‘मलाई कुनै लोभ छैन, प्रधानमन्त्रीज्यूले दिनुभएको जिम्मेवारी पूरा गर्न दृढ छु’

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्याैपानेले आफ्नो सचिवालयलाई चुस्त र दुरुस्त बनाउने बताएकी छन् ।

उनले भनिन्, ‘मलाई कुन लोभ लालस छैन, प्रधानमन्त्रीज्यूले काम गर्न यो जिम्मेवारी दिनुभएको हो । संघीयता कार्यान्वयन गर्ने मुख्य जिम्मेवार यही मन्त्रालय नै हो । त्यसैले कसरी सुशासन कायम गर्न सकिन्छ र प्रभावकारी काम गर्न सकिन्छ भने दृढ भएर काम गर्नेछु ।’

घुस प्रकरणको अडिओ बाहिरिएसँगै विवादित बनेका राजकुमार गुप्ताको राजीनामापश्चात न्यौपानेलाई अघि सारिएको हो ।

नेपाल प्रेससँग कुरा गर्दै उनले संघीय निजामती विधेयकलाई जतिसक्दो चाँड‍ै राष्ट्रियसभाबाट पारितका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘संघीय निजामती विधेयकमाथी सैद्धान्तिक छलफल भइसकेको छ र ७२ घण्टे विधेयकमाथिको संशोधन दर्ताको सूचना जारी भइसकेको छ । आज उक्त समय सीमा सकिएपछि सम्भव त अब विधायन व्यवस्थापन समितिमा जान्छ । राष्ट्रियसभा नियमावली अनुसार बढीमा २ महिना भित्र टुंगो लगाइसक्नुपर्छ । सम्भवत: हामी २ महिनाभित्र टुंगो लगाएर पारित गर्छौं ।’

निमित्तका भरमा चलिरहेका स्थानीय तहलाई शून्यमा झार्ने तयारी भइरहेको उनको भनाइ छ । त्यस्ता स्थानीय तहलाई जतिसक्दो चाँडै शून्यमा झार्ने गरी काम गर्न र त्यसको विवरण तयार पार्न मन्त्रालयका महाशाखा र शाखालाई निर्देशन दिइसकेको न्यौपानेले बताइन् ।

उनका अनुसार अहिले ७५३ स्थानीय तहमध्ये ११६ स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् ।

न्यौपानेले भनिन्, ‘संघीयता कार्यान्वयनको मुख्य ठाउँ भनेकै स्थानीय तह हो । तर, अहिले पनि ११६ स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । कसरी हुन्छ यी सबैमा निमित्तबाट शून्यमा झार्नेछु ।’

Comments

One response to “‘मलाई कुनै लोभ छैन, प्रधानमन्त्रीज्यूले दिनुभएको जिम्मेवारी पूरा गर्न दृढ छु’”

  1. khem aryal Avatar
    khem aryal

    प्र मको उद्देश्य नै गोप्य तरिकाले कुस्त भ्रस्ट्राचार गरेर पैसो जम्मा गर भन्ने गोप्य निर्देशन रहन्छ अनि !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *