काठमाडौं । कांग्रेस नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई मान्छेलाई इँटा भट्टामा जिउँदै जलाएर मारेको मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वाेच्च अदालतमा पुनरावलोकन निवेदन दिएको छ ।
उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गरेको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन भएको हो ।
न्यायाधीश थारु र महर्जनलाई न्यायपरिषदले सर्वाेच्चमा तानेर छानविन गरिरहेको छ । सरकारको कानूनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता कार्यालयले उक्त फैसलामा चित्त नबुझेको भन्दै हदैसम्मको सजाय माग दाबी गरेर सर्वाेच्चमा गएको हो ।
तल्लो अदालतको फैसलामा एक तह माथिको अदालतबाट फेरबदल भएमा महान्यायाधिवक्ता कार्यालयले आफ्नो मागदाबी लिइ सर्वोच्च अदालतमा जाने प्रचलन छ ।
फैसला गर्ने न्यायाधीशको आचरणमै प्रश्न उठेर न्यायपरिषदले नै छानबिन थालेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको पुनरावेदनमा थप बल प्रदान भएको छ । सो फैसलालगत्तै महान्यायाधिवक्ता रमेश बडालले असन्तुष्टि जनाउँदै पुनरावेदनमा जाने बताएका थिए ।

Leave a Reply