काठमाडौं । डिजिटल भुक्तानी माध्यमका रूपमा रहेका खल्ती र आईएमई वालेट मर्ज भएको छ ।
काठमाडौंमा आज एक कार्यक्रमका बीच आईएमई पे र खल्ती वालेट मर्ज भएको हो । मर्ज भएसँगै ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरू भएको छ । यसरी एउटै एपमा समेटिएपछि साबिकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।
यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।
यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
ब्याज दिने एकमात्र वालेटको रूपमा चिनिएको आईएमई पेरेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो ।


Leave a Reply