काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय राजनीतिक भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागितालाई बाक्लो बनाएकी छन् ।
भण्डारी बूढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना तथा आगामी आवको आर्थिक सर्वेक्षण तथा ०८१/८२ को सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएकी हुन् ।
भण्डारी सोही क्षेत्रबाट २०५०,२०५१ र २०५६ सालमा तीनपटक सांसद निर्वाचित भएकी हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित भएपछि भण्डारी प्रत्यक्ष निर्वाचनमा सहभागी छैनन् ।
बुनपामा एमालेले जितेको छ । यो नगरपालिकाको मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामा छन् । पूर्व राष्ट्रपति यहि नगरपालिकाको बासिन्दा समेत रहेको कारण कार्यक्रममा प्रमुख अतिथीका लागि आग्रह गरेर बोलाइएको प्रवक्ता नवराज भट्टराईले बताए ।
मंगलबारबाट विद्या मदन भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन गरेर ‘मदन भण्डारी फाउण्डेशन’ मार्फत् देशव्यापी अभियानमा उनी होमिएकी छन् ।
भण्डारी प्रमुख संरक्षक रहेको समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने समितिमा देशैभरका विभिन्न तहका नेता कार्यकर्ता समेटिएका छन् ।
समितिका अधिकांश सदस्य विद्या भण्डारी एमालेको नेतृत्वमा आउनुपर्छ भनेर अभियान चलाउनेहरू छन् ।
हिजोमात्र उनको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको छ । विद्याले यो बीचमा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्दै आएकी छन् । मंगलबार उनले पत्रकार भेटघाट कार्यक्रम पनि राखेकी थिइन् ।

Leave a Reply