च्यासल वार्ता : ओलीले भने- तपाईँ नआउनुस्, विद्याको जवाफ- म अघि बढिसकेँ

काठमाडौं । एमालेको सक्रिय राजनीमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सोही हैसियतमा सम्मानित भएर बस्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन् ।

आइतबार अपरान्ह च्यासलमा भएको भेटवार्ता भेटवार्ताबारे विभिन्न चर्चा भइरहेका बेला दुवै पक्षका नेताहरूले एमालेमा विद्याको कमब्याक सहज नदेखिएको बताएका छन् । दुई नेताबीच भएको वार्ताबारे जानकारी राखेका नेताहरूका अनुसार अध्यक्ष ओली विद्याको बाटो बन्द गर्न दृढ देखिएका छन् ।

विद्याको सदस्यता विवाद र जिम्मेवारी मूल एजेण्डा मानिएको पौने २ घण्टाको वान टू वान वार्तामा भएको धेरै कुरा रहस्यको गर्भमै छ । तथापि ओलीले सदस्यता त्यागेर १० वर्ष बाहिर गएको व्यक्तिले स्रेस्तामा नाम चढाएर नवीकरण नहुने जवाफ दिएको बालुवाटार स्रोतको दाबी छ ।

यसअघि भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि छलफल गर्ने ओलीले पोलिटब्युरो बैठकमा बताएका थिए । सोहीअनुसार हिजोको भेटघाट तय भएको हो ।

उक्त भेट पनि भण्डारीकै आग्रहमा चाँडो तय भएको हो । पोलिटब्युरो बैठकमा आफ्नो पक्षको आवाज कमजोर पारिएको बुझेपछि भण्डारीले नै ओलीसँग छलफलका लागि समय मागेको नेताहरूको भनाइ छ ।

भण्डारीको फोन ओलीले पहिले ‘मिस’ गरेका थिए । पछि ओलीले कलब्याक गर्दा भण्डारीले कुरा गरौं भनेपछि ओलीले ‘आउनुस् न कुरा गरौं’ भनेका थिए । भण्डारीले च्यासलमै आउँछु त्यतै भेटौं भनेपछि ओलीले हुन्छ भनेको बालुवाटार स्रोतको दाबी छ ।

भण्डारीले भेटबारे निकटस्थहरूलाई बताएअनुसार ओलीले उनलाई पूर्वराष्ट्रपतिकै हैसियतमा सम्मानसाथ बस्न सुझाएका छन् । एमालेले संस्थागत निर्णय गरेर पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काउँदा व्यवस्थाप्रति नै पार्टीको निष्ठामाथि सार्वजनिक प्रश्न उठ्ने उनको तर्क थियो ।

जवाफमा भण्डारीले यो हिजोआजको विषय नभई राष्ट्रपति हुनुअघिदेखि पार्टी पोलिटिक्समा फर्किने ‘तपाईँसँग भएको सल्लाह’ अनुसार नै भन्दै आफूअघि बढिसकेको बताएको निकट नेताहरूको भनाइ छ ।

एक घण्टा ४० मिनेटजति कुराकानीपश्चात निस्किँदै दुई नेता ।

भंगालनिकटका एक नेताले नेपाल प्रेससँग भने, ‘यसबीचमा हामीबीच पटकपटक कुराकानी भएको छ । म अब पछाडि फर्कने अवस्था छैन । समझदारीअनुसार नै अघि बढौं भन्ने कुरा भनेको छु भनेर हामीलाई भन्नुभयो ।’

भण्डारीले पार्टीका पछिल्ला बैठक र त्यस सन्दर्भमा आफ्नो अपमान गर्ने ढंगले जिम्मेवार नेताहरूबाट टिप्पणी आएकोमा असन्तुष्टि जनाएकी थिइन् । उनले आफ्नो सदस्यता नवीकरणको विषयलाई समेत विवादित बनाइएकोमा चित्त दुःखाएको निकट नेताले बताए ।

बालुवाटार स्रोतले भने सदस्यता नवीकरणको प्रक्रियामा आफूबाट पनि त्रुटी भएको भण्डारीले स्वीकार गरेको दाबी गरेको छ । भण्डारीले पार्टी सदस्यता पुनर्पाप्तिको निवेदन दिएर जानुपर्नेमा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको प्रधानमन्त्रीनिकट नेताहरूले बताएका छन् ।

च्यासलबाट निस्किँदै भण्डारीले राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुरा भएको दाबी गरेकी थिइन् । पार्टी सदस्यता नवीकरणबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’

सदस्यता नवीकरणको विषय प्राविधिक रहेको भन्दै सम्बन्धित कमिटीमा प्रतिवाद गर्ने तयारी भण्डारी पक्षका नेताको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले केही दिनअघि महासचिव शंकर पोखरेलले नेपाल प्रेसलाई दिएको अन्तर्वार्तामै सदस्यता नवीकरण एक वर्षअघि नै भएको स्वीकार गरिसकेको बताएका छन् ।

ती नेताले भने, ‘नवीकरण अहिले कुनै इस्यू नै होइन । रसिदहरू सुरक्षित छन् । यो विषयमा उहाँहरूबीच धेरै चरणमा छलफल भएको छ । अनावश्यक कुरामा अल्झिनु बेकार छ ।’

विगतका सहकार्य हेर्दा दुईजनाबीच असमझदारी नरहेको र आगामी दिन पनि सल्लाह/सहमतिमै अघि बढ्ने नेता-कार्यकर्ताको अनुमानविपरीत ओलीको अभिव्यक्ति आउन थालेपछि आशंका सुरू भएको उनी बताउँछन् ।

खासगरी सदस्यताको नवीकरणकै विषयमा यसरी कुरा उठाइन्छ भन्ने नलागेको र दुईजना तत्काल छलफलमा बसेर सुल्झाइहाल्नुपर्ने भण्डारीलाई सुझाव दिइएको थियो ।

गत असार ३ गते साँझ बालुवाटार भेटमा विद्याले पार्टी पोलिटिक्समा फर्किने भन्दै साथ/सहयोग गर्न भनेकी थिइन् । तर, ओलीले ठोस जवाफ नदिई ‘नोटिसमा लिएको’ हिसाबले जवाफ फर्काएको बताइन्छ ।

वान अन वान वार्ताअघि सामूहिक तस्बिर खिच्दै नेताहरू ।

उनले १४ गते ओलीकै सामु सार्वजनिकरूपमा एमालेको सदस्यता नवीकरण गरेको सुनाइन् । त्यसपछि एक टीभी अन्तर्वार्तामा अबको नेतृत्व लिने गरी अघि बढेको खुलेरै बताएकी थिइन् । त्यसपछि ओली निकै चिढिएको बताइन्छ ।

ओलीले आफूसँग सल्लाहबिनै भण्डारीले घोषणा गरेको भन्दै राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा फर्किनु गम्भीर हुने बताउँदै आएका थिए ।

योबीचमा नेता-कार्यकर्ता दुईधारमै देखिन थालेका छन् ।

विद्या अहिले मदन भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन गरेर ‘मदन भण्डारी फाउण्डेशन’ मार्फत् देशव्यापी अभियानमा होमिइसकेकी छन् ।

समितिका अधिकांश सदस्य विद्या भण्डारी एमालेको नेतृत्वमा आउनुपर्छ भनेर अभियान चलाउनेहरू छन् ।

आज दिउँसोबाट सुरू हुने केन्द्रीय कमिटी बैठकको सुरूमा हिजो भण्डारीसँग भएको कुराकानीबारे ओलीले ब्रिफिङ गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *