काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीबीच भेटघाटको संघारमा च्यासलमा चहलपहल सुरू भएको छ ।
दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताको कारण एक घण्टापछि सरेको छ ।
पार्टी मुख्यालयमा विद्याको समर्थनमा खुलेका नेता-कार्यकर्ता पनि आएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता कर्ण थापा, युवा संघमा पराजित भएका सुमन पुरीलगायत देखिएका छन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।

हिजो पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेण्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए ।
नेपाल प्रेससँगको भिडिओ अन्तर्वार्ताका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट हुन लागेको बताएका छन् ।
भण्डारीको सदस्यताको विषय उठिरहँदा दुईजनाबीच हुन लागेको भेटलाई चासोका साथ हेरिएको छ ।




Leave a Reply