काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई चुक्ता पुँजी कायम गर्न समय थप गरेको छ । सेबोनले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैठौँ संशोधन) नियमावली २०८२ जारी गर्दै पुँजी वृद्धिको समय २०८२ चैत्र मसान्तसम्मलाई तोकेको हो ।
सेबोनले दिएको तीन वर्षको समयसीमा यही असार मसान्तसम्म मात्रै थियो । सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । सेबोनले चुक्ता पुँजी पुर्याउन दिएको समय सीमा सकिएपनि तीन दर्जन बढी ब्रोकर कम्पनीले तोकिएको चुक्ता पुँजी पूरा गर्न सकेका छैनन् ।
सेबोनले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्नेहरूको हकमा ६० करोड र स्टक डिलरको हकमा १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न भनेको थियो । तोकिएको चुक्ता पुँजी पुर्याउनका लागि सेबोनले समय थप गरेको हो ।
यस्तै सेबोनले नियमावली संशोधन गर्दै ब्रोकर कम्पनीहरूलाई साधारण शेयर (आईपीओ)मा निष्काशन गर्न सक्ने व्यवस्था समेत गरिदिएको छ । धितोपत्रको सार्वजनिक निष्काशन गर्न अनुमति दिनसक्ने व्यवस्था गर्दै नियमावलीको ११ ‘क’मा भनिएको छ, ‘बोर्डले अनुमति पत्र प्राप्त धितोपत्र व्यापारीलाई धितोपत्रको सार्वजनिक निष्काशन गर्न अनुमति दिन सक्नेछ ।’
वित्तीय संस्थाले धितोपत्र व्यवसाय गर्न सहायक कम्पनी स्थापना गरेमा त्यस्तो सहायक कम्पनीमा बैंक तथा वित्तीय संस्थाको कर्मचारीलाई सञ्चालक नियुक्ति गर्न बाधा नपर्ने व्यवस्था समेत संशोधित नियमावलीले गरेको छ ।
यो पनि– ब्रोकर कम्पनीको चुक्ता पुँजी बढाउने समय थप्ने सेबोनको तयारी
मर्जरको बहस ब्रोकरतिर, तीन दर्जन बढीको पुगेको छैन चुक्ता पूँजी, निर्देशिका ल्याउँदै सेबोन

Leave a Reply