डिभोर्सबारे शृङ्खलाबद्ध अन्तरवार्ता दिइरहेकी एलिना

काठमाडौँ । चार दिनअघि गायिका एलिना चौहानले आफ्नो आधिकारिक युट्युब च्यानलमा एक ‘तीज गीत’ सार्वजनिक गरिन् । ‘छोरीको शिर आमा’ बोलको उक्त टिकटकमा निकै भाइरल छ र युट्युबमा पनि राम्रो भ्यूज बटुलिरहेको छ । विशेषतः महिला टिकटकरहरुले उनको यो गीतको भावसँग आफूलाई रिलेट गरिरहेका छन् ।

यो गीतले छोटो समयमै धेरै हाइप पाउनुको पछाडिको एक प्रमुख कारण हो– एलिनाको आफ्नै जीवनसँग मेल खानु । गीतको भिडियोमा एक पत्नीले पतिबाट भोगेको हिंसा र पिडालाई व्यक्त गरिएको छ । भिडओका दृश्यहरू एलिनाले पछिल्ला अन्तरवार्ताहरूमा सुनाएको आफ्नो कथासँग हुबहु मिल्छन् ।

एलिनाले पति विष्णु सापकोटासँग गत माघमा सम्बन्धविछेद गरेकी थिइन् । विवाह गरेको एक वर्ष नबित्दै सम्बन्ध टुटेको हो । सुरुमा एलिनाले आफूहरू छुटिनुको कारण खुलस्त पारेकी थिइनन् । आफूलाई दर्शकबाट अभद्र र नकारात्मक टिप्पणी आउन थालेपछि उनले केही दिन ती व्यक्तिको तस्बिर र कमेन्ट सार्वजनिक गर्ने अभियानै थालिन् । साइबर ब्युरोमा उजुर पनि दिइन् । एलिनाको उजुरीको आधारमा एक जनालाई प्रहरीले पक्राउसमेत गरिसकेको छ ।

एलिना अहिले भने अन्तरवार्ता दिन व्यस्त छिन् । विभिन्न युट्युब च्यानलहरूमा दिनहुँ जसो उनको नयाँ–नयाँ अन्तरवार्ताहरू आइरहेका छन् । विषयवस्तु उही डिभोर्स र पूर्वपति । उनले पूर्वपति विष्णु सापकोटामाथि विभिन्न आरोपहरू लगाएकी छन् । मुख्य आरोप चाहिँ श्रीमानले आफूमाथि घरेलु हिंसा गरेको भन्ने छ । त्यसबाहेक नचाहिँदो शंका गरेको र मानसिक टर्चर दिएको उनले सुनाइरहेकी छन् । एलिना मात्र नभएर उनका परिवारका सदस्यले पनि युट्युबमा अन्तरवार्ता दिन थालेका छन् ।

यही मेसोमा एलिनाले ‘छोरीको शिर आमा’ बोलको तिज गीत आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । आफ्नो भोगाइसँग रिलेट गरेर यसअघि पनि उनले थुप्रै गीतहरु गाइसकेकी छन् । यो त्यसैको एउटा कडी हो । कतिपयले आफ्नो गीत हिट बनाउनकै लागि एलिनाले श्रीमानविरुद्ध अन्तरवार्ताहरू दिएर हिँडेको आरोप पनि लगाएका छन् । तर, यस्तो आरोपमा कुनै दम नभएको उनी निकटस्थहरु बताउँछन् ।

विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया उडेकी एलिना दुई महिनामै नेपाल फर्केकी थिइन् । त्यसबेला नै उनी सही सलामत नरहेको अड्कलबाजीहरू धेरैले गरिरहेका थिए । उनी नेपाल आउनासाथ ओशो तपोवनमा ध्यान गर्न पुग्नुले अझै आशंका जन्माएको थियो । त्यसबेला दिएका अन्तरवार्ताहरूमा उनी पटक्कै खुल्न सकेकी थिइनन् । मनभरि पिडा बोकेर हिँडेको महसुस उनका शुभचिन्तकलाई भइरहेको थियो ।

अहिले भने उनी पूरै खुलिसकेकी छन् । एउटा दुईटा होइन, डिभोर्सकै विषयमा उनले आधा दर्जनभन्दा बढी इन्टरभ्यू दिइसकिन् । ती सबै इन्टरभ्यूको सार उस्तै उस्तै नै छ । एउटा अन्तरवार्तामा एलिनाले भाइलाई पनि ल्याएकी छन् ।
डिभोर्सअघिको कुरा सम्झिँदै उनले भनेकी छन्, ‘अष्ट्रेलियाबाट फर्किएपछि मुड बिग्रिरहन्थ्यो । बाहिर साधारण देखिन्थे तर भित्र सन्तुलित थिईनँ । कति रात खाइनँ, कति रात सुतिनँ । गाह्रो हुँदा कति रात त्यतिकै उठेर हिँड्थेँ । बाहिर सिन्दूर लगाएर हिँड्थेँ, तर भित्र के परेको छ भन्ने आफैलाई मात्र थाहा थियो । मरौँ जस्तो लाग्थ्यो ।’

छटपटाएर रात कटाउन गाह्रो हुँदा कति रात एक्लै पशुपति गएर रुने गरेको एलिनाको भनाइ छ ।

‘मान्छेहरू त्यस्तो कुरा बिर्सिदेऊ भन्छन् । भनेजस्तो सजिलो हुन्छ र रु बिर्सिन खोजे पनि पिडा मनमा गडिरहने रहेछ । चटक्कै बिर्सिन त कि स्मरण शक्ति नै जानुपर्‍यो । नत्र कता–कता त्यो कुराले घोचिरहने रहेछ,’ उनी थप्छिन् ।

एलिनाका अनुसार पूर्वपति विष्णु सापकोटासँग विवाह गर्नु उनको मात्र रहर थियो । उनको विवाहलाई लिएर घरमा कोही पनि खुसी थिएनन् । यहाँसम्म कि विवाहपछि पनि उनका दाइ र भाइ विष्णुसँग राम्ररी बोल्दैन थिए ।

खासमा एलिनाको सम्बन्धमा खटपट विवाहअघिबाटै थियो । एकपटक त ब्रेकअप नै भएको हो । फेरि प्याचअप भयो । स्वभावगत कमजोरी, अपरिपक्वता वा अन्धो प्रेमले गर्दा एलिनाले विष्णुसँगै बिहे गर्ने जिद्दी लिइन् । विष्णुलाई राम्रोसँग चिनिसकेर पनि, उनको सबै ब्यहोरा जानिसकेर पनि एलिनाले उनैलाई जीवनसाथी रोज्ने अठोट छोड्न सकिनन् । त्यसबेला यो जोडी कत्तिको टिकाउ होला भन्नेमा एलिनाका परिवार र निकटस्थ मात्र होइन, आमदर्शकलाई पनि आशंका थियो । भयो पनि त्यस्तै ।

अहिले दिएका अन्तरवार्तामा एलिनाले बिहेअघिबाटै शंका र झगडाले उग्ररुप लिने गरेको स्वीकारेकी छन् । रुँदारुँदै आफू कैयौंपटक बेहोस भएको उनको भनाइ छ । आमाबुवा र परिवारका सदस्यहरुले नमान्दा नमान्दै पनि आफूले विष्णुसँग विवाहको जिद्दी लिएकोमा उनी अहिले आत्मग्लानि गरिरहेकी छन् ।

एक अन्तरवार्तामा एलिनाले आफूलाई विष्णुले परपुरुषसँगको आशंका गरेको समेत बताएकी छन् । यो उनी अष्ट्रेलियाबाट नेपाल फर्किसकेपछिको कुरा हो ।

उनी भन्छिन्, ‘नेपाल फर्किदा जे भएपनि ठिकै छ भन्ने थियो । कुटेको कुरालाई समेत मैले माफ गरेरै नेपाल आएको थिएँ । तर नेपाल आएपछि उहाँले मेरो नाम एकजना मान्छेसँग यस्तो तरिकाले जोडिनुभयो कि मैले हैन भन्दा पनि उहाँले मान्नुभएन । उहाँ उल्टै हो भन्ने कुरा साबित गर्नतर्फ लाग्नुभयो । त्यसपछि सम्बन्ध झन् बिग्रियो ।’

सुरुमा त आफ्नो र परिवारको इज्जतका कारण डिभोर्सको निर्णय लिन एलिनालाई गाह्रो भयो । तर बुवाले आफूलाई हौसला दिएको उनी बताउँछिन् ।

‘त्यतिबेला बुवाले मलाई म बाचिञ्जेल तेरो लागि लड्छु, मरेपछि के होला होला भनेपछि मलाई आँट आयो । डिभोर्स नगरे पनि तेरो सम्बन्ध धेरै टिक्दैन र अब फेरि गइस् भने मेरा बुवाआमा छन् भनेर बिर्सेरै जानु भनेपछि मलाई पछाडि फर्किन मन लागेन,’ उनले भनेकी छन् ।

डिभोर्स गर्दा एलिनाले आफ्नो ममीलाई साथ लिएर गएकी थिइन् । डिभोर्स पेपरमा साइन गर्नुअघि संसार हल्लिएजस्तो भएको उनी बताउँछिन् । ‘आँखामा टिलपिल आँशु थियो । मैले पुलुक्क आमातिर हेरेँ । आमाले हातको इसाराले आँसु नझार भनेपछि थामिएँ,’ एलिना सुनाउँछिन् ।

एलिनाको वैवाहिक सम्बन्धमा दरार आएको खबर सर्वप्रथम गायिका ज्योति मगरबाट बाहिरिएको थियो । तर एलिनाले उक्त पोष्ट हटाउन लगाइन् ।

यसबारे उनी भन्छिन्, ‘म उसलाई छोडे पनि अर्कै तरिकाले छोड्छु भन्ने थियो । अरूलाई किन नराम्रो बनाउनु भनेर मैले ज्योति दिदीलाई स्टाटस हटाउन लगाएँ । डिभोर्सपछि पनि मैले खासै केही बोलिनँ । बदला लिएर भन्दा बदलिएर देखाउँछु भन्ने थियो । तर यो समाजले मलाई उल्टो बनाइदियो ।’

चाहिनेभन्दा धेरै राम्रो हुँदा आफै मर्नुपर्ने भएपछि डिभोर्सको कारणबारे बोलेको एलिना बताउँछिन् ।

डिभोर्सपछि एलिनाले एक भिडिओ सन्देश जारी गर्दै आफ्नो पूर्वपतिलाई कसैले पनि नराम्रो नभन्न आग्रह गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ । मलाई यो समयमा साथ दिनुस् तर उहाँलाई नराम्रो नभन्नुहोला । गाली नगर्नुहोला । मैले आफै जिन्दगी बिगारेको हो । उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदा पाउँदै विवाह गर्नुभएको हो ।’

एलिनाका भाइले पनि दिदीको चाँडै डिभोर्स हुन्छ भन्ने आफूहरूलाई पहिल्यै थाहा भएको बताएका छन् ।

उनी भन्छन्, ‘हामीलाई पहिल्यै थाहा थियो । सबैले सम्झाएको पनि हो । बीचमा ब्लक गरेर बोल्न पनि छाडेकी थिई । तर उसले मेलमा भएपनि मेसेज गरेर म्यानिपुलेट गर्थ्यो । कति पटक मैले आफै अब उसलाई मेसेज नगर्नु भनेर विष्णुलाई भन्थेँ । तर एलिनालाई अझै माया गर्छु भन्दै म्यासेज गरिहाल्थ्यो ।’

‘नेपाल फर्किएपछि पनि दिदी झुण्डिएर मर्छे कि भन्ने हामीलाई पिर थियो । जतिखेरै ढोका लगाएर रुँदै बस्थी । राती बेलाबेला उसको कोठामा गएर हेर्थे। उ सुतेको देखेपछि आनन्दले आएर सुत्थे। कहिलेकाहीँ राती एक्कासि उठेर पशुपति जान्थी अनि रोएर फर्किन्थी। बाटोमा कुकुरले टोक्न खोज्दा पनि वास्ता गर्दिनथी ।’

भाइका अनुसार विष्णुले एलिनालाई हरेक कुरामा शंका गर्थे । विष्णुले नचाहिँदो बोल्ने, बुझाउन खोज्दा पनि नबुझ्ने, स्पष्टीकरण दिन खोज्दा उल्टै त्यहीँ मान्छेसँग सुतेर आइस भन्ने गर्थे ।

दिदी रोएर छटपटाएको देख्दा सहन नसकेर आफै कति पटक ट्वाइलेटमा गएर रुने गरेको भाइ सुनाउँछन् ।

आफ्नो अवस्था देख्दा भाइले विष्णुलाई मेसेज गरेर एकपटक भएपनि बोल्न आग्रह गरेको दिनहरू एलिना सम्झिन्छिन् । आफ्नो कारणले परिवारका सबै सदस्य पूर्वपति विष्णु सापकोटासँग झुक्नु परेकोमा आफूलाई नराम्रो लागेको उनले बताएकी छन् । भेडाजस्तो पछि लाग्नु र एकदिन सबै ठिक हुन्छ भन्ने सोचेर हिँड्नु ठुलो गल्ती भएको एलिनाको भनाइ छ ।

उनी भन्छिन्, ‘साँचो माया कहिले मर्दैन भन्थे तर मर्दो रहेछ । ऊसँग छुटाउन मलाई मेरो परिवार र साथीभाइले समेत प्रयास गरे पनि कसैले सकेनन् । तर अन्तिममा मलाई उसैले उसलाई बिर्साउन मद्दत गर्‍यो । उसले मात्र त्यो काम गर्न सक्यो ।’

यी सबै भए एक पक्षका बयान । कुनै पनि अन्तरद्वन्द्वका घटनामा दुवै पक्षको कुरा नसुनीकन निष्कर्षमा पुग्नु गलत हुन सक्छ । तर, एलिनाले सुनाएका विवरणहरूलाई धेरैले विश्वास गरेका छन् । विश्वास गर्ने आधारहरू छन् ।
यस द्वन्द्वको अर्को पक्ष विष्णु सापकोटा र उनको परिवार भने पूर्णरुपमा मौन छ । विष्णु अहिले अष्ट्रेलियामै छन् । देशबाहिर भएकाले मात्रै उनले बोल्न नसकेका भने आवश्यक होइन । किनकि अहिले आफ्नो भनाइ बाहिर ल्याउनका लागि कुनै मिडियाको सहारा चाहिँदैन । आफ्नै सामाजिक सञ्जाल काफी हुन्छ ।

विष्णु नबोल्नुका दुईवटा कारण हुन सक्छन् । पहिलो एलिना र उनका समर्थकहरूले भनेजस्तो बोल्ने र बचाउ गर्ने कुनै ठाउँ नै नहुने । एलिनाले सबैकुरा सत्य बोलेको र उनीसँग प्रमाण पनि हुन सक्ने भएकाले विष्णुको मुख बाँधिएको हुन सक्छ ।

कतिपयले चाहिँ विष्णुको मौनतालाई उनको सहनशीलता र भद्रताको द्योतक पनि मानेका छन् । एलिनाले दिनदिनै मिडियामा अन्तरवार्ता दिएर गम्भीर आरोपहरू लगाइरहँदा पनि विष्णुले जवाफ नफर्काएकोलाई सकारात्मकरुपमा लिनेहरू पनि धेरै नै छन् । उनीहरूले विष्णुलाई लेखिरहेका छन्– तिमीले नबोलेरै मन जित्यौ ।

कतिपयलाई एलिनाले लगातार एउटै विषयमा अन्तरवार्ता दिइरहेको पनि चित्त बुझेको छैन । एक–दुईपटक बोल्नु स्वाभाविक भए पनि एउटै कुरा मिडियापिच्छे गएर दोहोर्‍याउनुले एलिनालाई नै हल्का बनाइरहेको टिप्पणी उनीहरूले गरेका छन् । एलिनाले ‘सेलिब्रिटी पावर’ को प्रयोग गरेर मिडियालाई हातमा लिएको तर विष्णु मिडियाबाट टाढा रहेकाले बोल्न नपाएको दाबी पनि कसै कसैले गरेका छन् ।

जे भए पनि यो घटना धेरैका लागि एउटा शिक्षा हो । प्रेममा पागल भएर आफ्नो बुवाआमा र परिवारको अवज्ञा गर्ने छोरीहरूका लागि पाठ हो । एलिनाले भनेका कुराहरूमा कतिपय अतिरञ्जना पनि हुन सक्लान्, उनको पनि केही गल्ती र कमीकमजोरी हुन सक्ला, त्यो आफ्नो ठाउँमा छ, तर उनी पतिबाट पीडित हुन् भन्नेमा शंका छैन । अन्यथा कोही पनि छोरी मान्छेले यति छोटो समयमा यस्तो कठोर कदम चाल्न सक्दैन ।

यद्यपि, एलिनालाई एउटा सुझाव चाहिँ दिनैपर्छ । एउटै कुरालाई दोहोर्‍याइ तेहेराइ भन्दा अडियन्सहरु वाक्क हुन सक्छन् र बिस्तारै उनले सहानुभूति गुमाउँदै जान सक्छिन् । त्यसैले अब यो च्याप्टरलाई क्लोज गरेर आफ्नो करिअरमा फोकस गर्दा नै उचित हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *