त्यो ऐतिहासिक क्षण
गणतन्त्रपछि २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा असार २६ गते राती १० बजेर ५० मिनटमा तारा सुब्बा धरानको मेयर हुनुभएको परिणाम घोषणा गरिएको थियो । मेयर घोषणा भएको ३ सय ७२ दिन २०७५ साउन १ गते काठमाडौंको ग्राण्डी अस्पतालका चिकित्सकहरूले उनै तारा सुब्बालाई मृत घोषणा गरिदिए ।
विकास प्रेमी नेताका रूपमा धराने जनताले माया र विश्वास गरेका तारा सुब्बालाई प्रतिद्वन्द्वी भन्दा ४ हजार ८ सय ५५ बढी २० हजार ९ सय ७५ लोकप्रिय मत दिएर विजयी गरेका थिए । फूलमाला, अबिर र नारा सहित बधाई दिएर मेयरको कुर्सीमा स्वागत गरेका धराने जनताले एक वर्षपछि उसै गरी फूलमाला लिएरै सडकमा लामबद्ध भएर आफ्ना प्रिय नेतालाई बिदाइ गरेका थिए ।
अधुरै छन्, सपनाहरू
२०७४ असार ११ र १२ गते धरानको नगरसभा थियो । मेयरको दौडधुप हुनेनै भयो, जेठ अन्तिम साता देखिनै मेयर सुब्बा अस्वस्थ हुनुहुन्थ्यो । पहिले नै मिर्गौला प्रत्यारोपण गर्नुभएका मेयर सुब्बाले आफ्नो स्वास्थ्य भन्दा नगर सभालाई प्राथमिकतामा दिनुभयो । स्वास्थ्य अवस्थाको वास्ता नगरी काम र तनावमा पर्नुभएको मेयर अहोरात्र तयारीमा जुट्नुभयो । नगरसभा सम्पन्न गरेर असार १४ गते राजधानी पुग्दा उपचारमा निकै ढिलाइ भइसकेको थियो । धरानको विकास र समृद्धिका लागि एक वर्षको योजना बनाएर उपचार गर्न काठमाडौं जानुभयो तर कहिल्यै नफर्किने गरी बिदा हुनुभयो ।
भौतिक पूर्वाधार, खानेपानी, पर्यटन, सांस्कृतिक सम्पदाहरूको संरक्षण, सकुम्बासीहरुको व्यवस्थापन र राहत, शिक्षा र स्वास्थ्य, केबलकार सञ्चालन र स्मार्टसिटी सहितको आधुनिक धरान निर्माण गर्ने वहाँका योजनाहरूलाई अलपत्र छाडे सदाका लागि बिदा हुनुभयो । जुन सपना र योजनाहरू अझैसम्म अधुरै छन् ।
महान् बिदाई
साउन १ गते मेयरको शवलाई हेलिकप्टर मार्फत ग्राण्डीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । २ गते बिहान ७ बजेदेखि साढे ९ बजेसम्म धरान १७ स्थित निवासमा राखियो । प्राय वहाँले लगाउनुहुने सर्ट, पाईनट, कोट, चस्मा र ढाका टोपी र टाईमा राखिएको थियो । जहाँ आफन्त, ईष्टमित्र तथा स्थानीय पार्टीका नेता कार्यकर्ताहरूले पुष्प गुच्छा अर्पण गरेका थिए ।
बिहान १० बजे धरान उपमहानगरपालिका प्राङ्गणमा राखिएको थियो जहाँ नगरपालिकाका कर्मचारी, २० वटै वडाका जनप्रतिनिधिहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयो । नगरपालिकाका सुरक्षाकर्मीहरूले राष्ट्रिय धुन सहित अन्तिम सलामी दिइयो ।

बिहान ११ बजे धरान १२ स्थित पब्लिक उच्च माविको प्राङ्गणमा राखिएको थियो । जहाँ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झन्डा ओढाएका थिए । कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले श्रद्धा अर्पण गरे । मन्त्रीहरू, सांसदहरू, पार्टी तथा जनसंगठनका नेताहरू पुष्प गुच्छा चढाएका थिए । देशभरिबाट आएका पालिकाका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिहरू र हजारौँको संख्यामा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । २ बजे धरान नगर परिक्रमा गराएर धरान १९ स्थित हरियाली सामुदायिक बनमा अन्त्येष्टि गरिएको थियो । धरान शोकमा डुब्यो । सुब्बाको महाप्रस्थान भएको सात वर्ष बितिसकेको छ वहाँका काम गर्ने शैली, कौशलता, क्षमता र प्रभावको अहिले पनि उतिकै अभाव भइरहेको छ ।
जीवनको उकाली ओराली:
वहाँ तेह्रथुमको खाम्लालुङ ८ स्थित एक किसान परिवारमा जन्मनुभयो । बुबा उजिरसिंह हुक्पा चोङ्बाङ र आमा फूलमाया हुक्पा चोङ्बाङका ४ छोरा र ३ छोरीमध्ये कान्छा छोराको रुपमा उहाँले धर्तीमा पाइला टेक्नु भएको थियो । जीवनको अनेकौँ उतारचढाव र संघर्षका खुटकिलाहरु पार गरेर मात्रै वहाँ चम्किलो तारा बन्नुभयो । २०४४ सालमा इन्दु राईसँग वैवाहिक जीवनमा बाँधिनु भएका सुब्बा दम्पतीका छोरा जुगल लिम्बूको जन्म भएको छ । सम्पन्न शाली पारिवारिक पृष्ठभूमिले वहाँको राजनैतिक जीवनलाई ठुलो साथ र सहयोगले वहाँलाई चम्किलो तारा बनाएको हो । राजनीतिक वृत्तमा उहाँलाई एक निष्ठावान्, बोल्ड निर्णय लिन सक्ने, प्रष्टवक्ता र कुशल नेताकोरुपमा पहिचान बनाएको हो ।
२०३७ सालमा अनेरास्ववियुको सदस्य बनेपछि राजनीतिमा होमिएका सुब्बा २०४७ सालमा आइपुग्दा युवा संघको नेताका रूपमा स्थापित भइसक्नुभएको थियो । धरान नगर कमिटी अध्यक्ष, सुनसरी जिल्ला संयोजक हुँदै दुई पटक जिल्ला अध्यक्ष, दुई पटक केन्द्रीय सदस्य हुनभयो । २०४८ सालमा नेकपा एमाले धरान नगर सदस्य बनेका सुब्बा सचिव हुँदै तीन कार्यकाल अध्यक्ष बनेर धरान उपमहानगरलाई कुशलतापूर्वक नेतृत्व प्रदान गर्नुभयो ।
२०५१ सालमा नेकपा एमालेको सरकारमा खेलकुद विकास समिति सुनसरीको सचिव, २०५४ सालको स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्य निर्वाचित हुँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य समेत हुनुभयो ।
भन्नु पर्ने विषयहरू बुट्टा नभरी सिधै राख्ने र आफूलाई चित्त नबुझेको कुरा स्पष्ट राख्न सक्ने सुब्बा हक्की, निडर, प्रष्टवक्ता र कुशल संगठकको रूपमा परिचय बनाउनु भएको थियो । अरूको चित्त बुझाउनका लागि हुनै नसक्ने कुरा पनि हुन्छ भन्ने स्वभाव उहाँंमा थिएन । समकक्षी मात्र होइन पार्टीका माथिल्ला तहका नेताहरू पनि सुब्बासँग हच्किन्थे । लामो अनुभव, दृढ, निर्णय क्षमतामा तीक्ष्ण र कार्यान्वयनमा दृढता उहाँंको स्वभाव थियो ।
उमेर राजनीतिक चेत
सुब्बाले ३ कक्षासम्म खाम्लालुङको कालिका प्राविमा अध्ययन गर्नुभएको थियो । त्यसपछि भने उहाँ झापाको गोलधापमा कक्षा ४ अध्ययन गर्न झर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन चलिरहेको थियो । १३ वर्षकै उमेरमा उहाँ पनि अन्य विद्यार्थीहरूसँगै जुलुसमा सहभागी हुनुभयो । अध्ययनको सिलसिलामा उहाँ २०३७ सालमा धरान आउनु भयो । शिक्षा निकेतन माविमा भर्ना भएर अध्ययन थाल्नुभयो र २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । मावि तहमा शुल्क अत्यधिक वृद्धि भएपछि त्यसकोविरुद्धमा विद्यार्थीहरूले आन्दोलन गरेका थिए । त्यस आन्दोलनमा सुब्बा पनि सहभागी हुनुभयो, र भाषण नै गर्नुभएको थियो । २०४० सालको त्यस घटना हुँदा उहाँ कक्षा ८ मा अध्ययन गर्दैहुनुहुन्थ्यो । त्यसबेला नै उहाँ अनेरास्ववियुको सदस्य हुँदै नगर कमिटी सदस्य बन्नुभयो । अध्ययनको लागि धरान आउनुभएका सुब्बाले धरानलाई आफ्नो कर्मथलो मात्र बनाउनुभएन, वहाँ मेयर नै हुनुभयो ।
पारदर्शिता
नेता भ्रष्ट हुन्छन् भन्ने धारणा जनतामा छ तर सुब्बा धरानमा पारदर्शी नेताका रूपमा चिनिनुहुन्छ । लामो समय पार्टी प्रमुख भएर, जनप्रतिनिधि भएर कामको अनुभव भएका सुब्बालाई आर्थिक अपचलन र अनियमिततामा कसैले औँल्याउन सकेनन् । बरु फरक विचारकाले पनि साथ दिए तर कसैले कुरा काट्न पाएनन् ।
सपना र पक्षधरता :
धरानलाई जनसहभागिताको नमुना शहर भनेर नेपालमै चिनाउने काम नेकपा (एमाले) ले गरेको हो । सफा र विकासमा जनसहभागिता रहेको धरानलाई व्यवस्थित बनाउन सुकुम्बासीहरुलाई घर नम्बर दिने योजना मेयर तारा सुब्बाकै थियो । मेयर निर्वाचित भए लगतै तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माण, खानेपानीको दीर्घकालीन समाधानका लागि काम थालिसक्नु भएको थियो ।
धरानलाई स्मार्ट सिटी बनाउने, धरानका चारवटै प्रवेशद्वारमा सांस्कृतिक पहिचान सहितको प्रवेशद्वार बनाउने, शान्तिस्तुपा निर्माण गर्ने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, केबलकार सञ्चालन गर्ने, नगर विकास लगानी बोर्ड निर्माण गर्ने सपना सुब्बाको थियो । शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष योजना थियो । विशेष गरी भूमिहिन सुकुम्बासी, गरिखाने श्रमजीवी र मजदुरका बीच वहाँ छपक्कै भिज्नु भएको थियो । तारा सुब्बा जति जनस्तरमा लोकप्रिय नेता विरलै भेटिन्छ ।
अटल रहेको स्वाभिमान:
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले समयमै खानपिन तथा औषधी नखानु, उपचारमा समेत ढिलाइ हुनु वहाँको अर्लि मृत्युका कारणहरू थिए । उपचारमा ढिलाहुनुमा कतिपय प्रसंगहरुले त्यो बेला वहाँमा चरम आर्थिक अभाव रहेको बताइन्छ । मेयरले सरकारी सुविधाबाटै खर्च व्यवस्थापन गर्न सक्नुहुन्थ्यो तर उहांको स्वाभिमानी र स्वभावले सेवा सुविधा लिन अनिच्छा प्रकट गरेको देखिन्छ । त्यसको पछाडि केही मिडिया र मिडियाकर्मीले उहांलाई फलो गरिरहेकाले पनि उहांले त्यसो गर्नु भएन । अन्ततः स्वाभिमान नडगमगाई मृत्यु रोज्नु भयो ।
धरान, एमालेको योगदान र भविष्य
धरानलाई जनसहभागिताको नमुना शहर भनेर नेपालमै चिनाउने काम नेकपा एमालेले गरेको हो । धरानमा २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेको हो । एमालेको नेतृत्वमा नगरपालिकाले ६०/४० को जनसहभागिताको नीति लियो, र मृत शहरबाट समृद्ध शहरको बाटोमा डोर्यायो । एमाले नेतृत्वकै मनोज मेयाङ्बो मेयर भएको समयमा धरानमा घण्टाघर बन्यो । भानुचौकको बसपार्कको विकल्प तीनकुने सुन्दर बस्ती विकास आयोजना धरान ८ मा बन्यो । एमालेकै नेतृत्वमा खानेपानीको दीर्घकालीन समाधानको लागि समिति नै बनाएर अध्ययन गरेको थियो र हालको परियोजना ल्याउन पनि निर्णायक भूमिका खेल्यो ।
धरानलाई कस्तो बनाउने ? दीर्घकालीन भिजन जरुरी छ त्यसका लागि नेकपा (एमाले) को अभाव हुन्छ । यतिबेला धरानले भोगिरहेको दुर्दशाको कारण तारा सुब्बा जस्ता जनप्रिय नेताको असामयिक अवसान नै हो । यो समय जति जति धरान बेशरम नाङ्गिरहन्छ त्यति त्यति धराने जनताले प्रिय नेता तारा सुब्बा सम्झिरहन्छन् ।
प्रिय कमरेड तारा सुब्बाको सातौँ स्मृति दिवसका दिन वहाँलाई श्रद्धा व्यक्त गर्दछु ।
(लेखक राई नेकपा (एमाले) कोशी प्रदेश सदस्य हुन्)

Leave a Reply