काठमाडाैं । अहिले नेपालमा टिभी रियालिटीकाे शाेकाे बजार निकै हराभरा छ । त्यसमा पनि अत्यधिक चर्चामा छन् दुई कमेडी रियालिटी शाे, कमेडी नाइट्स विथ च्याम्पियन र कमेडी दरबार । दुई फरक च्यानलमा आउने यी कमेडी शाे बीच नेक टु नेक प्रतिस्पर्धा चलिरहेकाे छ ।
दुवै कमेडी शोमा प्रतिभाशाली युवा कमेडियनहरुको भीड छ । दुवै शोले दर्शक हसाउँन भरमग्दुर प्रयास गरिरहेका छन् र सफल पनि भइरहेका छन् । परिवारसँगै बसेर शो हेर्ने परिपाटीलाई पनि यी शोले पुन जागृत गरेका छन् । यद्यपि, द्विअर्थी र अश्लिलता मिश्रित संवादहरुको समस्या दुवै शोमा छ ।
कमेडी दरबारलाई ‘कमेडी क्लव’ नामक रियालिटी शोबाट आएका कमेडियन विक्की अग्रवालले निर्देशन र निर्माण गर्छन् । यो कार्यक्रमको अहिले दोस्रो सिजन चलिरहेको छ । पछिल्लो १४ औ एपिसोड ५ दिनअघि प्रशारण भएको थियो, जसको भ्यूज १० लाखभन्दा बढी छ । यसमा पवन भट्टराई म्याकुरी, सुन्दर खनाल, उत्सव सापकोटा, हिमेश पन्त, उत्सव सापकोटा, सुजाता श्रेष्ठ, मिस पवी, सिडी विजय अधिकारी, विटी कान्छा, विकास अर्याल लगायत कलाकारहरु छन् । गौरी मल्ल र मनोज गजुरेल ‘महाराज’ र ‘महारानी’ को भूमिकामा छन् ।
कमेडी नाइट विथ च्याम्पियनका निर्देशक भने विशाल भण्डारी हुन् । उनले यसअघि कमेडी क्लब नामक रियालिटी शो सुरु गरेका थिए । विक्की त्यसैका उत्पादन हुन् । अहिले उनको शोमा सुमन कार्की, पवन भट्टराई, सजन श्रेष्ठ, भरतमणी पौडेल, सुमन कोइराला, कैलाश कार्की, प्रभात लामा, सन्तोष थापा लगायत एक से एक कमेडियन छन् । कमेडी नाइट विथ च्याम्पियनमा महिला कलाकारको भने खडेरी छ । अध्यक्षको आसनमा भने महिला (दिपाश्री) निरौला छिन् ।
दुवै शोले प्रत्येक एपिसोडमा १० लाखभन्दा माथि भ्यूज प्राप्त गरिरहेका छन् । यो आफैंमा उत्कृष्ट आँकडा हो । कमेडी नाइट विथ च्याम्पियनभन्दा कमेडी दरबार भ्यूजमा केही अगाडि देखिन्छ । हुन त प्रत्येक एपिसोडमा आउने गेस्टले पनि भ्यूजलाई प्रभाव पार्ने गरेको छ । कमेडी दरबार विथ च्याम्प्यिनको १५ औं संस्करणमा राप्रपाका ज्ञानेन्द्र शाही, खुस्बु वली र स्वागत नेपाल आएका थिए । उक्त एपिसोड १३ लाख पटक हेरिएको छ । १४ औं एपिसोडमा ११ लाख भ्यूज छ ।
पछिल्ला दुई एपिसोडमा भने भ्यूज अलिकति खस्केको देखिन्छ । विजय बराल गेस्ट बनेर आएको १५ औं एपिसोड ८ लाखभन्दा बढीपटक हेरिएको छ भने दुई दिनअघि प्रशारित १५ औं एपिसोडलाई अहिलेसम्म ५ लाख भ्यूज प्राप्त भएको छ । यो एपिसोडमा चलचित्र ‘सिटामोल’ का कलाकारहरु सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल लगायत गेस्ट बनेर आएका छन् ।
कमेडी दरबारको ६ दिन अगाडि प्रशारित एपिसोडमा १० लाख भ्यूज कटेको छ । यो एपिसोडमा सक्किगोनी टेलिश्रृंखलाका कलाकारहरु बले, कक्रोच, रक्षा, मुन्नी आदि गेस्ट बनेर आएका थिए । यसअघिको हप्तामा १२ लाख भ्यूज थियो, जसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र एमाले नेतृ तथा कलाकार कोमल वलीको उपस्थिति थियो ।

Leave a Reply