मधेशमा हल्का वर्षा, सुख्खा क्षेत्रमा राहतको आशा

जनकपुरधाम । खडेरीको सामना गरिरहेको मधेश प्रदेशका जिल्लाहरुमा बल्ल असार लागेजस्तो मौसम बदलिएको छ ।

आज बिहानैदेखि मधेशका अधिकांश जिल्लामा हल्का वर्षा भइरहेको छ । मौसम बदलिएर वर्षा सुरु बनेपछि किसानलाई खुशी तुल्याएको छ । जसोतसो भूमिगत सिंचाईंको भरमा रोपिएको धानलाई यो वर्षाले ठूलो राहत दिएको छ ।

असार सकिन लाग्दा पनि मधेशका करिब ८० प्रतिशन खेत बाँझो छ । यहाँ आकाशे वर्षाको भरमा खेती हुन्छ । तर वर्षा नै नभएपछि किसान धान रोप्न पाएकै छैनन् । जसोतसो करिब २० प्रतिशत खेतमा किसानले रोपेको धान पनि सुक्न लागेको थियो ।

चर्को घामले डढ्न लागेको धान बालीका लागि आज भइरहेको वर्षा अमृत सावित हुनेछ । धनुषाको शहिदनगरका किसान साने यादव भन्छन्, ‘आकाशमा कालो बादल छ । घाम लागेको छैन् । हल्का वर्षा जारी छ । आज बल्ल असार लागेजस्तो महसुस भइरहेको छ । अहिले खेतमा पानी त लागेको छैन् । तर जसोतसो किसानले रोपेको धानलाई ठूलो फाइदा पुग्छ ।’

मौसम बदलिएकाले अब धान रोप्ने खालको वर्षा हुने किसानहरुको अनुमान छ । अहिले पनि राम्ररी वर्षा भयो भने धेरै किसानले लगभग खेत रोपिसक्ने किसानहरु बताउँछन् ।

यसअघि खडेरीकै कारण मधेशका केही जिल्लामा खानेपानीको चरम अभाव भएपछि दमकलले त्यस्ता क्षेत्रमा पानी वितरण गरिने भएकाे थियाे ।

खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको सहायताले पानी वितरणकाे निर्णय गरी सुरु गरिएकाे थियाे ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका हुन् । खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुग्ने उदेश्यले दमकल परिचालन गरिएको मुख्यमन्त्री सिंहले बताए ।

ती दमकल ५ हजार लिटर क्षमताका छन् । एकपटकमा ४० हजार लिटर पानी वितरण गरिनेछ । आगो नियन्त्रण गर्ने दमकल अहिले देखिएको खानेपानी संकट निवारण गर्न उपयोगी साबित हुने प्रदेश सरकारले विश्वास जनाएको छ । खानेपानी आपूर्ति गर्न नेपानी सेना खटेका छन् । दमकलहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने र त्यसको सञ्चालन नेपाली सेनाले गर्ने बताइएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *