मेलवर्नबाट एनआरएनमा अनुपको उम्मेदवारी

काठमाडौं । अष्ट्रेलियाको मेलवर्न भिक्टोरिया स्टेटबाट गैर आवासीय नेपाली संघ (एनआरएन) को एससीसी सदस्यमा अनुप भण्डारीले उम्मेदवारी दिएका छ्न् ।

१८ वर्षदेखि अष्ट्रेलिया रहेका भण्डारी जन्मभूमिका लागि केही गर्ने सोचका साथ सामाजिक कार्यमा समेत लागेका छन् । आर्थिक संकटका कारण विद्यालय छाड्नुपर्ने बाध्यताका मेधावी विद्यार्थीलाई उनले सहयोग गरिरहेका छन् । जसअनुसार सुनसरीको इटहरीकी एक छात्रा र सुन्दरहरैचा मोरङका एक छात्र र एक छात्रा गरी ३ जनाको पढाइ खर्च भण्डारीकै जिम्मा छ ।

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका अनुपको परिवार काठमाडौंमा बसाइ सरेको थियो । प्लस टूको अध्यनपश्चात स्नातक गर्दागर्दै ल्याब असिस्टेन्टको काम गरे । २००७ मा अष्ट्रेलिया पुगेपछि सुरूवाति दिनमा प्याज उखेल्नेदेखि अंगुर टिप्नेसम्मका काममा भोगेको संघर्ष उनी सम्झन्छन् ।

‘जब मैले त्यसबाट १२ डलर कमाउँथे, तर बसेको खर्चमात्र १३ डलर भयो । धेरै गर्मी भएकाले काम गर्न कठिन भयो’, उनी सुनाउँछन्, ‘होस्टेलमा अप्ठ्यारो परेका साथीलाई आश्रय दिँदा पाएको दु:ख, स्वास्थ्य अवस्था बिग्रेर लामो समय अस्पताल बस्दाको पीडा त भनीसाध्ये छैन ।’

काम खोज्ने क्रममा मेलबर्न छिरे पछि त्यहाँ कुकरी र हस्पिटालिटीको पढाइसँगै किचनमा काम गरेको उनी बताउँछ्न् । अहिलेसम्मको अष्ट्रेलिया बसाइको क्रममा भिक्टोरियाको गेमिङको काम पाएको दिन आफ्ना लागि सबैभन्दा खुसीको दिन भएको उनी सम्झन्छन् ।

बुवा श्यामप्रसाद भण्डारीको समाजसेवी कामबाट पाएको प्रेरणाले आफू यहाँसम्म आइपुगेको उनी बताउँछन् ।

कर्मथलो अष्ट्रेलियामा ‘नोबल करिअर गुरु’ नामक एजुकेशन कन्सल्टेन्सिमा आवद्ध रहेर अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई उनीहरूको रुचि, क्षमताअनुसारको पेशा तथा व्यवसायबारे सही परामर्शका साथ अहिले उनी सहजीकरण गरिरहेका छन् ।

‘त्यही संस्थामार्फत केही गरौं भन्ने सोचका साथ अहिले एनआरएनएको एससीसी सदस्यमा उठेको छु । सबैजनाको साथ पाए जित्छु भन्ने भरोसामा छु’, अनुपले सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *