एनआरएन जापानमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी : नाराभन्दा व्यवहारमा जोड

काठमाडौं । जापानमा १८ वर्षदेखि बसोबास गर्दै आएका सिद्धार्थ श्रेष्ठले २ लाख ५० हजार नेपाली सदस्यहरूको साझा संस्था एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

गत साता टोकियोमा उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरे । सदस्य, प्रवक्ता, महासचिव तथा उपाध्यक्ष हुँदै अध्यक्ष पदमा पुग्ने क्रमिक यात्रामा रहेका श्रेष्ठका ठूला ब्यानर र भयंकर नाराहरू भने छैनन् । उनको ध्यान बिद्यार्थीहरूलाई सहजता, नेपाल जाने हवाई टिकटको मूल्य घटाउने पहल, तथा जापानी भाषा सिकाइमा नेपालीहरूको सहभागिता बढाई रोजगारी र जीवनयापनमा सहजता ल्याउने जस्ता व्यवहारिक मुद्दामा केन्द्रित छ ।

साथै, ‘नेपाल हाउस’ निर्माणप्रति पनि उनको विशेष चासो देखिएको छ । घोषणापत्र सार्वजनिक गर्दै उनले भने, ‘ठूला नाराहरूले नेपाली समुदायका समस्याहरू समाधान हुँदैनन् । तत्कालीन आवश्यकता र यथार्थलाई बुझेर मैले यो घोषणापत्र तयार पारेको हुँ ।’

सिद्धार्थ श्रेष्ठ जापानस्थित नेपाली समुदायमा एक साहसी र स्पष्ट वक्ताको रूपमा परिचित छन् । आपतमा परेकाहरूको सहयोगमा अग्रसर देखिँदै आएका उनले झण्डै ६ वर्षअघि जापानमा भएको आर्थिक अनियमितता सार्वजनिक गर्दै आफूलाई पारदर्शिता र जवाफदेहिताको पक्षधरको रूपमा स्थापित गरेका थिए ।

उनको सक्रियता र पारदर्शिताप्रतिको प्रतिबद्धताले जापानमा सुधार आएको धेरैको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *