काठमाडौं । नेकपा एमालेको विधानमाथि बहस भइरहँदा नेताहरूको विभिन्न प्रतिक्रिया आइरहेको छ । स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउन सकिने बताएका छन् ।
पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘विधानमा राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था भएको हुनाले उहाँलाई त्यहाँ कसैले माग गरेको छैन । त्यो भएन भन्ने प्रचार जो छ, गलत प्रचार हो । त्यो मागै भएको छैन र कसैले पनि त्यो विषय उठान गरेको छैन । भण्डारीले पार्टीलाई गरेको योगदानको मूल्याङ्कन गरेर विशिष्ट अतिथिका रूपमा बोलाउन सकिन्छ ।’
उमेर हद र दुई कार्यकालको व्यवस्था राख्नुपर्ने थापाले दोहोर्याए ।
उनले थपे, ‘हामीले सातौँ राष्ट्रिय महाधिवेशनमा हाम्रो पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै यो कुरा सार्नुभएको थियो । उहाँकै नेतृत्वमा कार्यदल बनेर यो निर्णयमा पुगिएको थियो । विधान महाधिवेशनमा पनि हामीले दुईटै प्रावधान राख्यौँ । र त्यो बेला सङ्गठनात्मक प्रस्ताव पनि पारित भएको छ । त्यो सङ्गठनात्मक प्रस्तावमा अहिले पनि छँदैछ। सङ्गठनात्मक प्रस्तावको पेज २८ मा, पेज २८, २९, ३०, ३१ पढ्नुभयो भने त्यहाँ भित्र स्पष्ट ढङ्गले लेखिएको छ, उमेर हद पनि हामीले कायम गरेका छौँ ।’
महासचिव शंकर पोखरेलले पदको दुरुपयोग गरेको उनले आरोप लगाए ।
थापाले भने, ‘महासचिवको स्ट्याटस गलत छ । छलफल भइरहेको चीज निर्णयका जस्तो गरेर उहाँले भन्नुभएको छ, यसरी नै पदको दुरुपयोग गर्नु हुँदैन । पदको चाहिँ मर्यादा राख्नुपर्छ । महासचिव पदलाई हामीले संस्था मान्या छौँ, अध्यक्षलाई संस्था मान्या छौँ । त्यो संस्था कसैको पक्षमा लाग्न मिल्दैन, अपव्याख्या गर्न पनि मिल्दैन । आज छलफल हुँदैछ भने त्यसो भए निर्णय भइसक्या छ भने निर्णय किन गर्नु पर्यो त, छलफल किन गर्ने त ?’
केही दुई-चार जना मान्छेहरू बसेर छलफल गरेको विषयलाई जबजले निर्णय नमान्ने उनले जिकिर गरे ।
अर्का स्थायी कमिटी सदस्य विशाल भट्टराईले पनि आफूहरू विधान महाधिवेशनको पूर्वसन्ध्यामा छलफलमा रहेको बताए ।
उनले भने, आसन्न विधान महाधिवेशनमा कस्तो विधान बन्छ नेकपा एमालेको, कस्तो नीति बन्छ, कस्तो संगठनात्मक प्रस्ताव पारित हुन्छ भन्नेमा आम चासो छ। त्यसलाई स्वाभाविक मान्नुपर्छ । यो बैठकबाट हामी एउटा त्यसको खाका आज सामान्य रूपमा प्रस्तुत गर्छौँ ।
उनले सचिवालय बैठकले गरेको निर्णय तलसम्म छलफलमा जाने बताए ।
उनले पार्टीको नेताबीच बढेको कित्ताकाटबारे भने, ‘एमालेका विपक्षमा जसरी मान्छेहरूले खेल्न खोजेका थिए, नेतृत्वको विषयमा होस् वा चाहिँ नीतिको विषयमा होस् वा चाहिँ पार्टीभित्र अलिकति विभाजनका रेखाहरू कोर्न सकिन्छ कि भनेर जुन प्रयासहरू भएका थिए, ती प्रयासहरू सबै विफल हुन्छन् ।
उनले पार्टी ११ औँ महाधिवेशनमा न पुग्दै एकताबद्ध हुने विश्वास व्यक्त गरे ।
उनले थपे, हामी ०८४ निर्वाचनमा सबै पार्टीहरूसँग प्रतिस्पर्धा गर्छौँ । सम्भवतः आउँदो चुनाव चाहिँ ठुला पार्टीहरू एक्ला एक्लै लड्ने चुनाव हुनेछ ।
उनले वरिष्ठ उपाध्यक्ष र महासचिवको स्टाटसबारे भने, ‘नेतृत्व निर्माणको बारेमा एक किसिमको खाका स्पष्ट ल्यायो, दिशानिर्देश गर्यो, त्यसले विधि निर्माणको बाटो स्पष्ट गरिसकेको छ ।’

Leave a Reply