काठमाडौं । यही श्रावण १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
सार्वजनिक ट्रेलरमा नेपाली युवाहरूले अपनाउने वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ देखाइएको छ।
ट्रेलरका केही दृश्यहरू दिल छुने छन्। ती दृश्यले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन् ।
चलचित्रका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण भइरहेको ट्रेलरमा देख्न सकिन्छ।
चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरू सङ्केत गर्छ, जहाँ लाखौँ नेपालीहरूले राम्रो भविष्यको खोजी र आफ्नो परिवारको गुजारा चलाउन काम गरिरहेका छन् ।
चलचित्रमा अभिनेत्री निता ढुङ्गाना मुख्य भूमिकामा छिन। उनका साथै चलचित्रमा प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।
चलचित्रको लेखन प्रदीप भारद्वाज ले गरेका हुन् भने चलचित्रको छायांकन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौं र लेटाङमा गरिएको छ ।

Leave a Reply