काठमाडौं । कुनै पनि संस्थाले वितरण गर्ने अवार्ड वा पुरस्कारको निश्चित मापदण्ड हुन्छ । त्यही मापदण्डको आधारमा एक व्यक्ति, एक सृजना वा एक संस्थाले अवार्ड पाउँछ । यहाँ बुझनुपर्ने के छ भने अवार्ड पाउने सबै कोणबाट उत्कृष्ट र नपाउने सबै कोणबाट निकृष्ट भन्ने हुँदैन ।
अवार्ड सापेक्षित चिज हो । अवार्ड पाउने चलचित्रलाई भन्दा अवार्ड नपाउने चलचित्रलाई दर्शकले ज्यादा मन पराएको उदाहरण प्रशस्तै देखिन्छ । बक्स अफिसमा धम्माल मच्याएका कतिपय (अधिकांश) हलिउड चलचित्रहरु ओस्कार अवार्डको मनोनयनमा समेत परेका हुँदैनन् । त्यस्ता चलचित्रले मिलियन डलरमा होइन, बिलियन डलरमा आम्दानी गरिरहेका हुन्छन् ।
अर्कातिर सफलताको मापन बक्स अफिस मात्रै हुन सक्दैन । कम्तीमा कला र सृजनाको ओज र शक्तिको अगाडि बक्स अफिस कलेक्सनको उपस्थितिले खास अर्थ राख्दैन । कलाले सधैं समुदाय, समाज, संस्कृति, सभ्यता, इतिहास, पहिचान र सिंगो मुलुकलाई आफ्नो काँधमा बोकेर हिँडिरहेको हुन्छ ।
यसो भन्दै गर्दा हामीले के बिर्सनु हुन्न भने व्यापारबिना सिंगो चलचित्र क्षेत्र नै चलमलाउन सक्दैन । एउटा चलचित्रमा सयभन्दा बढी व्यक्तिहरुको श्रम, पसिना र मिहेनत लागेको हुन्छ । उनीहरुको चुल्हो त्यही चलचित्रले बालेको हुन्छ । निर्माताले करोडौं रुपैयाँको जोखिम लिएका हुन्छन् । त्यो जोखिमबाट ऊ मुक्त भएमा मात्रै अर्को चलचित्र बनाउन सक्छ ।
त्यसैले चलचित्रको उत्कृष्टता मापन गर्ने कुनै युनिभर्सल यन्त्र कसैसँग छैन । कुनै चलचित्र पटकथामा अब्बल हुनसक्छ । कुनै चलचित्र सिनेम्याटोग्राफीमा अब्बल हुनसक्छ । कुनै चलचित्र अभिनयमा अब्बल त कुनै चलचित्र निर्देशनमा अब्बल हुनसक्छ । कलर ग्रेडिङ, सम्पादन, एनिनिमेसन, कस्ट्युम डिजाइन, मेकअप लगायत चलचित्रका विविध विधामध्ये कुनै एक विधामा चलचित्र अब्बल हुनसक्छ । महिला, फरक क्षमता भएका व्यक्ति, सीमान्तमा बाँचेका मानिसहरुप्रतिको दृष्टिकोण कस्तो राखेको छ भन्ने कुराले पनि चलचित्रको उत्कृष्टता मापन गर्ला ।
चलचित्रको सर्वोत्कृष्टता अवार्ड वितरण गर्ने संस्थाले बनाएको मापदण्डका आधारमा मापन हुने होला । अवार्डले समग्रतालाई सम्बोधन गर्छ भनेर सोच्नु पनि गलत हुन सक्छ । यति हो, अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि त्यो उत्प्रेरणा हो । अवार्ड प्राप्त गर्न नसक्ने व्यक्तिका लागि अर्कोपटक अझैं मिहेनत गर्नका लागि उत्प्रेरणा हो ।
अवार्ड पाउनेहरु भावुक हुन्छन्, आफ्नो संघर्ष सम्झिन्छन् । आफूले हिँडेर आएको लामो बाटोतिर एकफेर फर्किएर हेर्छन् । अवार्ड नपाउनेहरु अवार्ड वितरण गर्ने संस्था र जुरीको विज्ञतामाथि नै प्रश्न चिह्न खडा गर्छन् । हाम्रोतिर प्रचलनमा रहेको यस्तो प्रवृत्तिमाथि निर्देशक दीपक रौनियारले स्पष्टसँगले आफ्नो कुरा राखेका छन् । उनले संजालमा लेखेका छन्, ‘विश्वास छैन, प्रक्रिया चित्त बुझ्दैन भने अवार्डका लागि निवेदन नदिनु नै राम्रो हो । दिइसकेपछि प्रतिभाले पाएन, पहुँचले पायो जस्ता गुनासो राम्रो होइन ।’
रौनियारले चलचित्र विकास बोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारतिर इंगित गर्न खोजेका हुन् । हिजो मात्रै चलचित्र विकास बोर्डले २०८१ सालको राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्यो । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमका बीच विविध विधामा उत्कृष्ट चलचित्रलाई पुरस्कार प्रदान गर्यो ।
उत्कृष्ट अभिनेता विजय बराल (पूर्णबहादुरको सारंगी), उत्कृष्ट अभिनेत्री उपासना सिंह ठकुरी (खुस्मा), उत्कृष्ट चलचित्र ‘शाम्बाला’ र उत्कृष्ट निर्देशक मिनबहादुर भाम भए । सँगसँगै अन्य विधाहरुमा पनि विधागत रुपले चलचित्रकर्मीहरु पुरस्कृत भए । हिजोका यस कार्यक्रमको तरंग भने आजसम्मै जारी छ । आफ्नो राय, गुनासो, असन्तुष्टि चलचित्रकर्मीले निरन्तरजसो पोखिरहेका छन् । कतिसम्म भने नातावाद, कृपावाद हेरेर पुरस्कृत गरिएको समेत भन्न भ्याइसकेका छन् । यसरी आरोप, प्रत्यारोप, गुनासो, असन्तुष्टितिर लाग्नुभन्दा नया सृजनात्मक कामहरुतिर लाग्दा राम्रो होला कि ?

Leave a Reply