चितवनमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापक डाक्टर शारदा थपलिया उपकुलपति नियुक्त भएको ६ महिना पूरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापना हुँदा योजना निर्देशक त्यसपछि डीन, कार्यवाहक उपकुलपति र राजिष्ट्रार हुँदै कुलपतिसम्म आइपुगेकी प्राध्यापक डा. शारदा थपलियासँग नेपाल प्रेसले विश्वविद्यालयको शैक्षिक सुधारसँग सम्बन्धित कुराकानी गरेको छ । शैक्षिक सत्रको आधाबढी समय हड्ताल बेहोर्दै आएको कृषि तथा वन विज्ञान विश्वविद्यालय सुधारको लागि उपकुलपति प्रा. डा. थपलियाले बनाएको योजनासहितका विषयमा गरिएको कुराकानी नेपाल टकमा –
– कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति हुनुभएको ६ महिना पनि पूरा भएको छ । यो समयको अनुभव कस्तो रहेको छ ?
म यही विश्वविद्यालयको विभिन्न पदमा काम गरिसकेकोले होला त्यस्तो छुट्टै खालको अनुभव भन्ने चाहिँ भएको छैन । म यही विश्वविद्यालयको स्थापना कालको योजना निर्देशक, त्यसपछि डीन अनि कार्यवाहक उपकुलपति भएर त्यसपछि रजिष्ट्रार हुँदै अहिले उपकुलपति भएको हुँ । मैले यहाँ हुने गतिविधि, यहाँका काम र यहाँका काममा संलग्न हुने सरोकारवालाहरू सबैलाई मैले राम्ररी चिनेको कारणले मलाई उपकुलपति भएपछि विशेष खालको अनुभव भन्ने चाहिँ छैन ।
– भूमिकाको हिसाबले यसअघि दोस्रो वरीयतामा हुनुहुन्थ्यो । अब कार्यकारी तहमा हुनुहुन्छ । एकजना महिला उपकुलपति हुँदाखेरी स्वीकार अवस्थामा फरक अनुभूति गर्नुपर्ने अवस्था आएको छ ?
मलाई विभिन्न ठाउँमा यो कुरा बारम्बार प्रश्न गर्ने गरिन्छ । जस्तो म डीन हुँदा पनि सोधिएको थियो । रजिष्ट्रार हुँदा पनि प्रशासनिक र आर्थिक रूपमा फष्ट म्यान जस्तै भएर काम गर्ने हो । कतिपय कुराहरू नीतिगत हिसाबले उपकुलपतिसँग समन्वय गर्नुपर्छ । कार्यकारी परिषद्बाट कतिकुरा निर्णय हुने छन् । तर, कार्यान्वयको पहिलो चरणमा हुनेगरि काम गरिआएको हुनाले हुनसक्छ मैले चाहिँ स्वीकार गर्न समस्या भएको अनुभूती भएके छैन । झन् स्वीकार गर्नुभएको हो कि जस्तो अनुभूति भएको छ ।
– रामपुर क्याम्पसको भन्नासाथ सबैभन्दा धेरै आन्दोलन हुने, ताला लाग्ने राजनीतिक लफडा हुने बुझ्दै, देख्दै आएका छन्, नागरिकले । तपाईँको कार्यकालमा यी कुराहरूमा बदलाव आउने केही योजना छ ?
यो अवस्था हटाउन बहुत ठूलो मेहनत चाहिन्छ । र, टीम वर्कको आवश्यकता पर्छ । म ६ महिना पूर्णकालीन उपकुलपति (भिसी) भएँ, तीन महिना कार्यवाहक भूमिकामा गरी ९ महिना यहि पदमा बसेर भूमिका निभाएँ । यो समयमा त्यो खालको गतिविधिहरू भएको छैन । र, मैले आफ्नो पदभार सम्हाल्दै गर्दा कसैलाई म पाखा लगाउँछु, भित्तामा पुर्याउँछु, त्यसलाई देखाइदिन्छु जस्ता शब्दहरू अबदेखि यो विश्वविद्यालयमा बोलिने छैन भनेको थिएँ । कसैले पनि काखा वा पाखा परेँ भनेर अनुभूति गर्नुपर्ने छैन । भनेको थिएँ । त्यसका लागि हामीले कामको सुरूआत नै त्यसैगरी गरेका छौँ । सुशासन सबैभन्दा महत्वपूर्ण विषय हो । त्यसका लागि हामीबाट नै सुरूआत गरौँ भनेर मैले र रजिष्ट्रारज्यूले पटक-पटक छलफल गरेका छौँ । नयाँ नियम हामीबाट थालनी हुनुपर्छ भनेर विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर काम काम थालेका छौँ ।
पठनपाठन सुधार गर्नुपर्ने विषय भएकोले हामीले एउटा विषयको ३० घण्टा लेक्चर दिनुपर्नेमा १५/२० लेक्चरमा नै सकाएको भन्ने गुनासो सम्बोधन गर्न हामीले शिक्षक विद्यार्थी सम्पर्क समय बढाउँदै लैजानुपर्छ भनेर त्यसमा काम गरेका छौँ । विद्यार्थीलाई पठनपाठनमा केन्द्रित गराउने अभ्यास गरिरहेका छौँ । शिक्षक र कर्मचारीहरूसँग पनि यस विषयमा छलफल गराएर अगाडि बढाइरहेका छौँ ।
– विद्यार्थी पहिले फुर्सदमा हुने भएकोले बढी आन्दोलन गर्थे भन्न खोज्नुभएको हो ?
हजुर ! हामीले अहिले विद्यार्थीलाई इन्गेज गराएका छौँ । जस्तो अहिले हामीले विश्वविद्यालयमा इन्कुभेसन सेन्टर जसले विद्यार्थीलाई पढ्दैदेखि व्यवासायी बनाउनका लागि भनेर कार्यक्रम अघि बढाएका छौँ । जसमा विद्यार्थी पढ्दा पढ्दै विभिन्न चरणमा छनौट हुन आइडिया ल्याए । त्यसपछि प्रपोजल बनाए, त्यसपछि हामीले मूल्याङ्कन गर्यौँ, त्यहाँबाट छानिएका विद्यार्थीलाई फेरि इन्टेन्सिभ तालिम दियौँ । त्यसपछि फेरि उनीहरूले परिस्कृत प्रस्तावना ल्याए । त्यसपछि छानेर उद्यमशीलतामा लगाएका छौँ ।
२० समूहमा एक सयजना विद्यार्थीको प्रपोजल लिएका थियौँ । त्यसबाट पनि छानेर ८ समूहका विद्यार्थीलाई हामीले पाँच लाख रूपैयाँ बराबरको लगानीका लागि पैसा दिएका छौँ । उनीहरूले त्यो पैसा व्यवसाय स्थापित गरेपछि फिर्ता गर्छन् । पठनपाठनपछि पनि त्यही कामलाई अघि बढाउन सक्छन् । हामीले थोरै छनौट गर्दा अरु विद्यार्थीलाई पनि आवेदन दिने हौसला बढेको छ । त्यसका साथै हामीले अरु क्रियाकलापहरू पनि गराएका छौँ ।
हामी परीक्षा समयमा गराउन पनि मेहनत गरिरहेका छौँ । उनीहरूसँग हामी एकदम नजिक छौँ । उपकुलपति र शैक्षिक कार्यक्रम प्रमुख भएकोले उनीहरूसँग अन्तर्वार्ता पनि लिने गरेको छु । जसले गर्दा पढाइमा पनि केन्द्रित भएको, सुधार भएको कुरा विद्यार्थीहरूले नै भन्न थालेका छन् । यो बीचमा आन्दोलन नहुनुको पछाडिको कारण यो पनि हो । अनि अर्को कुरा अलिकति असमझदारी आउने बित्तिकै हामी छलफलमा जान्छौँ । त्यसैले पनि शिक्षक कर्मचारी, विद्यार्थीहरू पनि त्यस्तो तिक्तता लिएर आउनुभएको छैन । अर्को कुरा जति आन्दोलन गरेपनि विद्यार्थीलाई नै घाटा हुने हो । हामीले बन्द हड्तालले शैक्षिक क्यालेण्डर लागू गराउन सक्दैनौँ । त्यसलै पनि समयमा समेत घाटा लाग्छ । अहिले यो विषय विद्यार्थीले पनि बुझ्न थाल्नुभएको छ । र, अवरोध घट्न थालेको छ ।
– अघिल्लो वर्षभन्दा यो वर्ष आउने संघीय सरकारको पूँजीगत बजेट एक तिहाइमा झरेको देखिन्छ । तपाइँहरूको कार्यसक्षमता नभएर सरकारले घटायो कि, पूँजीगत बजेट खर्च गर्न आवश्यक कार्यक्रम नै नभएर हो ?
हाम्रो सञ्चालनको लागि आवश्यक बजेट घटेको होइन । पूँजीगत बजेट घटेको हो । पूँजीगतमा आङ्गिक कलेजका लागि भनेर यसअगाडि बजेट आएको हो । अहिले आङ्गिक कलेजहरूमा शैक्षिक भवन, प्रशासनिक भवन करिब करिब बनाइसकेका छौँ । आङ्गिक कलेजका विद्यार्थी संख्या भएको कलेजको मर्जरमा पनि जानुपर्छ भनिराख्नुभएको छ । अर्कोतर्फ नेपाल सरकारकै बजेट कम छ त्यसैले पनि विश्वविद्यालय अनुदान रकम पनि कम छ ।

अघिल्ला वर्षहरूमा आएका बजेटले निर्माण सुरू गरेका भवनलाई पुग्ने बजेट छ, हामीले नै भनेका थियौँ । अहिले बजेट अभाव भएकाले नयाँ निर्माणमा अगाडि नबढ्नुस् भन्ने सुझाव पनि हामीलाई आयो । सञ्चालनमा छँदैन । त्यसमा थोरै हामीले बुझाउन नसकेको जस्तो चाहिँ अनुभव भइरहेको छ । जस्तो बजेट बनाउने बेलामा हामी आफ्नै फिल्डमा केन्द्रित भयौँ । हाम्रो बजेट राख्नुमा कसले टेबल ठटाउन सक्छ भन्ने पनि अर्थ लाग्छ । त्यसैले पनि हामीलाई अलि कम बजेट आएको जस्तो लाग्छ ।
– विश्वविद्यालयको आधार भनेकै विद्यार्थी हुन् । पहिले पहिले कृषि, भेटेनरी, वन विज्ञान लगायतका यहाँबाट पढाइ हुने विषयमा प्रवेश परीक्षा दिने विद्यार्थीको ठूलो संख्या हुन्थ्यो । पछिल्ला वर्ष यहाँ विद्यार्थीको संख्या पनि घट्दै गएका देखिन्छ नि ?
विद्यार्थी घटेको हाम्रो विश्वविद्यालयमा मात्रै होइन । यहाँले हेर्नुभयो भने इन्जिनियरिङमा कोटा नभरिएको अवस्था छ । त्रिभूवन विश्वविद्यालयले मर्ज गरेको भन्ने समाचारहरू पनि आइरहेको देखिन्छ । कृषिमा मात्रै केन्द्रित हुने हो भने हाम्रो देशमा पहिला रामपुरमा मात्रै कृषि पढाइ हुन्थ्यो । अहिले कम्तीमा पनि ६/७ विश्वविद्यालयले कृषि पनि पठनपाठन गराइरहेका छन् । हामी कृषिमात्रै पढाउँछौँ । अन्य विश्वविद्यालयले अरु विषयसँगै कृषि पनि पढाउनुहुन्छ । त्यस हिसाबले हेर्दा कृषिको शिक्षा दिने निकाय बढेको कारण संख्या कम भएको हुनसक्छ ।
त्यसको अलवा अहिले कक्षा १२ पास गर्ने बित्तिकै अघिल्लो वर्ष नो अब्जेक्सन लेटर लिएर १ लाख १५ हजार विद्यार्थी बाहिर पढ्न गए भन्ने तथ्याङ्क विश्वविद्यालय अनुदान आयोगले नै प्रस्तुत गर्नुभएको थियो । भनेपछि कक्षा १२ पास भएर विश्वविद्यालय भर्ना हुन आउनुपर्ने विद्यार्थीको जमात बाहिर गइरहेको अवस्था छ । त्यो हिसाबले पनि विद्यार्थीको संख्या घटेको देखिन्छ ।
– विश्वविद्यालयले विद्यार्थीलाई कस्ता अवसरसँग जोड्न नसकेर आफ्नै देशका यतिराम्रा विश्वविद्यालय छोडेर विद्यार्थीहरू देश बाहिर गइरहेका होलान् ?
यो जटिल अवस्था हो । विकसित देशहरूमा विश्वविद्यालय भर्ना हुन जाने विद्यार्थीले पठनपाठन सँगसँगै पढ्ने समयमा आवश्यक गर्ने न्यूनतम खर्च जुटाउन काम गरेर उनीहरूले खर्च धानिरहेको अवस्था छ । हामीकहाँ त्यो अवस्था छैन । अर्को नम्बरमा समाजमा के धारणा व्याप्त भएको छ भने नेपालमा बस्यो भने अभिभावकले बाहिर पठाउन सकिन भनेर हीनताबोध गर्ने अवस्था पनि छ । जो विद्यार्थी छ उसलाई सानैदेखि बाहिर जाने खालको मनोविज्ञान भरिदिने विषय हाम्रालागि चुनौती बनेर आएको छ । यो अवस्था हामीले चिर्नुपर्छ ।
नेपाल सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालयमा रहेका हामीले विकिसत देशको झैँ शिक्षा, सीप र समय उपलब्ध गराउने होकि, विश्वविद्यालयकै काममा सहभागी गराउने हो कि भनेर योजना बनाउन जरुरी छ । मैले आफ्नो कार्यकाल सुरू भएदेखि नै कसरी विश्वविद्यालयमा भएका काममा लगाउन सकिन्छ भनेर निर्देशिका बनाउनको लागि मैले एउटा समिति नै बनाइसकेको छु । त्यो निर्देशिका अनुरूप विद्यार्थीको तह वा योग्यता हेरेर काम दिने । जस्तो पिएचडी, मास्टर्स गरेका विद्यार्थी र स्नातक तहका विद्यार्थीले गर्न सक्ने तहका काम गर्न सक्छन् । हामीले त्यसको लागि एप्लिकेशन बनाएर पार्टटाइम काम गर्न सक्ने विद्यार्थीको डाटा संकलन गरेका छौँ । जसबाट काम सानो ठूलो हुँदैन भनेर उनीहरूलाई सिकाउने अवस्था पनि हामीले तयार गर्नुपर्ने छ ।
– तपाईँको कार्यकालमा योसँगै अरु के-के सुधार्नुहुन्छ ?
मैले सुधार नगरी नहुने कुरा शैक्षिक पात्रो हो । विश्वद्यालयमा हामीले शैक्षिक संस्थाको मुटुको रूपमा रहेको शैक्षिक क्यालेण्डर लागु गर्न सकेका छैनौँ । मेरो पहिलो योजना शैक्षिक क्यालेण्डर मेन्टेन गर्ने हो । त्यसैमा समयमा पठनपाठन कसरी गर्ने भन्ने कुरा आइहाल्छ । सँगसँगै मूल्यांकन र नतिजाको पाटो परीक्षा भयो । यसमा परीक्षा कसरी गर्ने र परीक्षापछि नतिजा कसरी समयमा प्रकाशन गर्ने भन्ने काममा हामी मूल रूपमा केन्द्रित भएका छौँ ।
यो समयसँगैको कुरा भयो भने गुणात्मक फड्को कसरी मार्ने ? हामीले विद्यार्थीलाई बढी भन्दा बढी सैद्धान्तिक ज्ञानसँगै सीप कसरी सिकाउने भन्ने काममा हामी घोत्लिरहेका छौँ । योजना बनाइरहेका छौँ । विद्यार्थीलाई नै जनशक्तिको रूपमा जोड्ने प्रयत्न गरिरहेका छौँ ।
अर्को हाम्रो योजना अनुसन्धान हो । विकसित देशमा अनुसन्धान भनेको विश्वविद्यालयले नै गर्ने हो भन्ने स्थापित भइसकेको छ । जब अनुसन्धानमा विद्यार्थी प्रयोग हुन्छन् तब अनुसन्धान सस्तो पनि हुनसक्छ । उसलाई डिग्रीको लागि अनुसन्धान गर्छ । विद्यार्थीले राम्रोसँग काम गरेको हुन्छ । त्यसैले हामीले हाम्रा शिक्षक विद्यार्थीलाई अनुसन्धानमा केन्द्रित गर्ने गरि तयारी गरिरहेका छौँ ।
– तपाइँहरू कृषि पढाइरहनुभएको छ, यसैमा अनुसन्धान गरिरहनुभएको छ । तर, लगातार वातावरणीय परिवर्तनका कारण किसानहरूले समयमा बाली लगाउन नपाउने, समय बदलिँदै जाने अवस्था आएको छ । यस्तो अवस्थामा अनुसन्धानमार्फत किसानलाई मार्गनिर्देश गर्ने दायित्व पनि होला नि ?
एकदमै हो । त्यसमा हामी काम गरिरहेका छौँ । नयाँ प्रजाति निकाल्न समय लाग्छ । हामीले केही वर्षमा नै मौसममा आएको परिवर्तनको अनुभव गरिरहेका छौँ । त्यही तहमा अनुसन्धानले सम्बोधन गर्न नसकेको कुरा यथार्थ हो । तर, हामी यसका काम गरिरहेका छौँ । हामीले बिउमा, लगाउने समयलगायतका विषयमा किसानहरूलाई तालिम दिने, अनुुसन्धानमा पनि लागिरहेका छौँ ।
हामीले तेस्रो काम प्रसारमा गर्नुपर्ने हो । तर, हामी आफै प्रसारमा सन्तुष्ट छैनौँ । यद्यपि हामीले काम चाहिँ गरिरहेका छौँ । खेतीपातीको तरिका, बिऊबीजनमा तालिम दिने, पशु स्वास्थ्य क्याम्प गर्ने लगायतका काम पनि हामीले गरिरहेका छौँ । हामीले अडियो, भिडियो ल्याब तयार गरेर विज्ञहरू ल्याएर किसानसम्म सूचना पुर्याउन मिडियाको प्रयोग पनि हामीले गरिरहेका छौँ । पठनपाठन, अनुसन्धान र प्रसारमा लागिरहेका छौँ ।
विद्यार्थी घटेको हाम्रो विश्वविद्यालयमा मात्रै होइन । यहाँले हेर्नुभयो भने इन्जिनियरिङमा कोटा नभरिएको अवस्था छ । त्रिभूवन विश्वविद्यालयले मर्ज गरेको भन्ने समाचारहरू पनि आइरहेको देखिन्छ । कृषिमा मात्रै केन्द्रित हुने हो भने हाम्रो देशमा पहिला रामपुरमा मात्रै कृषि पढाइ हुन्थ्यो ।
– यो विश्वविद्यालयको कुर्सी खरिददेखि दराजसम्म पनि अनियमितताका खबरहरू आइरहन्छन् । पारदर्शीता र सुशासनमा सुधारको योजना के छ ?
आर्थिक पारदर्शीताका लागि म रजिष्ट्रार हुँदादेखि नै निरन्तर खटेर एउटा सफ्टवेयर बनाएका छौँ । त्यसमा रिअल टाइम डाटा इन्ट्री हुन्छ । यसमा आङ्गिक लेजदेखि सबै संकायहरूमा सफ्टवेयर प्रयोग गरेका छौँ । यो टीम आएपछि नियमकानूनले जे भनेको छ त्यसलाई हुबहु प्रयोग गर्न हामी लागिपरेका छौँ । यतिसम्म कि मैले चढेको गाडी यसअघि रातो नम्बर प्लेटको थियो । म आएपछि त्यो गाडीको नम्बर सेतोमा परिवर्तन गरियो । सरकारी निकायको एक पैसा पनि आफ्नो काममा खर्च गर्नु हुँदैन भन्नेमा हामी सचेत छौँ ।
म डीन हुँदादेखि नै आफ्नो कार्यक्षेत्रको आर्थिक हिसाबकिताब पारदर्शी गरेँ । मैले राजिष्टार भएर लेखा चलाउँदा पनि ४ वर्षसम्म शून्य बेरुजु भयो । हामीले आर्थिकसँगै प्रशासनिक पारदर्शीताको काममा पनि काम गरिरहेका छौँ । अन्य विषयमा पनि हामी नियम अनुसार काम गर्न लागेका छौँ । मलाई लाग्छ यो आर्थिक वर्षबाट नै द्रुत गतिमा अगाडि बढ्ने योजना बनाएका छौँ । यो काममा मेरो टीमले मलाई सहयोग गरिरहनुभएको छ ।

Leave a Reply