काठमाडौं । र्यापर जी–बबको जीवनलाई नजिकबाट नियाल्न तीन वर्षअघि फर्कनुपर्छ । जतिबेला एक लाख रुपैयाँ राशीको पुरस्कार अल नेपाल ठग्स फेमिली (एनटीएफ)ले र्याप ब्याटलको आयोजना गरेको थियो ।
एक लाख रुपैयाँ पुरस्कार ठूलो रकम थिएन, तर प्राप्त प्ल्याटफर्मले र्यापको दुनियाँमा भविष्य अज्माउन खोजिरहेका युवा र्यापरहरुको ध्यान आकृष्ट गर्यो । सयौं र्यापरहरुले र्याप ब्याटलका लागि आवेदन दिए । त्यही आवेदन लिनेको लाइनमा थिए र्यापर जी–बब (सुदीप भण्डारी) ।
आवेदन भरेका र्यापरहरुलाई बोलाएर एनटीएफले धमाधम र्याप ब्याटल गराउन सुरु गर्यो । ब्याटलका भिडियोहरु युट्युबमा सार्वजनिक गर्न थाल्यो । तिनै भिडियोमध्येबाट जी–बब एकाएक चर्चामा आए । ‘मिलेन लेभल तेरो बाउ बोला ए’ हुकलाइनले सामाजिक सञ्जाल कब्जा गर्यो । इन्स्टादेखि टिकटकसम्म यही हुकलाइनको कब्जामा पर्यो ।
अनुज पुस्ताका जी–बब एकाएक चर्चित र्यापरहरुको दाँजोमा आए । मिडिया, सोसल मिडिया जताततै जी–बबकै चर्चा हुन थाले । कन्सर्ट, कार्यक्रमहरुमा व्यस्त हुन थाले । देश, विदेशका कार्यक्रमा व्यस्त भए । यही बीचमा जी–बब गायब हुन्छन् । आफू हिट भएपछि ड्रग डिलरले पोखरा पुर्याएर तीन दिनसम्म नियन्त्रणमा राखिएको खुलासा गर्छन् ।
कलिलै उमेरमा ड्रगमा फसेका उनलाई काठमाडौं ल्याएर सुधार केन्द्रमा राखिन्छ । सुधार केन्द्रबाट पनि भाग्छन् । पुख्र्यौली थलो गोरखा पुग्छन् । यहीबीचमा जी–बबका आमाबुवा र जी–बबबीच नै विवाद सुरु हुन्छ । जी–बबका आमाबुवा जी–बबलाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिन्छन् । जी–बबले पनि आफूलाई आमाबुवाले सानैदेखि नहेरेको र अहिले आएर अनावश्यक हस्ताक्षेप गरेको बताउँछन् । अन्ततः यो विवाद पछि सम्झौतामा गएर टुंगिन्छ ।
रातारात स्टार भएका जी–बब ड्रग, सुधार केन्द्र र परिवारसँगको विवादका कारण चर्चाको केन्द्रमा रहन्छन् । यो विवाद केही समयपछि सेलाउँछ । जी–बबको चर्चा पनि सेलाएर जान्छ ।
यो तीन वर्षको बीचमा एक वर्षजति ग्यापमा बसेपछि जी–बबले केही र्याप गीतहरु ल्याएका थिए । आफैं समस्याहरुमा गुज्रिरहेकाले उनले खुलेर गीतहरु ल्याउन सकिरहेका भने थिएनन् । ती र्यापहरुले ‘मिलेन लेभल तेरो बाउ बोला ए’ र ‘फाइनल्ली भेटियो केटा हो फाइनल्ली’ जतिको चर्चा तिनले पाएनन् ।
ती र्याप गीतहरुले पाएनन् । पछिल्लो समय भने उनको ‘परिचयः द इन्ट्रो’ र्यापले उल्लेख्य मात्रामा भ्युज बटुलेको छ । यो र्याप युट्युबमा सार्वजनिक भएपछि ट्रेण्डिङमा समेत परेको थियो । एक महिनाअघि रिलिज भएको यस गीतले अहिलेसम्म २४ लाखभन्दा ज्यादा भ्युज पाएको छ ।
चार दिनअघि रिलिज गरिएको लिरिकल र्याप ‘थाहा छैन’ले डेढ लाख भ्युज पाइसकेको छ । आफैंलाई सम्बोधन गरेर बनाइएको र्यापका शब्दहरु भने यस्ता छन्,–
मन भारी गरम हुन्छ, पीडा पोख्दा कलम हुन्छ
मलाई पूरा विश्वास छ, सफलताले कदम चुम्छ
बदल्छु म यो जिन्दगी भनेरै अटल छु म
बदलिनँ भने थाहा छ, सपनाको कतल हुन्छ
गाह्रो छ सफल हुन, छैन यहाँ सरल सूत्र
बुझ्छु म फोहोरबाटै फक्रिएर कमल फुल्छ
….
अप्ठ्यारोमा आफ्नो मान्छे सबै खोज्छन् टाढिन
मभित्र मेरै साथी छ, भन्छ पर्दैन आत्तिन
एक दिन आफैंले आफैंलाई धन्यवाद दिँदै भन्छु
हारिनँ मैले, गाह्रो बाटो थ्यो त्यो छाडिनँ ।

Leave a Reply