एक घन्टा ४० मिनेटमा सकियो ओली-विद्याको वान टु वान, दुवैको चेहरामा गम्भीर मुस्कान

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भनिएसँगै आज च्यासलस्थित पार्टी कार्यालयको रौनक ह्वात्तै बढेको थियो ।

दुवै पक्षका नेता कार्यकर्ताहरु चासो र चिन्तासहित कार्यालयमा बाक्लो संख्यामा भेला भएका थिए । कार्यलय प्रांगणदेखि वार्दलीसम्म भरिभराउ थियो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पार्टी कार्यालयमै थिए । निर्धारित समयमै पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय आइन् । उनलाई नेताहरुले गेटमा आएर स्वागत गरे । त्यसपछि उनलाई सोझै दोस्रो तल्लामा रहेको अध्यक्षको चेम्बरमा लगियो ।

अध्यक्ष ओली कार्यालय आइसकेका थिएनन् । पूर्वराष्ट्रपति आएको थाहा पाएपछि महासचिव शंकर पोखरेल पनि उक्लिए । ओलीको चेम्बरमा वरिष्ठ उपाध्यक्ष पोखरेल र महासचिव पोखरेल करिब आधा घन्टा भण्डारीसँग गफिए ।

त्यसपछि ओलीको इन्ट्री भयो । ओली आएपछि उनको चेम्बरबाहिर नेताहरुले संयुक्त फोटोसेसन गरे । अनि, ओली र विद्या चेम्बरभित्र पसे भने अन्य नेताहरु आआफ्नो स्थानमा फर्किए ।

ओली–विद्याको वान टु वान संवाद एक घन्टा ४० मिनेटजति चलेको थियो । वार्ता सकेर ओली र विद्या सँगसँग झरे । ओली सरासर कार्यालयबाट गाडी चढेर बाहिरिए । उनी गम्भीर मुद्रामा देखिन्थे । पत्रकारसँग कुरा गर्ने रुची देखाएनन् ।

भण्डारी भने पत्रकारलाई प्रतिक्रिया दिन तयार भइन् । तर, उनले बोल्ने क्रममा निकै होहल्ला र हुलमुल भयो । पत्रकार सम्मेलन अत्यन्तै अव्यवस्थित भएपछि भण्डारी राम्ररी बोल्न पाइनन् । उनलाई सुरक्षाकर्मीहरुले त्यहाँबाट निस्किन सुझाए । भण्डारी पनि गाडी चढेर बाहिरिइन् ।

भण्डारीले संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको समसामयिक विषयमा मात्रै कुरा भएको दाबी गरिन् ।

वान टु वान भेट सकेर बाहिरिने क्रममा दुवैको अनुहारमा मुस्कान त थियो, तर गम्भीर प्रकृतिको ।

 

Comments

2 responses to “एक घन्टा ४० मिनेटमा सकियो ओली-विद्याको वान टु वान, दुवैको चेहरामा गम्भीर मुस्कान”

  1. ksp pyl Avatar
    ksp pyl

    हेर देशको ध्यान के मा छ ? हेर पत्रकारले काम नपाएका ? मेरा घरमा भैसी छ । आओ त्यसको समाचार बनाउन ।बरू अलिकति महत्वको होला ।दुई पटक राष्ट्रपति भएकोलाई राजनीतिमा ल्याएर ओलिलाई दुःख दिन पाईन्छ कि भनेर दलाल पत्रकार र दलाल नेताहरू लागेका छन् । धिक्कार छ दलाल नेताहरू । न कुनै विशेष खुवि छ , न कुनै क्षमता छ, न विचार छ , छ त केवल पद प्रतिको आशक्ति, शक्तिको भोक । यस्ता अनैतिकलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनाउन हिडने नेता, पत्रकार सबै दलाल हुन् । विदेशीले किनेका बिकाउ माल हुन् । इमान बेचेका पशुतुल्य हुन् । देश अघि बढन नदिने यिनै दलालहरू हुन् । पहिले बामदेव, सिपि, आर के त्यसपछि माधव, झलनाथले सम्भावना भएको पार्टी बिगारे । अब बिगार्ने पालो विद्या, ईश्वर, कर्ण र सुरेन्द्रको हो । धादिङ्का पाण्डे दाजुभाइ चरम पदलोलुप, भडुवा हुन् ।

  2. ksp pyl Avatar
    ksp pyl

    ओलिले अब विद्याको विषयलाई महत्व नै नदिनु ।आफ्नै काममा लाग्नु । सदस्यता पेण्डिङ मै राखिदिनु । विधान अधिवेशनमा सुँघ्न पनि नदिनु ।अब विद्यातिर लाग्नेलाई बिस्तारै पाखा लगाईदिनु । दलालहरू एमाले कमजोर बनाउन विद्या नामको शिखंडी फेला पारियो भनेर नाँच्दैछन् । तिनलाई हिस्स बुढी हरिया दाँत बनाईदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *