सिरहामा फेरि सात क्विन्टल बढी गाँजा बरामद, घरधनी फरार

जनकपुरधाम । सिरहाको सुखीपुर नगरपालिका- ४ पोखरीयास्थित एक घरमा छापा मारेर प्रहरीले सात क्विन्टल बढी गाँजा बरामद गरेको छ ।

पोखरीयाका ६० वर्षीय मेदी यादवको घरबाट प्रहरीले आज विहान ७१७ दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा यादवको घरमा खानतलासी गर्दा सो परिमाणको गाँजा बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए ।

उनका अनुसार घरधनी यादव फरार छन् । यादव नै गाँजा तस्कर रहेको अनुमान प्रहरीकाे छ । सो विषयमा थप अनुसन्धान भइरहेको छ ।

एकसाता अगाडि सुखीपुरमै टाँसिएको औरही गाउँपालिका- ५ बाट दुई क्विनटल बढी गाँजासहित एक भरिया पक्राउ परेका थिए । सो गाँजा तस्करी गर्ने मुख्य तस्कर ओपी साहलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

स्रोतका अनुसार खासगरी उदयपुरबाट तस्करले गाँजा ल्याएर औरही नाका हुँदै भारत तस्करी गर्छन् । उदयपुरबाट प्रतिकिलो ४ देखि ६ हजारमा खरिद गरेको गाँजा भारत पुर्‍याउँदा प्रतिकिलो १० देखि १२ हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *