भरतपुर अस्पतालको सेफ्टी ट्याङ्की भित्र कसरी खसिन् बालिका ?

चितवन । चितवनमा रहेको भरतपुरमा रहेको एक मात्र केन्द्रीय अस्पताल हो, भरतपुर अस्पताल । चितवनका मात्रै नभएर यस आसपासका १३ हाराहारीका जिल्लाबाट रेफर भएर बिरामी आउने भएकोले यस अस्पताललाई रेफरल अस्पतालको रूपमा पनि लिइन्छ ।

दैनिक कम्तीमा दुई हजारदेखि तीन हजारसम्म बिरामी उपचारको लागि आइपुग्ने यस अस्पतालको व्यवस्थापन भने निकै फितलो रहेको पटक पटक पुष्टि हुँदै आएको छ । जसको एउटा उदाहरण हो सेफ्टी ट्याङ्कीमा खसेर बालिकाका ज्यान गएको घटना ।

भरतपुर अस्पतालको बी ब्लक अर्थात् रगत जाँच, भिडियो एक्सरे, एमआरआइ लगायत जाँच गर्ने भवन अगाडि सानो खाली क्षेत्रमा अस्पतालले बालबालिका खेल्नको लागि स्थल पार्क बनाएको छ । त्यही पार्कमा सोही अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरी खेलिरहेकी थिइन् । नजिकै शौचालयको सेफ्टी ट्याङ्की छ । भरतपुर अस्पतालका शौचालयहरूको सेफ्टी ट्याङ्की नियमित जस्तो सफा गर्नुपर्ने हुन्छ ।

अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा पाइप घुसार्ने ठाउँको प्वाल भने सँधै खुला राखिने गरिन्थ्यो ।

नजिक बालबालिका खेल्ने सानो उद्यान भएको र त्यस वरपर शीतल पनि भएकोले अस्पतालमा बालबालिका लिएर आउने, भर्ना भएका बालबालिका तथा अभिभावकहरू पनि त्यस वरपर बस्ने गर्छन् ।

विकास मगर र उनको श्रीमती भरतपुर अस्पतालकै सफाइ कर्मचारी हुन् । उनीहरू अस्पतालमा काम गर्न आउँदा केही समय त्यही आसपास छोरीलाई खेल्न छोड्ने गर्थे । मङ्गलवार पनि दिउँसो पाँच वर्षकी छोरी अञ्जनालाई त्यही बाल उद्यानमा छोडेर काममा लागे ।

उद्यानमा खेलिरहेकी बालिका एक्कासि सेफ्टी ट्याङ्कीमा खसेको हल्लाखल्ला भयो । तर सेफ्टी ट्याङ्कीको ढक्कन खुला भने थिएन । उनी सेफ्टी ट्याङ्की भित्र पाइप घुसार्न खुला छोडिएको प्वालबाट छिरेकी अस्पतालको दाबी छ । बालिका कुपोषित भएकोले निकै दुब्लो पातलो भएको कारण पाइप छिराउने प्वालबाट भित्र छिर्न खोज्दा खसेको प्रवक्ता डा. सापकोटाको दाबी छ ।

अस्पतालमा हल्लाखल्ला भएपछि बालिकालाई बाहिर निकालेर अस्पतालकै इमरर्जेन्सी हुँदै आइसियूमा उपचार गरिए पनि उनको उपचार भने हुन सकेन । अस्पतालले बुधवार बेलुका बालिकालाई मृत घोषणा गर्‍यो । अस्पतालका प्रवक्ता डाक्टर सापकोटाका अनुसार बालिकालाई सेफ्टी ट्याङ्कीबाट निकाल्न करिब पाँच मिनेट जति मात्रै लागेको थियो । उपचार हुँदै गर्दा स्वास्थ्यमा सुधार पनि आएको थियो, तर एक्कासि उनको मृत्यु भएको उनले बताए ।

घटनाका सम्बन्धमा अस्पतालले यो समाचार तयार पार्दासम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । यद्यपि प्रवक्ता डाक्टर सापकोटाले नेपाल प्रेससँग कुरा गर्दै, व्यवस्थापकीय त्रुटिका कारण कल्पना पनि नगरेको दुखद दुर्घटना भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *