प्यूठानमा एकल महिलाले थाले ‘रातो अबिर’ अभियान

प्यूठान । प्यूठानका एकल महिलाले ‘रातो अबिर अभियान’ थालेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरू गरेका हुन् ।

श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै उनीहरूले रातो अबिर अभियान चलाएका हुन् । रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार तोड्न महिलाहरू जुर्मुराएका छन् । कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरूलाई स्वतन्त्रता हुनुपर्ने सहभागीहरूले बताए ।

एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरुले आफ्ना दु:ख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । गाडी चढ्दा समेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दु:खेसो उनीहरूले पोखे ।

वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान गुमाएर एकल जीवन बिताइरहेकी नौबहिनी गाउँपालिकाकी एक महिलाले गहभरी आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दु:ख पोखिन् ।

समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरुले पनि महिलाहरूको संवैधानिक हक कुण्ठित गरिरहेकोले `रातो अबिर’ अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरूले उद्घोष गरेका छन् ।

एकल महिलाको उक्त अभियान अब प्यूठानका ६४ वडा र सिँगो लुम्बिनी प्रदेशभरी पुर्‍याउनुपर्ने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताए । लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारीलाई एकल महिलाका समस्यालाई प्रो-एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।

कार्यक्रममा सहभागीहरु २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए । आफूजस्तै थुप्रै महिला भेट्न सबै खुसी भएका थिए ।

तस्बिरहरु: मधुसुदन भण्डारी/नेपाल फोटो लाइब्रेरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *