काठमाडौं । दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।
हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाए ।
रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते अपराह्न तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको भन्दै सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाए ।
हत्याराको पहिचान गरी कारबाही गरिने उनले बताए । ‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दु:खद हो ।’ गृहमन्त्री लेखकले भने, ‘ढुक्क हुनुस्,यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आइजीपीलाई निर्देशन दिन्छु ।’
यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । सिआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केच समेत तयार पार्न सकेको छैन ।

Leave a Reply