काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारी चेक अनादर सम्बन्धी मुद्दामा दुईपटक पक्राउ परेर छुटेको खुलेको छ । भण्डारीले दिएको चेक नसाटिएको भन्दै व्यापारिक साझेदार हरि भट्टराईले प्रहरीमा उजुरी गरेर उनलाई दुईपटक थुनाएका हुन् ।
नेपाल प्रेसको सम्पर्कमा आएका भट्टराईले भण्डारीले लगाएका आरोपहरुको खण्डन गरेका छन् । भण्डारीले मापसे गरेर कम्पनीको गाडी दुर्घटना गराएको र त्यसको सबै क्षतिपूर्ति कम्पनीकै थाप्लोमा हाल्न खोजेपछि आफूले अलग्गिने निर्णय लिएको उनको भनाइ छ ।
मलेसियामा बसेर व्यवसाय गर्दै आएका भट्टराईले त्यहाँ कमाएको पैसा नेपालमै लगानी गर्ने सोचका साथ भण्डारीसँग साझेदारी गरेको बताए ।
उनले भने, ‘दुई वर्षअघि नेपाल आउँदा विशाल भण्डारीसँग भेट भएकोउ थियो । उनको प्रस्ताव ठिक लागेपछि कमेडी च्याम्पियनमा लगानी गर्न तयार भएँ ।’
लगानी गरेको २४ महिनासम्म रकम फिर्ता माग्न नपाउने विषयमा भद्र सहमति भएको उनले पनि स्वीकार गरेका छन् । तर, गाडी दुर्घटनापछि आफूले उक्त सहमति तोड्नु परेको भट्टराईको भनाइ छ ।
‘सबै कुरा ठिकठाकै चलिरहेको थियो । तर, उहाँ नगरकोट जाँदा गाडी दुर्घटनामा पर्नुभयो । रक्सी खाएर गाडी चलाउनुभएको रहेछ । कम्पनीको गाडी पूरै ध्वस्त भयो । घाइतेहरुको उपचार पनि गर्नुपर्यो । यो सबै खर्च उहाँले कम्पनीको नाममा थोपर्नुभयो, जसमा मेरो असहमति थियो । त्यसपछि नै मैले मेरो लगानी फिर्ता मागेको हो’, भट्टराईले भने ।
उक्त दुर्घटनामा भण्डारीले ५० लाख रुपैयाँ क्षति कम्पनीको नाममा चढाएको उनले बताए ।
भट्टराईले थपे, ‘त्यो दुर्घटनाको पचास लाख माथि खर्च निकालिएकोउ थियो । मापसे गरेर भएको दुर्घटना इन्सुरेन्सले पनि नव्यहोर्दो रहेछ । तर त्यस्तो खर्च त कम्पनीलाई भराउन पाइएन नि ! कम्पनीको कामले गएको भए अलग कुरा हुन्थ्यो ।’
त्यसपछि आफूले लगानी फिर्ता माग्दा भण्डारीले विभिन्न मितिको चेक काटेर दिएको उनले बताए । तोकिएकोउ मितिमा ती चेक नसाटिएपछि आफूले चेक बाउन्स गराएर प्रहरीमा मुद्दा हालेको उनले जानकारी दिए ।
उनले भने, ‘उहाँलाई दुईपटक प्रहरीले चेक अनादर केसमा पक्राउ गरेर थुन्यो । दुवैपटक उहाँ एक दिन हिरासत बसेर छुट्नुभयो ।’
दुर्घटना भएको बेला भट्टराई देशबाहिरै थिए । कमेडी च्याम्पियन केही हप्ता रोकियो । त्यसपछि आफू तत्काल नेपाल फर्किएर अब सहकार्य नगर्ने निर्णय सुनाएको उनी बताउँछन् ।
‘२४ महिनासम्म लगानी फिर्ता नमाग्ने भद्र सहमति थियो रे त ?’ भन्ने प्रश्नमा भट्टराईले भने, ‘त्यसोभए उहाँले चेक काटेर किन दिनुभयो त ? उहाँले कम्पनीलाई त्यत्रो क्षति पुर्याएपछि म सहकार्य गर्दिनँ, लगानीको पैसा फिर्ता देऊ भन्न त पाउँछु नि । दुर्घटनापछि नै उहाँले मलाई चेक दिनुभएको हो ।’
आफूले पावर लगाएर थर्काएको, धम्काएको भन्ने आरोप उनले अस्वीकार गरेका छन् । उनले भने, ‘अदालतमा मुद्दा छ, पुलिसमा जाहेरी छ । अब धम्काउने, थर्काउने कुरा कसरी आउँछ ?’
भण्डारीले करिब १८÷१९ महिनाअघि भट्टराईले ३.५ करोड लगानीमा ३० प्रतिशत सेयर लिने गरी भट्टराई कम्पनीमा प्रवेश गरेको बताएका छन् । भण्डारीका अनुसार सेयर बाँडफाँटपछि उनीहरू दुईजना कम्पनीको सञ्चालक र बाँकी दुई शेयरधनी साधारण सदस्य रहने गरी सम्झौता भएको थियो ।
कम्पनीको तर्फबाट गरिने आर्थिक कारोबारका चेकहरुमा भण्डारीको एकल हस्ताक्षर हुने प्रावधान बनाइएको थियो । तर, सम्झौता विपरीत कमेडी च्याम्पियन सिजन ३ सकिनासाथ पैसा मागरेर आफूलाई मानसिक यातना दिएको भण्डारीको आरोप छ ।
आफूले कमेडी च्याम्प्यिन सिजन २ का विजेता सुनिल खड्कालाई भट्टराईकै कारण पुरस्कार दिन नसकेको बताएका छन् । साथै आफूले भोगेको अन्यायबारे प्रधानमन्त्रीको सचिवालयलाई समेत गुहारेको उनले बताएका छन् । तर, कानुनी प्रक्रियामा गइसकेपछि अदालतको फैसला अन्तिम हुने भट्टराईको भनाइ छ ।

Leave a Reply