एनआरएन अष्ट्रेलियाको उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी, यस्ता छन् एजेण्डा

काठमाडौं । एनआरएन, अष्ट्रेलियाको जुलाई २६ मा हुने निर्वाचनमा रमेश पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि उनले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

अष्ट्रेलियाको ब्रिजबेनमा बसोबास गर्दै आएका पौडेल त्यहाँ बसोबास गर्ने नेपालीको पक्षमा लामो समयदेखि काम गर्दै आएका छन् । उनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ६, खिल्जी रामकोटबाट त्यहाँ पुगेका हुन् ।

निर्वाचनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै उनले जारी गरेको अपिलमा भनेका छन्, ‘हामीले बिर्सन लागेको एकता, गुमाउँदै गएका विश्वास र अल्मलिएको दिशालाई फेरि सँगै ल्याउने समय हो।’

आफू शान्त स्वभाव, पारदर्शी दृष्टिकोण र सिद्ध नेतृत्व अनुभवका साथ म मतदातासमक्ष उपस्थित भएको अपिलमा उल्लेख गरेका छन् ।

भनेका छन्, ‘म उम्मेदवार मात्र हैन, सामाजिक जिम्मेवारीमा प्रमाणित कार्यकर्ता हुँ।’ नेपाली डायस्पोराको आवाजलाई बुलन्द बनाउँदै, विभिन्न तह र देशमा समाजसेवा र नेतृत्वमा सक्रिय रहँदै आएका पौडेलले विश्वसनीयता, जबाफदेहिता र समर्पणलाई आफ्नो कार्यशैलीका मूल स्तम्भ बताएका छन् ।

उनले ‘बलियो, समावेशी र उत्तरदायी एनआरएनए अष्ट्रेलिया’ भन्ने मान्यता अगाडि सारेका छन् । त्यससँगै विश्वास र पारदर्शिताको पुनर्स्थापना, अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य, जवाफदेहितासहित विश्वासपूर्ण नेतृत्व र संस्था र बडापत्रको सम्मानलाई आफ्नो एजेण्डा बनाएका छन् ।

समावेशी समुदाय निर्माण, युवा, महिला र कम प्रतिनिधित्व भएका समूहको सक्रिय सहभागिता, सम्मानजनक, विचारशील र समन्वयात्मक संवादको प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन् ।

उनले विश्वव्यापी पहिचान र प्रभावको मान्यताका साथ एनआरएनए आईसीसी र अन्य अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल सरकारसँग व्यावहारिक नीतिमा वकालत गर्ने, नवीनता र पारदर्शिताको उदाहरणीय संस्थाका रूपमा एनआरएन, अष्ट्रेलियालाई अगाडि बढाउने पनि बताएका छन् ।

प्रत्यक्ष समुदाय सेवामा केन्द्रित पहल, शिक्षा, सीप र रोजगारीका कार्यक्रम, सम्पत्ति र कानुनी सुरक्षा सुनिश्चित गर्ने नीतिगत पहल र आप्रवासन सहयोग, कल्याण सेवा र समाज कल्याण प्रवर्द्धनमा आफू केन्द्रित हुने उनको प्रतिबद्धता छ ।

उनी सन् २०२१ देखि २०२३ सम्म एनआरएनको अन्तर्राष्ट्रिय कमिटी (आईसीसी) को मानार्थ सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । सन् २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि आईसीसी सदस्यका उम्मेदवार थिए ।

यसअघि सन् २०११ देखि २०१३ का लागि अष्ट्रेलियास्थित एनआरएन, क्विन्सल्याण्ड कमिटीको सहसंयोजक भएर पौडेलले आफ्नो भूमिका प्रस्तुत गरिसकेका छन् । सन् २०११ देखि २०१५ सम्म एनआरएन अष्ट्रेलियाको एनसीसी सदस्य रहिसकेका छन् ।

उनले विश्वसनीय, पारदर्शी र जनमुखी नेतृत्वका लागि आफूलाई मतदान गर्न अपिल गरेका छन् । ‘विभाजनभन्दा एकता, स्वार्थभन्दा सेवालाई प्राथमिकता दिने दृष्टिकोणका लागि, स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीको आवाज बुलन्द बनाउने प्रतिबद्धताका लागि’ भन्दै उनले मतदातालाई अपिल गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *