बैठकमा ओलीसँग सवाल जवाफपछि कर्ण थापाको टिप्पणी- न्याय र सत्यको लडाइँ जारी रहनेछ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले न्याय र सत्यको लडाइँ जारी रहेको बताएका छन्। हिजोबाट जारी भएको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी ओलीसँग सवाल जवाफ भएको चर्चापछि थापाले यस्तो टिप्पणी गरेका हुन्।

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरी पार्टी काममा फर्किएको घोषणा गरेपछि एमालेभित्र नयाँ ध्रुवीकरण बन्दै छ। थापा भण्डारीको पक्षमा खुलेका छन्।

उनी उमेर हद र दुई कार्यकालको व्यवस्था लागू गर्नुपर्ने पक्षमा छन्। तर सचिवालयले हटाउने निर्णय लिइसकेको छ।

विधान संशोधन प्रस्तावमाथि छलफलको क्रममा हिजो ओलीसँग थापाको सवाल जवाफ चलेको थियो।

त्यही प्रसङ्गलाई लक्षित गर्दै उनले फेसबुकमा लेखेका भनाइ जस्ताको तस्तै:

न्याय र सत्यको लडाइँ जारी छ । जारी रहनेछ ।

वामदेव, सिपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा माधव जोगाउन लडियो । माधवले पार्टी शक्तिको दुरुपयोग गरी केपी, शङ्कर, प्रदीप, गुरु बराल, देवराज घिमिरेहरूलाई किनाराकृत र अपमान गर्दा माधवको विपक्षमा लडियो ।

कमरेड केपीलाई अध्यक्ष बनाउन शून्यबाटै सुरु गरियो । सफलताको शिखरसम्म पुर्‍याउन धेरैको योगदान रह्यो, म अविचलित साथमा रहे । म कमरेड केपीको सातौँ, आठौँ र संसदीय दलको नेता हुने निर्वाचन प्रतिनिधि रहे ।

राजा वीरेन्द्र जीवितै हुँदा म वीरेन्द्र भन्दा ६ वर्ष जेठो हुँ भन्ने अन्तरवार्ता प्रकाशन भएपछि राजा हुन पाउने रविन्द्रको हक खोसिनु हुन्नथ्यो भनेर जनआस्था साप्ताहिकमा लेख नै लेखियो । त्यो लेख दरबारको नोटिसमा पर्‍यो । २०१५ सालको एसएलसी टपर प्रकाश चन्द लोहनी होइनन्, प्रकाश चन्द्र जोशी भन्ने तथ्यमा म उभिएको हो ।

प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले एमालेलाई अपमान गर्दा उनको विरुद्धमा पनि लेखियो, मानहानिको मुद्दा भने खेपिनु परेन । यी केही दृष्टान्त मात्रै हुन । यस समयसम्म आई पुग्दा अनेकौँ भोगाइहरू छन् । सत्य र न्यायको पक्षमा लडिरहने मेरो रोजाइ हो । म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ । षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु । सही कुरा नबुझी, समर्थन वा विरोध नगर्न सबैमा अनुरोध छ ।

Comments

2 responses to “बैठकमा ओलीसँग सवाल जवाफपछि कर्ण थापाको टिप्पणी- न्याय र सत्यको लडाइँ जारी रहनेछ”

  1. कमल Avatar
    कमल

    कर्ण थापा जस्तो साहसिक मान्छेको इतिहासले मुल्यांकन अबश्य गर्नेछ। केपी जस्तो फटाहलाई कतिन्जेल नेता मान्ने जनताले ? जाली फटाहको अर्को रुप हो खड्क प्रसाद ओली भनेको

  2. ksp pyl Avatar
    ksp pyl

    के को सत्य ? खान नपाएर बकबक गरेको हो यसले । यस्ता पार्टी र नेतृत्व विरोधीलाई ठेगान लगाउन ढिला भैसक्यो । विद्यालाई उचाल्ने नै यहि हो । विद्या त अब सकिई सकिन । अब सकिने पालो यसको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *