रुपन्देही । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सवारी नियम उल्लंघन गरी सञ्चालन भएका सवारीसाधनबाट एक वर्षमा १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना असुल गरेको छ।
यो आर्थिक वर्ष २०८०/८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक सुरक्षा, दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री सेवा विस्तार र कानुनी कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कार्यालयले जनाएको छ।
राजश्व असुलीसँगै ट्राफिक सचेतनामूलक कार्यक्रम, सवारी साधनको चेकजाँच, नक्कली चालक अनुमतिपत्र नियन्त्रण, ट्राफिक उपकरणको प्रयोग विस्तार र छाडा चौपाया व्यवस्थापनजस्ता अभियान सफलतापूर्वक सञ्चालन गरिएको जनाइएको छ ।
कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मित्रबन्धु शर्माले आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना असुल गरिएको जानकारी दिए ।
संकलित जरिवाना रकम अघिल्लो भएको बताए। शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लंघन गर्ने सवारीसाधनबाट १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको थियो।
राजश्व बढी भएपनि सवारी नियम उल्लंघन गरी कारबाहीमा पर्ने सवारीसाधनको संख्या भने अघिल्लो आर्थिक वर्षमा भन्दा ६३ हजार १६ ले कमी छ। आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए।
प्रहरी उपरीक्षक शर्माले अघिल्ला वर्षहरूमा एउटै सवारीसाधन गन्तव्यमा नपुग्दासम्म दोहोरो तेहेरो चेकप्वाइन्टमा कारबाहीमा पर्ने गरेकोमा पछिल्लो समय एउटा चेकप्वाइन्टमा कारबाहीमा परेको सवारीसाधनलाई गन्तव्यमा नपुग्दासम्म अर्को चेकप्वाईन्टमा कारबाही गर्न रोकिएपछि सवारी साधनको संख्या कमी देखिएको बताए।
शर्माका अनुसार सवारीसाधनको संख्यामा कमी देखिए पनि जरिवाना दस्तुर बढेका कारण जरिवाना रकम भने बढी संकलन भएको बताए। राजश्व संकलनमा ओभरलोड कारवाही अन्तर्गत ४२ हजार ७७३ सवारीबाट ६ करोड ३८ लाखभन्दा बढी राजस्व उठाइएको छ।
सबैभन्दा बढी कारबाही र राजश्व रुपन्देहीमा
सबैभन्दा बढी रुपन्देहीमा ५० हजार ४४१ वटा सवारीसाधन कारबाहीमा पर्दा ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ जरिवाना संकलन भएको छ।
रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत १ करोड १८ लाख ८७ हजार ३ रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही मार्फत ४ करोड ८९ लाख ६२ हजार ९ रुपैयाँ जरिवाना संकलन भएको हो।
बाँकेमा कारबाहीमा परेका ३७ हजार ४३५ वटा सवारीसाधनबाट ३ करोड २७ हजार ५०३, दाङमा २१ हजार ५९० सवारीसाधनबाट २ करोड ३१ लाख ६० हजार, कपिलवस्तुमा १३ हजार ५६१ वटा सवारीसाधनबाट १ करोड ४५ लाख ५० हजार र पश्चिम नवलपरासीमा ८ हजार ३ सय सवारीसाधनबाट १ करोड ६ लाख ९ हजार जरिवाना संकलन भएको छ।
यस्तै, बर्दियामा १२ हजार ३७८ सवारीसाधनबाट ९५ लाख ७० हजार, पाल्पामा ६ हजार १६८ वटा सवारीसाधनबाट ७३ लाख ५१ हजार ४५०, प्युठानमा ४ हजार ४९१ सवारीसाधनबाट ५२ लाख ६५ हजार र रोल्पामा ४ हजार ३५२ सवारीसाधनबाट ५१ लाख ७ हजार ९४० रुपैयाँ जरिवाना संकलन भएको छ।
यसैगरी गुल्मीमा ५ हजार ३७८ वटा सवारीसाधनबाट ४४ लाख ३० हजार ५ सय, अर्घाखाँचीमा ३ हजार ६३ सवारीसाधनबाट ४२ लाख ३० हजार र रुकुम पूर्वमा २ हजार ९२३ वटा सवारीसाधनबाट ३२ लाख ३३ हजार रुपैयाँ जरिवाना संकलन भएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए।
यस्तै यातायात कार्यालय मार्फत गरिएको जाँचको क्रममा कारबाहीमा परेका २७३ वटा सवारीसाधनबाट ३८ लाख ८५ हजार ८४५ रुपैयाँ जरिवाना संकलन भएको छ। ८४ लाख ९ हजार रुपैयाँ उठ्न बाँकी रहेको शर्माले जानकारी दिए।
ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँच र कारबाहीलाई तीव्र बनाई रहँदा सवारीसाधन दुर्घटनाका घटनामा भने वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ हजार १२० सवारीसाधन दुर्घटना भएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा भने ३ हजार ४७९ वटा सवारीसाधन दुर्घटनामा परेका छन्।
प्रहरी उपरीक्षक शर्मा भने अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्यांकमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्यांक समेत समावेश गरिएकोले संख्या बढी देखिएको दाबी गरे।
दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या भने अघिल्लो वर्ष र गत वर्षमा खासै अन्तर देखिएको छैन। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परि ४९६ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा ५०६ जनाको मृत्यु भएको छ। जुन अघिल्लो वर्षभन्दा ९ जना बढी हो। गत वर्ष दुर्घटनामा परी ५ हजार ६९१ जना घाइते भएका छन्। यो संख्या सामान्य घाइतेको समेत हो।
सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिदा ८ लाख ३५ हजार ७८९ जना प्रत्यक्ष लाभान्वित भएका छन्। बुटवल–भैरहवा सडकखण्डमा ‘मेरो सवारी, मेरो लेन’ अभियान, बाँकेमा ट्राफिक सप्ताह, दुईपांग्रे चालकहरूलाई लक्षित ‘२ मिनेट–३ मिनेट’ सचेतना कार्यक्रम र सडक नाटकमार्फत जनचेतना फैलाइएको थियो।
यसैगरी प्रदेशभर ७६३ सवारी साधनको निःशुल्क मेकानिकल चेकजाँच, ३४ हजार ५ जना चालकको स्वास्थ्य परीक्षण, ३०४ सचेतनामूलक बोर्ड जडान, ७ वटा जेब्रा क्रस निर्माण, ट्राफिक लाइट जडान र रोड मार्किङसमेत गरिएको छ। बुटवल र बाँकेमा डिजिटल प्रणाली लागू गरिँदा हालसम्म ३९८ चालकले मोबाइलमार्फत सेवा पाएका छन्।
बुटवल उपमहानगरपालिकाको शिवनगर गौशालामा ६५० छाडा चौपाया व्यवस्थापन गरिएको छ। दाङ र कपिलवस्तुमा पनि सयौं गाईगोरु कान्जी हाउसमा स्थानान्तरण गरिएका छन्। सडक दुर्घटना न्यूनीकरणका लागि ४० चौपायालाई रातमा चम्किने रेडियम बेल्टसमेत लगाइएको कार्यालयले जनाएको छ ।
त्यसैगरी स्थानीय निकायहरुसँगको सहकार्यमा १०१ ट्राफिक बोर्ड, १५ ट्राफिक डिभाइडर, ४५ व्हील लक, ४ वटा ब्रेसथ लाइजर, १२५ ला.प.से. किट, ५ कम्प्युटर, ४ प्रिन्टरलगायत ट्राफिक उपकरण प्राप्त भएका छन्। रुपन्देही, कपिलवस्तु, नवलपरासीमा एएनपीआर र फिक्स क्यामेरा जडान गरिएको छ।
प्रहरीका लागि तालिम र स्वास्थ्य परीक्षण पनि विभिन्न स्थानमा गरिएको छ । हाइड्रोलिक मेटल कटर प्रयोग तालिम, मानसिक स्वास्थ्य परामर्श, दन्त र श्रवण परीक्षण, अग्नि नियन्त्रण अभ्यास, योग साधना र आत्मज्ञान कक्षा सञ्चालन गरिएको छ। प्रदेशभर २२८ प्रहरीलाई आगलागी नियन्त्रण तालिम दिइएको छ। प्रहरीले टेम्पो, ई-रिक्सा, मोबाइललगायत हराएका ८ भन्दा बढी वस्तुहरू सम्बन्धित धनीलाई फिर्ता गरिदिएको प्रहरी तथ्यांकमा जनाइएको छ।

Leave a Reply