रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ प्रेमनगरस्थित एक घरभित्रको रहस्य तब खुल्यो, जब असार २२ गते दिउँसो घरधनी दिलराम अर्याललाई आफ्नै भान्साकोठामा सर्पले डस्यो ।
साँझ साढे चार बजेतिर चिया पकाउँदै गर्दा उनले खुट्टामा तिखो चस्स महसुस गरे। एकछिनमै शरीर असहज भयो। तत्काल श्रीमती सरस्वती अर्याल र छिमेकीको सहयोगमा उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइयो।
सर्पको विषका कारण गम्भीर खतरा थियो, तर समयमै उपचार पाएपछि ज्यान जोगियो। यही डसाइसँगै सुरु भयो- सर्पको रहस्यमय बासस्थान पत्ता लगाउने र उद्धार गर्ने रोमाञ्चक र कठिन अभियान ।
साँझ सात बजेतिर सर्प उद्धारकर्ता विशाल पाण्डेसम्म खबर पुग्यो। उनी हतार–हतार घटनास्थल पुगे। ढोका अगाडि नै एक बेबी कोब्रा देखियो। ‘त्यहीँबाट सुरु भयो मेरो पाँच दिन लामो अभियान’, विशालले भने ।
घरभित्र पसेर निरीक्षण गर्दा भान्साको गल्लीमा थप तीन सर्प र किचनमा अर्को एउटा सलबलाइरहेको देखियो। पहिलो दिन मात्रै पाँच वटा सर्पको उद्धार भयो। उनको आशंका बलियो हुँदै गयो- ‘किचनको र्याकमुनि गुँड छ ।’
अर्याल उपचारपछि दोस्रो दिन घर फर्किए। तर घरमा सर्पको डर मडारिइरहेको थियो। विशाललाई पुनः बोलाइयो। खोजतलासका क्रममा केही देखिएन। तर किचनको र्याक नफोरेसम्म शंका हट्दैनथ्यो। विशाल आफैँ पनि सर्पविज्ञ हुन्, सँगसँगै जापानी भाषाका शिक्षक। उनी भन्छन्, ‘पढाउन छाडेर म सोही घर पुगेँ। मिस्त्री बोलाएर दिउँसो २ बजे आउने बाचा गरेँ।’

तर उनी गएको केहीबेरमै र्याकबाट थप सर्प निस्किए। घरधनीले तुरुन्तै फोन गरे। मिस्त्री आउन ढिलाइ भएपछि घरधनीको अनुमतिमा विशालले आफैँ र्याक भत्काउन थाले। काठको पुरानो र कमजोर संरचना थियो। तह फोर्दै जाँदा माउ कोब्रा देखा पर्यो।
माउ देखिएपछि उनी अत्तालिए। तुरुन्तै आफ्ना बुबा खिमलाल पाण्डे, भाइ विश्वास पाण्डे र अन्य उद्धारकर्ता साथीहरू- सागर पाण्डे, नवीन पौडेल, युवराज तिवारीलाई खबर गरे। मिस्त्री आइपुगेपछि भुइँ भत्काउने काम सुरु भयो। तर घर पुरानो भएकाले जमिन भासिन थाल्यो। माउ सर्प सुरक्षित सुरुङ प्रणालीमा हरायो। फिनेल पानी हालेर बाहिर निकाल्ने प्रयास गरियो– असफल भयो। यद्यपि त्यही रात ५–६ घण्टाको अन्तरालमा थप १२ वटा बच्चा कोब्राको उद्धार गरियो ।
भोलिपल्ट विहान ८ बजे फेरि विशाल पुगे। पुनः निरीक्षण गर्दा झिंगाझैँ सर्प सलबलाइरहेका थिए। सो दिन थप ५ वटा बेबी कोब्राको उद्धार भयो। उद्धार गरिएका सर्पहरूलाई बोतलमा सुरक्षित रूपमा राखियो र जंगलमा छोडियो। अबसम्म गनिसक्दा उद्धार गरिएको बेबी कोब्राको संख्या २३ पुगेको थियो। तर माउ अझै हराइरहेको थियो ।
तीन दिनसम्म निगरानी गरियो। थप सर्प देखिएनन्। माउ बाहिर निस्कने कुनै सम्भावना रहेन। भुइँ झनै भासिँदै गएको थियो। घर नै जोखिममा थियो। त्यसपछि सर्पको जीवन र मानवीय सुरक्षाबीच द्वन्द्व खडा भयो ।
‘त्यो हाम्रो लागि धर्म–संकटको क्षण थियो’, विशालले भावुक हुँदै सुनाए, ‘जुन सर्प बचाउनुपर्छ भन्थ्यौँ, त्यहीँ सिल गर्नुपर्यो।’ घरधनीको सहमतिमा मिस्त्री बोलाइयो। गुँड रहेको भागमा ढलान गरियो। सर्प उद्धारकर्ताका लागि त्यो हार थियो, तर सुरक्षित निर्णय पनि ।
बुबाको प्रेरणाबाटै सिकेका विशाल
बिशालका बुवा खिमानन्द पाण्डे पनि सर्प उद्दारकर्ता हुन् । लामो समयदेखि रुपन्देहीको शंकरनगरस्थित बन विहारमा रहेका उनले आफूले सिकेको सीप छोरालाई पनि सिकाए । बनबाटिकामा पनि सर्पहरु राखिएकाले विशालले त्यहीँ देखेर सिकेको र बिस्तारै तालिमहरु पनि लिएको बताउँछन् ।
‘बुबाले पनि यही काम गर्नुहुन्थ्यो, त्यही देखेर सिकेको हो, फोन आएपछि जाने हो, हामीले कुनै मूल्य तोकेर माग्दैनौं आफै स्थानीयले दिएको रकम लिने हो, रिस्कको काम हो’ उनले भने ।
यो घरको इतिहास पनि अनौठो रह्यो। १३ वर्षअघि विशालका बुबा खिमलाल पाण्डेले पनि यहीँ घरबाट ११ वटा बेबी कोब्राको उद्धार गरेका रहेछन् । ‘बुबाले फेला पारेको त्यो घटना घरभित्रै भित्तामा लेखिएको जस्तो थियो,’ विशाल भन्छन्, ‘यो संयोग हैन, चेतावनी हो ।’

विशालको अनुमानअनुसार, माउ कोब्रा बच्चा कोरल्न सुरक्षित, न्यानो र ओभानो ठाउँ खोज्छ। ‘पुरानो काठको किचनको र्याकमुनि उसले गुँड बनायो।’ कोब्राले एकपटकमा ३०–५० अण्डा फुल पार्न सक्छ। त्यहाँ २३ बच्चा भेटिए। सर्पको काँचुली पनि भेटियो, जुन करिब ६–७ महिनाको देखिन्थ्यो।
‘सुरुङ प्रणालीमा पस्ने तर ननिस्कने बाटो उसले पत्ता लगायो होला,’ उनी भन्छन्।
अर्याल परिवार अहिले ढुक्क छ। भान्साको ठाउँ ढलान गरिएको छ। दिलराम अर्यालको स्वास्थ्य अवस्था सामान्य छ। तर यो अनुभव उनकै भाषामा ‘जीवन र मृत्युको साक्षात्कार’ थियो। सर्पविज्ञहरूका अनुसार पछिल्लो दशकमा मानव–सर्प जम्काभेट तीव्र रूपमा बढेको छ।
वन विनाश, अव्यवस्थित सहरीकरण, साँघुरिँदो बासस्थान यी सबै कारणले गर्दा सर्पहरू बस्तीभित्र पस्न बाध्य भएका छन्। विशेषगरी गर्मी र वर्षायाममा उनीहरूको गतिविधि बढ्ने हुँदा सर्पको डर पनि बढ्ने पाण्डे बताउँछन् ।
सर्पबाट बच्ने यस्ता छन् पाण्डेका सुझाव
घर वरपर सफा राख्ने, झाडी, दाउरा वा परालको थुप्रो हटाउने
प्वालहरू टाल्ने, सानो सानो प्वालहरु पनि सुरक्षित बनाउने ।
भुइँमा नबस्ने र सुत्न झुल प्रयोग गर्ने र खाटमा सुत्ने ।
टर्चलाइट अनिवार्य बनाउने र राति घरबाहिर जाँदा उज्यालो खोज्ने ।
सर्प देखेपछि नजिस्किने र सुरक्षित दूरीबाट अवलोकन गरी उद्धारकर्तालाई खबर दिने ।
‘सर्प मार्ने होइन, बचाउनु हाम्रो धर्म रहेको सर्प उद्धारकर्ताका रूपमा परिचित विशाल पाण्डे भन्छन् । ‘जुन सर्पले डस्छ भनेर डराउँछौँ, त्यसलाई जोगाउने चेतना आयो भने मात्रै हामी मानव भन्नलायक हुन्छौँ।’ उनले थपे, ‘हामीले २३ सर्पका बच्चा बचायौँ, माउलाई बचाउन सकिएन। त्यो हाम्रो सीमितता थियो। तर हामी हार मानेनौँ ।’
पाण्डेका अनुसार तिलोत्तमाको एउटा पुरानो घरले सर्प र मानवीय अस्तित्वबीचको सम्बन्ध देखाएको र डर, विष, सन्त्रासको कथा जति रहस्यमय थियो, त्यत्तिकै प्रेरणादायी पनि रहेको छ । सर्प जोगाउने चेतनाको सन्देश यो घटनाले दिएको उनको भनाइ छ ।
‘पहिले खेतबारीमा बस्थे, अहिले सबै मासिए, उनीहरुको बासस्थान हराउँदै गएकोले समस्या हो, सर्प घरमा आएका होइनन् सर्पको स्थानमा मान्छे गएर बसेका हुन्, हामीले समातेर पनि मार्ने कतै संकलन गर्ने होइन जंगल र खोला छेउमा लगेर छाड्ने हो’ उनले भने- ‘सर्पले पर्यावरणीय सन्तुलन कायम गर्छ यसलाई मार्नुहुँदैन । यसबाट जोगिने हो ।’

Leave a Reply