महिला भएकैले घरभित्र लेखकको रुपमा स्वीकारिन गाह्रो भयो: राधिका कल्पित

भर्खरै लेखक राधिका कल्पितको कथासंग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ । १४ वटा कथा संग्रहित यस संग्रहभित्रका कथाहरुले महिला, अल्पसंख्यक लैंगिक समूहका नित्तान्त नीजि अनुभूतिहरुलाई समेटेको छ । सुन्दर शब्द शिल्पसहित गम्भीर मुद्दामाथि लेखिएका कथाहरु पठनयोग्य छन् ।

कथासंग्रहअघि राधिकाले ‘वरफका कोइलाहरु’ कवितासंग्रह ल्याएकी थिइन् । लेखनको अलवा राधिका प्राध्यापन पेशामा पनि सक्रिय छिन् । उनै रधिकालाई अर्की कथाकार रेनुका जिसीले पाँच प्रश्न सोधेकी छन् । प्रस्तुत छ, कथाकारलाई कथाकारकै पाँच प्रश्न अन्तर्गत राधिका र रेनुकाबीचको कुराकानी :–

आफ्ना कुराहरू कवितामै भनिरहनुभएको थियो । पछिल्लो समय बाटो बदलेर कथातिर लाग्नुभयो, किन ?

एउटा लेखकका लागि सबैभन्दा महत्वपूर्ण कुरा आफूले लेखनमार्फत् के व्यक्त गर्न खोज्दैछु भन्ने हो । दोस्रो कुरा, आफूले भन्न खोजेको कुरा कुन विद्यामा सहज र स्वतःस्फुर्त रुपमा अभिव्यक्त गर्न सकिन्छ भन्ने हो । जुन विद्यामा लेखे पनि लेखनका विषयवस्तु यही समय, यही समाज र यही ब्रम्हाण्डसँग जोडिएका हुन्छन् ।

यति हुँदाहुँदै पनि एउटै कुरा कथामार्फत् र कवितामार्फत् भनिनुले अलि फरक प्रभाव पार्दाे रहेछ । मेरो लेखन यात्रा स्वान्त सुखायबाट सुरु भएको थियो । समयक्रममा मेरो लेखनको उद्देश्य आवाजविहीनहरुको आवाज मुखरित गर्नु, केही सामाजिक मुद्धाहरुमा आफ्नो मत राख्नु, विभेद र विसंगतिका बिरुद्ध आवाज उठाउनु बन्यो । यसका लागि आख्यानमा एउटा पात्र खडा गरेर त्यो पात्रमार्फत् आफ्ना कुराहरु भन्दा पाठकले पनि आफूलाई पात्रमा अनुभूत गर्न सक्दा रहेछन् । यसको प्रभाव प्रत्यक्ष र प्रभावकारी हुँदोरहेछ ।

मेरा कविताका पाठक कवि या साहित्यकार मात्र थिए । तर, पछिल्लो मेरा केही कथाहरु बाहिर आएपछि गैरसाहित्यिक व्यक्तिले पनि आफ्ना प्रतिक्रिया दिनुभयो । यसबाट मैले कविताले भन्दा कथाले पाठकलाई प्रत्यक्ष सम्बोधन गर्न सक्दोरहेछ कि जस्तो लाग्यो ।

तपाईंले ‘सम्मोहन’ कथासङ्ग्रहभित्रका केही कथाहरुमा महिला र अल्पसंख्यक लैङ्गिक समूहका नितान्त निजी अनुभूतिहरुलाई निकै निर्भिक र सुन्दर ढङ्गले कथामा ल्याउनुभएको छ । यस्ता विषयवस्तुमा लेख्नुका पछाडि केही ठोस कारण छन् ?

नेपाली साहित्यमा महिलाका नितान्त नीजि अनुभूतिहरु न्यायसंगत ढङ्गबाट आएनन् । सबै अनुभूति पुरुषका नजरबाट लेखिए । उदाहरणका लागि महिला सौन्दर्य पुरुषका आँखाबाट अथवा एकजना पुरुषले नारी सौन्दर्यलाई जसरी वोध गर्छ, त्यसरी नै लेखियो । त्यस्तै प्रेम, विवाह अथवा अन्य नारी पुरुष सम्बन्धका विविध आयामहरुमा नारीलाई एक निष्क्रिय पात्र अथवा निष्क्रिय ग्रहणकर्ताका रुपमा चित्रण गरिएको पाइन्छ ।

प्रेम होस् या यौन, विवाह होस् अथवा विचार नै किन नहोस्, जुनसुकै संबन्धका लागि पुरुष अग्रसर हुने, पुरुष निर्भिक प्रस्तावक हुने र नारी जहिले पनि प्यासिभ रिसेप्टर अथवा निष्क्रिय ग्रहणकर्ता, मौन स्विकृति दिने खालका पात्रका रुपमा चित्रण गरियो । उदाहरणका लागि स्त्रीको मौनताको संकेत प्रतिरोध पनि हुन सक्थ्यो तर, त्यसलाई प्रतिकारको रुपमा नबुझाएर त्यसलाई ‘मौन स्विकृति लक्षणम्’ भनेर अपव्याख्या गरियो । महिलालाई इन्कार, इजहार या प्रतिरोध गर्नसक्ने पात्रका रुपमा उभ्याउन सकिएन ।

यसो भन्दैमा नेपाली साहित्यमा यस्ता पात्र आउदै आएका छैनन् भन्न खोजेको होइन । विपीका आख्यानका इन्द्रमाया, सुम्निमा जस्ता विद्रोही र सक्रिय महिला पात्र आएका छन् । तर आम लेखाइमा पुरुषले महिलालाई सक्रिय, विद्रोही भन्दा पनि त्यागी, सहनशील, सुन्दरी, कोमल भनेर चित्रण गर्न रुचाएको देखिन्छ । अब महिलाको सौन्दर्य के लाई मान्ने ? चरित्रका मापदण्ड के हुन् त ? के अब भानुभक्तिय वधूशिक्षा र चाणक्य नीतिमा व्याख्या गरिए अनुसारकै चारित्रिक गुणलाई सकार्दै र गुनगान गाउँदै लेखिरहने हो त ? के जैविक रुपमै महिला प्यासिभ रिसेप्टर हुन त ? अबका कुनै नारीले आफूलाई मनपर्ने पुरुषलाई प्रेम या विवाहको प्रस्ताव राखिन् भने सुर्वणखाको जस्तै नाक काटिरहने हो त ? विधवाहरु सतित्वको नाममा स्वत्व मार्दै जानुलाई गौरव मानिरहने हो त ?

मलाई लाग्छ अब यी कथ्य र भाष्य पुर्नपरिभाषित हुन जरुरी छ । र यही नारीवादी दृष्टिकोणबाट पारिजात, बानिरा गिरी र प्रेमा शाहका कलमबाट महिलालाई सक्रिय कर्ताका रुपमा आख्यानको केन्द्रमा राखेर लेखिए । तर विपि, पारिजात हुँदै त्यही गतिमा, निरन्तर विकसित रुपमा जसरी आइरहनुुपथ्र्यो, आउन सकिरहेको छैन । वर्तमान भौतिक समाज कहाँ नाबालक कन्यादानको समयबाट लिभिङ टुगेदसम्मको उत्तरआधुनिक समाजमा फड्को मारिसकेको छ । तर, लेखनमा भने नारी पात्रलाई सहनशिला, शुशिला र प्यासिभ रिसेप्टरकै रुपमा चित्रण गर्न छाडिएको छैन ।

जैविक रुपमै महिला पुरुषजत्तिकै (कुनै पक्षमा अझ बढी) शक्तिशाली छन्, निडर छन्, आत्मविश्वासी छन् तर, लैङ्गीक संरचना र सोचले त्यसको उल्टो बन्न वाध्य पारेको छ । अनि त्यही उल्टोपाल्टो पारिएको तथ्यलाई साहित्यकारहरुले अझ बढाइचडाई गरी उहि स्टरियोटाइप्सकै कोमल, सुन्दरी, लजालु, दयालु, क्षमाशील अनि जे भने पनि हवस् भन्दै टाउको हल्लाउने नारी पात्र खडा गरिरहेका छन् । अब त महिलाको नैसर्गिक स्वभाव जस्तो छ त्यस्तै निडर, आत्मसम्मानयुक्त डोमिन्यान्ट क्यारेक्टर बनाएर लेखिनुपर्छ भन्ने लाग्छ । म त्यही कुरालाई केन्द्रमा राखेर लेख्ने प्रयास गरिरहेकी छु ।

महिलालाई लेखनका लागि सहज वातावरण छ ? तपाईंले भोगेका असहजता के के हुन् ?

यसमा तीनवटा प्रमुख वाधकहरु भोगेँ मैले । एउटा घरभित्र लेखक भनेर नस्विकारिनु र लेखकका लागि चाहिने यथेष्ठ समय र वातावरण नपाउनु । दोश्रो चुनौती हो, हजारवटा बाधाहरु छिचोलेर एउटा महिलाले केही चिज बजारमा ल्याएको हुन्छ । अनि बजारमा आएपछि महिलाको साहित्य भनेपछि महत्वका साथ नपढिनु । तेस्रो हो, यसैपनि समाजमा लेखनलाई अनुत्पादक भनेर बुझिएको छ । त्यसमाथि महिलाले जागिर बाहेकका घर र गृहस्थलाई दिएको समय नै अनुत्पादक भनेर भनिरहेको बखतमा लेख्नका लागि आवश्यक अनुसन्धान, स्थानीय स्थलको अवलोकन र त्यो ठाउँलाई आत्मसात गरेर आख्यानीकरण गर्न एउटी महिलालाई खै सुविधा ? एउटै ठाउँमा पटक–पटक पुग्नुपर्ने हुनसक्छ, एउटै पात्रसँग पटक–पटक भेट्नपर्ने हुनसक्छ, जुन कुरा मिलाउन एउटा महिलालाई असम्भव प्रायः हुन्छ । सायद नेपाली आममहिला लेखकको साझा समस्या यही हो जस्तो लाग्छ । म पनि त्यसबाट अछुतो छैन ।

यस संग्रहका पाठकहरूबाट कस्तो अपेक्षा राख्नु भएको छ ? के त्यो अपेक्षा पूरा भएको छ ?

‘सम्मोहन’मा मैले महिलाका केही निजात्मक अनुभूति, स्त्रीपुरुष मनोविज्ञान र लैङ्गिक अल्पसंख्यकहरुको आवाजलाई समेटेकी छु । जति पाठकले पढ्नुभएको छ, त्यसबाट राम्रो र उत्साहजनक प्रतिक्रियाहरु आएका छन् । तर नेपाली साहित्यिक बजार प्रचारप्रसारमुखी रहेछ, त्यसमा होडबाजी गर्न, भिड्न नसक्नेको किताब सबैतिर नपुग्दो पनि रहेछ । तर स्तरीय साहित्य ढिलोचाँडो पढिन्छ । यो पुस्ताले नपढे अर्को पुस्ताले पढ्छ भन्ने कुरामा विश्वस्त छु । मलाई हतार र भिडन्त गर्नु पनि छैन ।

तपाईंका कथाको मूल स्वर के हो ?

मेरा कथामा स्वतःस्फूर्त रुपमा नारीपुरुष मनोविज्ञान आउँछ । मेरा कथाहरु घटनाविशेष भन्दा पनि चरित्र विशेष हुन्छन् । एउटा पात्रको चरित्रका विभिन्न आयामहरुलाई चिरफार गर्नु नै मेरो लेखनको ध्येय रहन्छ । एउटै मान्छे समाजमा फरक–फरक पात्रको रुपमा फरक फरक अनुहारमा बाँचेको हुन्छ । उसको अदृश्य र अन्तरनिहित स्वभाव र मनोप्रवृत्तिको मुकुण्डो उर्ताने प्रयास नै मेरा कथाको प्रयास हुन् ।

Comments

One response to “महिला भएकैले घरभित्र लेखकको रुपमा स्वीकारिन गाह्रो भयो: राधिका कल्पित”

  1. Bhupi Sarobar Avatar
    Bhupi Sarobar

    गजब लाग्यो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *