसिक यातना बन्न पुग्छ । यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्नुको सट्टा दोषी ठानिन्छ, हेपिन्छ, र समाजबाट अलग्याइन्छ ।

कानुनी रूपमा स्वतन्त्र भए पनि धेरै महिलाहरू अझै पनि आक्षेपहरूको पिँजडामा बाँधिएका छन् । कानुनी रूपमा छुट्टिँदा उनीहरूले स्वतन्त्रता त पाउँछन्, तर अझै पनि समाजको कठोर मूल्यांकनबाट पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैनन् । ‘सम्बन्ध बचाउन सकिनँ’, ‘परिवार बिगारिन्’, जस्ता आरोपहरू सार्वजनिक रूपमा मात्र होइन, सामाजिक सञ्जालमा खुलेर लगाउने गरिन्छ । यस्ता आक्षेपहरूले उनीहरूको मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ ।

म सामाजिक सञ्जालमा देख्छु,- विवाहको विफलतामाथि हुने दोषारोपण, सम्बन्धविच्छेदपछि महिलामाथि गरिने ट्रोलिङ अनि सहानुभूतिभन्दा बढी हुने छुद्र टिप्पणीहरू ! मलाई लाग्छ, समाजशास्त्रका सिद्धान्तहरूभन्दा व्यवहारिक समाज धेरै पछाडि छ, धेरै नै पिछडिएको छ ।

महिलासँग संविधानले अधिकार दिए पनि हाम्रो समाज ती अधिकारको प्रयोग गर्ने महिलालाई सजिलै स्वीकार्न तयार हुँदैन । सम्बन्धविच्छेद गरेपछि आत्मनिर्भर जीवन सुरु गर्ने प्रयासमा रहेका धेरै महिलाहरू अझै पनि समानुपातिक अवसर, सामाजिक सम्मान र भावनात्मक सहयोगबाट वञ्चित छन् ।

विशेष गरी सामाजिक सञ्जालमा अभद्र टिप्पणी, ट्रोलिङ र चरित्र हत्याका घटनाहरू बढ्दो छन् । सम्बन्धविच्छेदपछि नयाँ जीवन सुरु गर्ने प्रयास गर्दा महिलाहरूलाई ‘अविवेकी’, ‘फेसबुक हिरोइन’ वा ‘नाटक गर्ने’ जस्ता अपमानजनक संज्ञा दिइन्छ । यस्तो अनलाइन हिंसाले उनीहरूको आत्मविश्वास कमजोर मात्रै बनाउँदैन, डिप्रेशन, एन्जाइटीजस्ता मानसिक समस्याको कारण समेत बन्ने गर्छ ।

एकातिर महिला सशक्तीकरणको कुरा गरिन्छ, तर अर्कातिर महिलालाई विवाहित स्थितिका आधारमा मूल्यांकन गरिन्छ । सम्बन्धविच्छेदपछि उनीहरूलाई अधुरो, अनुशंकित वा समाजका लागि खतरा जस्तो व्यवहार गरिन्छ ।

सम्बन्धविच्छेदको आलो घाउमा सधैँ समाजले थप नुनचुक थपिदिन्छ । उनीहरूलाई सामाजिक बहिष्कार, आर्थिक असहजता र कानुनी पहुँचभन्दा टाढा राखेर झनै यातना दिइन् । नयाँ जीवन सुरु गर्ने उनीहरूको चाहनामा समाजले सधैँ बुट बजार्छ ।

यद्यपि, केही महिलाहरू यो यातनाबाट बाहिर निस्कन थालेका छन् । उनीहरू आत्मसम्मानको लागि बोल्न थालेका छन् । आफ्नो जीवनको निर्णय आफै गर्न थालेका छन् । उनीहरूले दया होइन, शर्तविहीन स्वतन्त्रताको माग गरिरहेका छन् ।

यदि नेपाल साँच्चिकै प्रगतिशील र समावेशी समाज बन्न चाहन्छ भने नेपाली समाजले सम्बन्धविच्छेदलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनुपर्छ । महिलालाई सशक्त बनाउने कुरा केवल सफलताको कथामा सीमित हुनु हुँदैन । बरु त्यस्ता संरचनालाई तोड्नुपर्ने बेला आएको छ, जसले महिलालाई आफूलाई रोज्न नदिने बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *