गाउँको न्यानोपनमा गुटमुटाएर राखिदिने ‘द वे होम’

गाउँ शब्द आफैँमा एउटा सुगन्ध हो- काँचो माटोको, बाको पुरानो चप्पल, आमाले बनाएको दाउरा चुलोमा अलिकति डढेको भात, कराईमा उम्लिरहेको दूध । यो सुगन्ध सहरमा हुर्किएका नाकको नोस्टालजिया होइन । तर, एक पटक गाउँ लागियो भने यो गन्ध नाकमा मात्र होइन, मनभित्रै गडेर बस्छ- वर्षौँसम्म । ठीक त्यस्तै अनुभूति गराउँछ दक्षिण कोरियाली चलचित्र ‘द वे होम’ ।

कतिपय चलचित्रहरू त्यस्ता हुन्छन्, जसले हेर्दाहेर्दै तपाईँको आँखा मात्र होइन, हृदय पनि टक्क रोकिदिन्छ । कथाले कसरी मोड लिन्छ होला ? अब के हुन्छ ? पात्रको पीडा, मौनता र सम्झनाले मनभित्र कतै गहिरो चोट पुर्‍याउँछ ।

यस्तो लाग्छ,- यो कथा त आफ्नै हो कि जस्तो ! ती दृश्यहरूमा, ती अनुहारहरूमा, आफ्नै सम्झना टाँसिएर आउँछ । कथाभित्रको हरेक संवाद, मौनता र भावनामा हराउँदै जान्छ मन । अनि कतैभित्र बाटो बनाउँदै आउँछ एक धुन – ‘केही त भन्नुपर्छ’, ‘केही त लेख्नुपर्छ’ भन्ने व्याकुलता ।

आज ‘द वे होम’ हेर्दा म यही अनुभवमा डुबेँ । एउटा साथीको ‘क्याजुअल’ सुझावमा, फुर्सदको दिनमा यत्तिकै हेर्न थालिएको चलचित्र अन्ततः एक गहिरो अनुभूति बन्यो – जसले मनभित्र हलचल ल्यायो । लाग्यो, यो फिल्म त सहरमा बसेर पनि गाउँको गन्ध नबिर्सेका सबैले एक चोटि अवश्य हेर्नुपर्ने चलचित्र हो । त्यसैले मनका ती मौन भावनाहरूलाई शब्दमा पोख्ने प्रयास गरेँ – जसरी ‘द वे होम’ले मौनताभित्र माया देखायो, मैले पनि केही शब्दमार्फत त्यो मौन अनुभव बाँड्न चाहेँ ।

यो चलचित्र एउटा सहरिया बालक र गाउँमा बस्ने तथा बोल्न नसक्ने हजुरआमाबीचको कथामा आधारित छ । यो कथामात्र होइन । यो त मौनताभित्रको माया, बानीभित्रको सम्बन्ध, र परम्पराभित्रको गहिराइको यथार्थ हो । र यो कथा केवल कोरियाली गाउँको होइन – यो हाम्रो नेपालको, हाम्रा गाउँहरूको, हाम्रा बुढापाकाहरूको पनि हो ।

द वे होम’को सबैभन्दा शक्तिशाली पक्ष हो – मौनता । हजुरआमाले बोल्न सक्दिनन्, तर उनका प्रत्येक गतिविधि ममताले भरिएको हुन्छ । नातिले हरेक कुरामा रिसाउँदा पनि चुप लागेर स्याहार्छिन्,  नातिलाई राति डर लागेर उठ्दा छेउमा पल्टिन्छिन्, नातिको जुत्ता च्यातिन्छ – आफ्नै चप्पल बेचेर नयाँ किन्दिन्छिन् । के त्यो माया बुझ्न शब्द चाहिन्छ ?

साङ-उ लाई एउटा असन्तुष्ट बालकको रूपमा चलचित्रमा देखाइएको छ । शहरमा आफ्नै आमा बिरामी परेपछि उसलाई गाउँमा लगिन्छ – त्यहाँ जहाँ न इन्टरनेट छ, न चिकन, न गेम । तर उसलाई गेम खेल्न ‘डिजिटल डिभाइस’ नै चाहिन्छ, खानलाई प्याक गरिएका खाना नै चाहिन्छ । अनि मनपर्ने भिडियो गेम चाहिन्छ । उसले हरेक कुरामा निहुँ खोज्छ, हजुरआमाको मौन अनुहार देखेर घृणा गर्छ र गाउँको जीवनलाई हेपेझैँ गर्छ । तर समयसँगै एउटा नमिठो अनुभव मीठो पाठमा परिणत हुन्छ – माया, सहिष्णुता र मौनताको भाषा बुझ्ने अनुभवमा ।

नेपालका सयौँ बालबालिका पनि आज सहरमा हुर्किँदै छन् – गाउँ भन्ने शब्द उनीहरूको शब्दकोशमा बाँकी त छ, तर अनुभूतिमा छैन । उनीहरूलाई हजुरआमाको हातको तातो ढिँडोभन्दा ‘म्याक्डोनाल्ड’को बर्गर मिठो लाग्छ । गाउँको बास, घाम, चुलो र ढुङ्गे धाराको कहानी उनीहरूलाई ’पछौटेपन’ लाग्छ । तर जब उनीहरू अचानक गाउँ जान्छन् – जब उनीहरूले करेसाबारीमा फुलेको सिमीको फूल, ढुङ्गामा बसेको भ्यागुतो र काठको खुर्पेटो समातिरहेकी बूढी आमालाई देख्छन् – त्यति बेला उनीहरूको मनमा एक किसिमको चिनजान जन्मिन्छ ।

चलचित्रको दृश्यहरूलाई नियाल्दा लाग्छ – कोरियन गाउँ, तर नेपाली मुटु । माटोको घर, फुसको छानो, खेतका आलीहरू, भैँसीको घाँटीमा झुन्डिएको घण्टी, टाढाबाट सुनिने कुकुरको भुकाइ – यस्तै त हो हाम्रो गाउँ पनि ! फिल्ममा हजुरआमाले कोठामा जतन गरेर आफूले नखाई राखेको खानेकुरा लगेर नातिलाई खुवाउँछिन्, हाम्री हजुरआमाले पनि त त्यही गर्नुहुन्थ्यो के रे ! फरक के छ भने त्यहाँ कोरियन भाषा हाम्रोमा नेपाली भाषा, तर मायाको भाषा त एउटै हो ।

गाउँले जीवन रमाइलो मात्रै होइन – कठिन पनि हो । फिल्ममा देखाइएझैँ हजुरआमाले खाना बचाएर राख्छिन्, रोग लाग्दा गतिलो उपचार छैन, छरछिमेकको सहारा नै सबै थोक हो । नेपालका गाउँहरू पनि यस्तै छन् । आज पनि कतै बुबाले बाख्रा बेचेर नातिको लुगाको खर्च जुटाएका छन् ।

‘द वे होम’को सबैभन्दा शक्तिशाली पक्ष हो – मौनता । हजुरआमाले बोल्न सक्दिनन्, तर उनका प्रत्येक गतिविधि ममताले भरिएको हुन्छ । नातिले हरेक कुरामा रिसाउँदा पनि चुप लागेर स्याहार्छिन्,  नातिलाई राति डर लागेर उठ्दा छेउमा पल्टिन्छिन्, नातिको जुत्ता च्यातिन्छ – आफ्नै चप्पल बेचेर नयाँ किन्दिन्छिन् । के त्यो माया बुझ्न शब्द चाहिन्छ ?

नेपालका सयौँ हजुरआमा पनि आज यस्तै मौन माया बाँडिरहेका छन् । उनीहरूसँग कुरा गर्ने कोही नजिकका आफन्त छैन, छोराछोरी परदेश पसेका छन्, नातिनातिना सहरका अपार्टमेन्टमा व्यस्त छन् । तर हजुरआमा बिहानै उठ्छिन्, तुलसीमा पानी हाल्छिन्, सन्तानको नाम लिँदै पूजा गर्छिन् । कुनै दिन फर्किएला भनेर कुर्दै बस्छिन् । उनीहरूको त्यो मौनता त्यस्तो अ प्रेषित प्रेमपत्र जस्तै हो, जुन सम्बन्धित मान्छेलाई पठाइँदैन, तर हरेक दिन कोरिन्छ ।

जब साङ–उ आफ्नी हजुरआमालाई छाडेर सहर फर्कन लाग्छ । उसले पछाडि फर्किएर हेर्छ, पहिलो पटक उसले हजुरआमाको अनुहार बुझ्न खोजेको हुन्छ । नेपालका नातिनातिनाहरू पनि गाउँबाट फर्किँदा त्यस्तै अनुभूति गर्छन् होला- टाढिँदै गर्दा बल्ल थाहा हुन्छ, माया त त्यही थियो जुन देखिँदैनथ्यो तर महसुस हुन्थ्यो ।

साङ–उले बल्ल बुझ्छ – मायालाई बोल्ने होइन, महसुस गर्ने हो । हामीले पनि बुझ्न जरुरी छ, गाउँ हाम्रो जरा हो, हाम्रो आत्मा हो । सहरको भीडमा हराएर हामीले त्यो मौन मायालाई नबिर्सौँ, जसले हामीलाई बोल्न सिकायो, हिँड्न सिकायो, र जीवन बुझ्न सिकायो ।

सहरले हामीलाई धेरै कुरा दियो, सुविधा, सीप, सम्भावना । तर, गाउँले हामीलाई मानवता दियो, सहिष्णुता दियो, र मायाले भरिपूर्ण हृदय दियो ।

गाउँले जीवन रमाइलो मात्रै होइन – कठिन पनि हो । फिल्ममा देखाइएझैँ हजुरआमाले खाना बचाएर राख्छिन्, रोग लाग्दा गतिलो उपचार छैन, छरछिमेकको सहारा नै सबै थोक हो । नेपालका गाउँहरू पनि यस्तै छन् । आज पनि कतै बुबाले बाख्रा बेचेर नातिको लुगाको खर्च जुटाएका छन् । कतै आमाले सहरबाट आएका नाति नातिनीलाई जाँतोमा पिसेको पिठोको रोटी पकाएर खुवाउँदा हर्ष मानेकी हुन्छिन् । तर त्यो गरिबी माया दिएर समेटिएको हुन्छ । ‘द वे होमले यिनै कुरा मौन शैलीमा प्रस्तुत गर्छ – धुवाँ निस्किएको चुलो, टोलाएर हेरेको हजुरआमाको नजर, र अन्त्यमा आँसु सहितको अनुहारले भरिएको माया ।

चलचित्र हेर्दा, तपाईँ एक छिनका लागि सहर बिर्सनुहुन्छ । तपाईँको मन बाल्यकालतिर फर्किन्छ । जहाँ बिहान घाम लागेपछि बारीमा आमाको अनुहार देखिन्थ्यो, साँझ बुबाले आगोमा पोलेको आलु ल्याएर खान दिनुहुन्थ्यो । तपाईँलाई के लाग्छ होला थाहा छैन तर, मलाई पनि त्यही लाग्छ, गाउँले जीवन सरल थियो, साँचो थियो।

‘द वे होम’ एक चलचित्र होइन – एक अ प्रेषित स्नेह पत्र हो, जुन हाम्रा हजुरआमाले सहरमा रहेका नातिनातिनीहरूलाई लेखेका हुन् । त्यो पत्रमा शब्द छैनन्, तर भावना छन् । र त्यो पत्र पढ्न तपाईँलाई बोल्नुपर्ने आवश्यकता पर्दैन, केवल बुझ्न सक्ने मन चाहिन्छ ।

हामी धेरै पर आइपुगेका छौँ, सहरको भिडभाड, हतारो, प्रविधिको चमकमा । हिजो गाउँमा हिँडेको बाटो आज ‘गुगल म्याप’मा हराइसकेको छ, हिजोको तुलसीको मठ आज बालकोनीको गमलामा सीमित छ । तर ‘द वे होम’ हेर्दा मन एकपल्ट फेरि फर्कन्छ त्यही गल्लीमा, त्यही हजुरआमाको अँगालोमा, त्यही मौन ममताको संसारमा । त्यो मौनता, जुन शब्दमा आउँदैन, तर आँखामा झल्किन्छ । त्यो माया, जुन गुनासो बिना दिइन्छ, तर जीवनभर महसुस हुन्छ।

सहरले हामीलाई धेरै कुरा दियो, सुविधा, सीप, सम्भावना । तर, गाउँले हामीलाई मानवता दियो, सहिष्णुता दियो, र मायाले भरिपूर्ण हृदय दियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *