राप्रपामा कारवाही श्रृंखला, किन हटाइए मुकुन्दश्याम ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र दुई गुटको अन्तरद्वन्द्व झनै चर्केको छ । अध्यक्ष राजेन्द्र लिङदेनले आज कठोर निर्णय लिँदै पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई बर्खास्त गरे ।

गिरीलाई उपाध्यक्षबाट मात्र नभएर केन्द्रीय सदस्यबाट समेत हटाइएको हो । यस विषयमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक वाक्यको विज्ञप्ति जारी गरेका छन्, जसमा के कारणले कारवाही गरिएको हो भन्ने उल्लेख छैन ।

हिजो मात्रै गिरीसहित राप्रपाका चार पदाधिकारीले एक विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए । अध्यक्ष लिङ्देनलाई लक्ष्यित गर्दै विज्ञप्तिमा पार्टीभित्र विधानविपरितका काम–कारवाही भइरहेको उल्लेख गरिएको छ । यो विज्ञप्तिमा गिरीसहित अर्का उपाध्यक्ष विक्रम पाण्डे तथा महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने तीनजना महाधिवेशनबाट निर्वाचित पदाधिकारी हुन् भने गिरी मनोनित हुन् । महाधिवेशनमा आफूलाई सघाएका गिरीलाई लिङदेनले केन्द्रीय सदस्य र उपाध्यक्षमा मनोनित गरेका थिए । आफैंले मनोनित गरेको व्यक्ति अहिले आफूविरुद्ध उत्रिएको भन्दै लिङदेन उनीसँग क्रुद्ध बनेका हुन् । हिजो उनले फेसबुकमा स्टाटस लेख्दै भनेका थिए, ‘साथीहरु निष्ठाको रक्षाका लागि कठोर बन्ने समय आयो ।’

लिङदेनले यसअघि नवराज सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएका थिए । यसैगरि, प्रवक्ताबाट सगुनसुन्दर लावती बर्खास्त गरिएका छन् । केही समय अगाडि महामन्त्री डा. धवलशम्शेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि खोसिएको थियो ।

सुबेदीले पार्टी विधान विपरित आफूलाई अनुशासन समितिको अध्यक्षबाट हटाइएको विरोधमा निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनलाई साथ दिन संस्थापन इतर नेताहरु आयोगमा पुगेका थिए ।

उपाध्यक्षबाट हटाइएका गिरी राप्रपाको स्थापनाकालदेखिका सदस्य हुन् । हाल उनी पार्टीमा महामन्त्री डा. राणासँग निकट छन् । अध्यक्षले आफूलाई विधान विपरित पदबाट हटाएको उनी बताउँछन् । तर, यसबाट आफू विचलित नहुने र साथीहरुको भावनाअनुसार कदम चाल्ने उनको भनाइ छ ।

गिरीले भने, ‘यो विषयले मलाई अलिकति पनि विचलित बनाएको छैन । पार्टीको एउटा प्रतिबद्ध कार्यकर्ताको नाताले उपाध्यक्ष, केन्द्रीय सदस्य भन्ने ठूलो कुरा होइन ।’

उनले अहिले पार्टीभित्र सैद्धान्तिक लडाईं चलिरहेको र कित्ताकाटको अवस्था सिर्जना भएको बताए । अध्यक्ष लिङदेनले स्वैच्छाचारी प्रवृत्ति देखाउँदै विधानविपरित क्रियाकलाप गरिरहेको उनको आरोप छ ।

गिरीले भने, ‘हिजो हामी चार जना पदाधिकारीले विज्ञप्ति निकालेर अध्यक्षबाट विधानविपरितका क्रियाकलापहरु भइरहेकोमा विरोध जनाएका थियौं । आजको यो निर्णय पनि विधान विपरित नै छ । उनले यसरी एकल निर्णयमा पार्टीको उपाध्यक्षलाई बर्खास्त गर्न सक्नुहुन्न ।’

चारजनाले विज्ञप्ति निकालेकोमा तपाईंलाई मात्र किन हटाइयो होला भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘उहाँले मबाट सुरु गर्नुभएको होला । मनोनित भएकाले पनि हुन सक्छ ।’

मनोनितै भए पनि यसरी हठात पदमुक्त गर्न नमिल्ने उनी बताउँछन् ।

‘स्पष्टीकरणसमेत नसोधिकन हटाउन मिल्दैन । मनोनीत भनेको विधानअनुसार नै गर्ने हो । पकेटको मान्छेलाई गर्न मिल्दैन । पार्टीमा उसको योगदान, उसको लगानी, उसको जीवन समर्पण भएको हुन्छ । पार्टी भनेको प्राइभेट कम्पनी त होइन । उहाँले यो विधानविपरीत नै गर्नुभएको छ’, गिरीले भने ।

यो कारवाहीले आफूलाई हतोत्साहित नबनाएको उनको भनाइ छ ।

‘उहाँले जे गर्नुभएको छ, त्यसले मलाई हतोत्साही बनाएको छैन, थप उत्साही बनाएको छ । म, मप्रति एउटा सहानुभूति राख्ने साथीहरूलाई उद्येलित बनाएको छ यो कुराले । तर मैले सबै साथीहरूलाई के भनेको छु भने, शान्त रहनुस् र यो लडाइँमा हामी अगाडि बढ्नुपर्छ । मैले अहिले भन्ने यत्ति नै हो,’ गिरीले भने ।
अब देशभरिका साथीहरूसँग छलफल गरेर अगाडि बढ्ने उनले उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *