जिल्ला प्रशासन कार्यालय रामेछापमा अब विद्युतीय टोकन प्रणाली

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सेवा प्रवाहलाई प्रभावकारी, सहज र व्यवस्थित बनाउन विद्युतीय टोकन प्रणाली सुरु गरेको छ। साउन १ गतेदेखि लागू गरिएको यो प्रणालीमार्फत कार्यालयमा सेवा लिन आउने नागरिकले पालो अनुसार सेवा पाउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, विद्युतीय टोकन प्रणालीले सेवाग्राहीको समय बचाउनुको साथै सहज सेवा हुने अपेक्षा गरिएको छ ।

कार्यालयमा सेवाग्राहीको अधिक चाप हुने अवस्थामा छिटो आउनेको छिटो काम होस् भन्ने सोचका साथ यो प्रणाली लागू गरिएको उनले बताए। सेवा प्रवाहमा कसैले पनि भेदभाव महसुस नगरोस् भन्ने उद्देश्यले टोकन प्रणाली ल्याइएको उनको भनाइ छ।

हाल नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र अन्य काममा आउनेलाई टोकन प्रणाली लागू गरिएको छ। ती शाखाहरूमा दैनिक धेरै सेवाग्राहीको भीड हुने भएकाले सेवालाई सहज बनाउन यो प्रणाली उपयोगी हुने विश्वास गरिएको छ।

प्रजिअ थापाले टोकन प्रणालीले कार्यालयको कामकाजलाई व्यवस्थित बनाउने र सेवाग्राहीलाई निश्चित पालोको आधारमा सेवा प्रदान गर्ने वातावरण तयार गर्ने उल्लेख गरे। ‘पहिले आउनेको पहिले सेवा पाउने व्यवस्था मिलाउने हाम्रो प्रयास हो’, उनले भने।

रामेछाप नगरपालिकाको सहयोगमा टोकन प्रणाली जडान गरिएको हो। सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र सुशासनमुखी बनाउन यो प्रणाली सहयोगी हुने थापाको भनाइ छ ।

यस अघि कार्यालयले क्युआरबाट गुनासो स सुझाव सुन्ने प्रणाली विकास गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *