अबुधाबी, यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) लाई आफ्नो कर्मभूमि बनाउँदै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा यूएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारी अमेरिका प्रस्थान गरेका छन्।
उनी २०२५ वर्ल्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा अफिसियल रेफ्रीको रूपमा सहभागी हुन संयुक्त राज्य अमेरिका, क्यालिफोर्नियाको लस एन्जलस प्रस्थान गरेका हुन्।
सो प्रतियोगिता जुलाई १७ देखि १९ (बिहीबार–शनिवार) सम्म लस एन्जलसमा आयोजना हुँदैछ, जहाँ उनले अफिसियल रेफ्रीको महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
अफिसियल रेफ्री अधिकारीलाई अबुधाबीस्थित नेपाली दूतावासले दूतावासमा एक बिदाइ समारोह सहित राजदूत तेजबहादुर क्षेत्री तथा दूतावास परिवारले औपचारिक रूपमा बिदाइ गरेका हुन। त्यस्तै आबुधावीमा रहेको नेपाली समुदायले पनि उनलाई सम्मानका साथ बिदाइ गरेको हो।
तेक्वान्दो क्षेत्रमा लामो अनुभव संगालिसकेका अधिकारी गत मे महिनामा कोरियामा सम्पन्न २०२५ बैकसेओक विश्वविद्यालय राष्ट्रपति कप अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुम्से विधामा कास्य पदक जित्न सफल भएका थिए।
गत वर्ष उनले आफ्नो नेतृत्वमा दक्षिण कोरियामा सम्पन्न वर्ल्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा यूएईका नेपाली तेक्वान्दो खेलाडीहरूलाई सहभागी गराएका थिए।
उनले अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अमेरिकाको सिकागोबाट पुरा गरेका थिए भने २०२४ फेब्रुअरीमा रेनो, नेभाडामा सम्पन्न विश्व वरियताको जीटु यूएस खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गरेका थिए।
त्यस्तै, अधिकारीले दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमको पहलमा आयोजित दुबई फिटनेस च्यालेन्ज २०२४ मा पनि प्रशिक्षकको भूमिकामा सक्रिय रहँदै कराते, बक्सिङ लगायतका नेपाली प्रशिक्षक तथा खेलाडीहरूलाई समेत समेटेर अन्तर्राष्ट्रिय स्तरमा सहभागिता दिलाएका थिए।


Leave a Reply