पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मी रास्वपा प्रवेश (भिडिओ)

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

उनले पर्यटन बोर्डको कार्यकाल सकिएलगत्तै पार्टीको सदस्यता लिएको पार्टी प्रवक्ता मनिष झाले पार्टी प्रवेश गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । झाले आजबाट पार्टीमा जोडिएको जानकारी गराउँदै स्वागत गरिएको बताए ।

लामो समयदेखि सरकारी निकायमा संलग्न भई नीति निर्माण तहमा काम गरेका रेग्मी नयाँ पुस्ताको सोच र देशप्रतिको अठोटप्रति आकर्षित हुँदै पार्टी प्रवेश गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । पार्टीमा प्रवेश गरेपछि रेग्मीले भने, ‘देशलाई बनाउने भन्ने क्रममा हामी गन्तव्यविहीन यात्रामा हिँडेजस्तो लागेको छ। व्यक्ति अनुसार बाटो बनाउने प्रवृत्तिले देशलाई कुनै स्पष्ट दिशा दिन सकेन । त्यसैले मैले अब युवाको नेतृत्व र अठोटलाई साथ दिने निर्णय गरेको हुँ।’

उनले पूर्पक्षमा जेल चलान भएका पार्टी सभापति रवि लामिछाने लक्षित न्यायालयको निर्णय र वर्तमान राज्य प्रणालीप्रति आलोचना गर्दै भने, ‘सम्मानित अदालतको निर्णयप्रति असहमति होइन, तर नयाँ पुस्ताका नेतालाई जसरी हेरिएको छ, त्यहाँ कता–कता अन्याय पनि देखिन्छ।’

रेग्मीले आफ्ना अनुभव र ज्ञानलाई अब राजनीतिक नेतृत्वसँग जोडेर प्रयोग गर्न पाउने आशामा रास्वपामा आएको स्पष्ट गरे । उनले भने, ‘मैले अरु पार्टीमा जाँदा न त मत राख्न सकें, न त अवसर पाएँ । तर यहाँ नयाँ युवा, जोश, जाँगर, पढेलेखेका साथीहरू छन्, उनीहरूसँग मिलेर काम गर्न सक्छु भन्ने लागेर आएको हुँ।’

उनले पर्यटन, उद्योग, श्रम, परराष्ट्रजस्ता क्षेत्रमा आफ्नो विज्ञता प्रयोग गरेर देशलाई सही दिशा दिन सकिने विश्वास व्यक्त गरे । ‘अब देशलाई गन्तव्य दिन सकिने वातावरण यहीँ (रास्वपा)मा देखिएको छ । यही भरोसा लिएर म पूर्ण रूपमा सक्रिय हुने निर्णयमा पुगेको हुँ ।’ उनले थपे ।

उनले पार्टी प्रवेशका लागि एक–दुई वर्षदेखि छलफलमा रहेको र यसबीचमा आफ्ना व्यक्तिगत व्यावसायिक काम सकेर अब पार्टी राजनीतिमा पूर्ण रूपमा सक्रिय भएको जानकारी पनि दिए । रेग्मीले अघिल्लो पुस्ताको अनुभवबाट सिक्दै अब गल्ती नगरी मुलुकको समृद्धिका लागि नयाँ नेतृत्वसँग मिलेर अघि बढ्ने दृढता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *