काठमाडौं । विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा नेताहरुले धारणा राख्नु समय लिएका कारण नेकपा (एमाले) को जारी सचिवालय अझै केही घण्टा लम्बिने भएको छ ।
बैठक लम्बिने भएपछि खाजा खानका लागि केही समय बाहिर निस्किएका नेताहरुले कम्तिमा दुई घण्टा बैठक लम्बिने बताए ।
बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने प्रस्ताव पेश भएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो ।
एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी छन् । अध्यक्षसहित ३ उपाध्यक्ष , एक–एक महासचिव र उपमहासचिव तथा पाँच सचिवको प्रस्ताव संशोधित विधानमा रहेको एक नेताले नेपाल प्रेसलाई बताए । १९९ केन्द्रीय सदस्य संशोधित विधान प्रस्तावमा उल्लेख छ ।
पदाधिकारी संख्या संकुचित गर्दा कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असहमति प्रकट गरेका छन् ।
विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । यद्यपि, पूर्वव्यवस्था हटाउनुपर्ने आधार र तर्कको खोजी हुनुपर्ने कुरा उठेपछि छलफल लम्बिएको बैठकमा सहभागी एक नेताले बताए ।
१० औं सौराहा महाधिवेशनले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको थियाे । याे बीचमा मनाेनीत भएका समेत गर्दा अझ बढेकाे छ ।

Leave a Reply