राजनीतिक अर्थशास्त्रको इतिहास हेर्दा पशुपालन युगमा अफ्रिका महादेश शक्तिशाली भएको देखिन्छ । कृषि युगमा एसिया समृद्ध थियो र औद्योगिक युगमा युरोप समृद्ध छ । अमेरिका समृद्ध हुनुमा आप्रवासीको योगदान हो । आज पनि नेपाल अल्पविकसित देशको सूचीमा छ । विभिन्न राजनीति परिवर्तन भए । तर, आर्थिक, सामाजिक विकासमा खासै उपलब्धि हुन सकेको देखिँदैन ।
इतिहासतिर फर्केर समीक्षा गर्दा सन् १९६० मा नेपालको प्रतिव्यक्ति आय (नेपाली जनताले एक वर्षभरि कमाउने रुपैयाँ) जम्मा ५० डलर थियो । सन् १९७० मा ७० डलर, सन् १९८० मा १ सय २५ डलर, सन् १९९० मा १ सय ८५ डलर, सन् २००० मा २ सय २४ डलर, सन् २०१० मा ५ सय ८५ डलर, सन् २०२० मा १ हजार १ सय ५४ डलर र सन् २०२४ सम्म आइपुग्दा १ हजार ४ सय ४७ डलर पुगेको छ । सन् १९६० देखि २०२४ सम्म आइपुग्दा ५ सय देखि १ हजार ४ सय ४७ डलर हाम्रो वार्षिक आय छ । यो हिसाबले नेपालीको जीवनशैलीमा फड्को मारेको देखिन्छ ।
हाम्रो देशले विकास नै नगरेको, ‘केही पनि भएन’ भन्ने गुनासो सुनिन्छ । पीडा छ । त्यही पीडाको परिणामस्वरूप बेला–बेला राजनीतिक पार्टीमा जनताको आक्रोश देखिन्छ । तथ्यांक हेर्ने हो भने हाम्रो आर्थिक परिवर्तन राम्रो देखिन्छ । देश विकास नभएको होइन, भएकै देखिन्छ ।
बरु, छिमेकी र अन्य देशसँग तुलना गर्दा सन् १९६० मा भारतको प्रतिव्यक्ति आय ८५ डलर देखिन्छ । तर, २०२४ मा आइपुग्दा २६ सय ९६ डलर छ । त्यस्तै, भुटानको प्रतिव्यक्ति आय हेर्दा सन् १९६० मा नेपालकै जति छ भने सन् २०२३ को तथ्यांकमा ३८ सय ३९ डलर छ । यो तथ्यांकले हाम्रो आँखा खुल्छ । भुटानले दोब्बरभन्दा बढी आर्थिक उन्नति गरेको छ, फड्को मारेको छ । नेपालभन्दा सानो देश, तर उसले धेरै फड्को मारेको देखिन्छ । भुटानसँग तुलना गर्ने हो भने नेपाल धेरै पछाडि परेको देखिन्छ ।
चीनलाई हेरौँ, सन् १९६० मा त्यहाँको प्रतिव्यक्ति आय ९० डलर थियो । सन् २०२४ सम्ममा १३ हजार ३ सय डलर छ । माल्दिभ्सको सन् १९७० मा १५७ डलर थियो । सन् २०२४ मा आइपुग्दा १३ हजार २ सय डलर छ । यो पनि धेरै फड्को मारको देखिन्छ । बंगलादेशको प्रतिव्यक्ति आय सन् १९६० मा ८२ डलर थियो । सन् २०२४ सम्म आइपुग्दा २५ सय ९३ डलर देखिन्छ ।
थाइल्याण्डको प्रतिव्यक्ति आय सन् १९६० मा १०३ डलर थियो, सन् २०२४ मा आइपुग्दा ७ हजार ३ सय डलर देखिन्छ । यो पनि धेरै फड्को मारेको देखिन्छ । सिंगापुरमा सन् १९६० मा ४ सय २८ डलर प्रतिव्यक्ति आय थियो ।
सन् २०२४ माआइपुग्दा ९० हजार ८ सय डलर देखिन्छ । सिंगापुरको आर्थिक फड्को कल्पना पनि गर्न नसक्नेगरि उन्नति छ । दक्षिण कोरियामा सन् १९६० मा प्रतिव्यक्ति आय १ सय ५८ डलर थियो । सन् २०२३ मा आइपुग्दा ३३ हजार १ सय डलर पुग्यो । यो पनि उन्नतस्तरको आर्थिक फड्को हो । कतारमा सन् १९६० मा ११ सय डलर प्रतिव्यक्ति आय थियो । सन् २०२४ सम्म आइपुग्दा त्यहाँको प्रतिव्यक्ति आय ७६ हजार ३ सय डलर छ । कतारको यो आर्थिक उन्नतिको स्तर हेर्दा नेपालीले धोका पाएको देखिन्छ ।
कुनै वेला राणा शासन थियो । विकास भएन भन्यौँ । हजारौँले अनेकन त्याग गरे, सयौँले बलिदान गरे । त्यसको परिणामस्वरूप राणा शासन ढल्यो । २००७ सालमा प्राप्त प्रजातान्त्रिक व्यवस्था २०१७ सालसम्म कायम भयो । त्यसपछि निर्दलीय पञ्चयात व्यवस्था आयो । त्यसैले देशले फड्को मार्न सकेन भन्ने भाष्य निर्माण गरियो । २०४६ सालमा पञ्चायत व्यवस्थाको अन्त्य भई प्रजातन्त्र बहाली भयो । २०६२/०६३ मा फेरि दोस्रो जनआन्दोलन भयो । गणतन्त्र आयो । तर, नेपालीको हालत सुधार भएन । देशलाई सिंगापुरजस्तो भन्ने शासक आए । सिंगापुर त के, कमसेकम दक्षिण एसियाको मापदण्डभित्र पनि पुर्याउन नसकेपछि यी ठूला दलबाट जनता भड्किए ।
सन् १९६० देखि अहिलेसम्म विभिन्न देशले प्रतिव्यक्ति आयमा कसरी ठूलो फड्को मारे ? आफ्नो देशलाई विकास गर्न कुन रणनीति अख्तियारी गरे रु अथवा, कसरी आफ्नो देशको आर्थिक अवस्था उचाइमा पुर्याए ? यसबाट नेपालले सिक्नु जरुरी छ । तर, अहिलेका विद्यमान नेतृत्वले यसबाट सिक्न सकेको देखिँदैन ।
आम नागरिकलाई विकास र सुशासनसँग मतलब हुन्छ । जसले यो विषयमा ध्यान दिन सक्छ, त्यो मात्रै जनताको मित्र हुन्छ । जसले यसमा ध्यान दिन सक्दैन, त्यो जनताको नजरमा गिर्छ । आज जनताले अरूको देशमा गएर काम खोज्नु नपर्ने आर्थिक विकासको मोडालिटी खोजिरहेका छन् । तर दुर्भाग्य, अहिलेका विद्यमान नेतृत्वमा यो दूरदर्शिता नदेखेको र हरेकपल्ट नेपालमा क्रान्तिको विगुल फुकिरहनुपर्ने कारण अहिले जनता आक्रोशित छन् ।
देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आइसक्दा पनि जनताले खोजेको चौतर्फी विकास भने तुलनात्मक रुपमा भएको देखिँदैन । अर्थतन्त्रको संरचनामा केही परिवर्तन आएपनि सर्वसाधारणले विकासको अनुभूति गर्न पाएका छैनन् । शहरी क्षेत्रमा केही आर्थिक गतिविधि बढे पनि औद्योगीकरण हुन नसक्दा नेपाली अर्थतन्त्रको वास्तविक रुपान्तरण हुन सकेको छैन । बरु, जताकतै भ्रष्टाचार, घुसखोरी विगतको तुलनामा निकै मौलाएको छ ।
लाखौँ युवा विदेश पलायन हुन बाध्य छन् । किनभने, देशमा रोजगारी पाइरहेका छैनन् । यी सबै कुराको एकमुष्ट परिणामको रुपमा जनताको विद्रोहस्वरुप बेलाबेला नयाँ किसिमका पार्टीलाई, नयाँ किसिमका नेतालाई मतदान गरेर पनि आफ्नो विद्रोह प्रकट गरिरहेका छन् । यस्तो अवस्थामा जनताले आफ्नै विकास खोजिरहेका हुन्छन् । अनि, जनतालाई लाग्छ कि, जसले विकास गर्छ, देशको बेथिति समाप्त पार्छ, त्यो व्यक्तिको खोजी गरिरहेका हुन्छन् ।
त्यसमा अहिले नेपालको राजनीतिकबृत्तमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको घोषणाले आक्रोशित जनतामा केही आशा एवं विश्वास पलाएको हो कि भनेर हिजोआज राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडियाले समेत समाचार दिन थालेको देखिन्छ । अर्थात्, विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको घोषणाको विषय अब राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय भइसकेको छ ।
नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रप्रमुखको भूमिका दिएको छ । राज्यको सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि पार्टी राजनीतिमा फर्किएको अभ्यास विश्वमा विरलै भेटिन्छ । यो विरलै विश्वको अभ्यासमापूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सरोकार विकास र सुशासन हुनपर्छ । नेपालको भविष्य हामीले बनाउने हो । विद्यमान अन्योल र अनिश्चितता हटाई देशमा उत्साह र आशाको सन्देश र विश्वास हामीले नै ल्याउने हो ।
अल्पविकसित रुपमा रहेको नेपाललाई रुपान्तरण गरी आर्थिक, सामाजिक समृद्धिसहित विकासको माथिल्लो तहमा पुर्याउने नेतृत्वको खोजी जनताले गरिरहेका छन् । साथै, आर्थिक समृद्धि हासिल गर्न सबैलाई परिचालन गर्ने बेला भएको छ । जसको अगुवाईको पर्खाइमा नेपाली जनता छन् ।

Leave a Reply