काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नयाँ आर्थिक वर्षको प्रारम्भसँगै सरकारले बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीति कार्यान्वयनमा आएको छ ।
नयाँ आर्थिक वर्ष शुरुभएसंगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा गएको छ । अर्थ मन्त्रालयले मार्गदर्शन बनाएर आजदेखि बजेट कार्यान्वयनमा लगेको हो ।
अर्थमन्त्री पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन् । चालू आवको बजेटमा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना छ ।
यस बजेटका राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत जुटाइने भएको छ ।
नयाँ आर्थिक वर्षमा देशका केही ठूला पूर्वाधारहरूले पूर्णता पाउने भएका छन् । त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, आबुखैरेनी–पोखरा सडक विस्तार, नारायणगढ–बुटवल सडक खण्ड विस्तार, नागढुङ्गा सुरुङ मार्ग लगायत महत्त्वपूर्ण पूर्वाधारहरू यसै आर्थिक वर्षमा सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।
व्यापक विरोध भएको सुनका गहनाकाे विलासिता कर पनि आजदेखि लागू भएको छ । यससंगै नयाँ आर्थिक वर्ष २०८२र८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु भएको छ ।
नयाँ आवमा सरकारले करका दरहरू हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।
यस्तै, नयाँ आर्थिक वर्ष शुरुभएसंगै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले ल्याएको आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति आर्थिक वर्ष शुरुभएकै दिनदेखि कार्यान्वयनमा गएको हो ।
गभर्नर पौडेलले असार २७ गते मौद्रिक नीति सार्वजनिक गरेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरेका व्यवस्थाहरू कार्यान्वयन गर्ने बुधवार नै एकीकृत निर्देशन जारी गरिसकेको थिए ।

Leave a Reply