काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति प्रवक्ता स्वागत नेपालले आज मध्यरातमै एउटा विज्ञप्ति जारी गरेका छन्, जसको आशय घुमाउरो देखिन्छ । विज्ञप्ति समितिका संयोजक नवराज सुवेदीप्रति लक्षित छ ।
सुवेदीले हालै आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको अध्यक्षबाट हटाइएको विषयमा निर्वाचन आयोगमा उजुरी गरेपश्चातको सन्दर्भमा नेपालले यो विज्ञप्ति निकालेका हुन् । विज्ञप्तिमा जनआन्दोलन समितिमा अहिलेसम्म निभाएको भूमिकाका निम्ति सुवेदीलाई धन्यवाद दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘समितिका संयोजकज्यूलाई सबैका साझा व्यक्तित्वका रूपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणापश्चात ४४ वटा पार्टी, अभियान, र संघसंस्थाहरुले स्वीकार गर्नुभएको थियो । तर, पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ । उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनु भएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नु हुँदैन ।’
विज्ञप्तिबाट अब सुवेदीको ठाउँमा नयाँ संयोजक बनाउने आशय बुझिन्छ । जबकि सुवेदीले आफू समितिबाट अलग भएको भनेर घोषणा गरेका छैनन् । यता राप्रपाले पनि स्पेस नदिने र अर्कोतिर समितिबाट पनि बाहिरिनुपर्यो भने सुवेदी बीचमै अलपत्र पर्ने अवस्था आएको छ ।
– विज्ञप्तिको भावमा अझै प्रष्ट हुन हामीले प्रवक्ता नेपाललाई सोध्यौं, ‘के नवराज सुवेदीलाई समितिको संयोजकबाट हटाइएको हो ?’
उनले जवाफ दिए, ‘बैठक बसेर औपचारिक निर्णय नभइसकेको हुँदा कानूनी हिसाबले त भन्न मिलेन । तर, उहाँ राप्रपामै फर्किने भइसकेपछि अब जनआन्दोलन समितिको संयोजक रहनुभएन । सबैको भावना यही छ ।’
– यो विज्ञप्ति समितिको बैठक बसेर निकालिएको हो कि तपाईंले स्वतस्फुर्त निकाल्नु भएको हो ?
मैले समितिमा आवद्ध सबै संघ-संस्थाहरूसँग अनौपचारिक छलफल गरेको छु । औपचारिक बैठक चाहिँ बसेको छैन । चाँडै बैठक बसेर माइन्यूट गर्ने कुरा भएको छ ।
– तर उहाँले त समितिबाट अलग भएको भन्नुभएको छैन नि ?
यो समितिमा ४४ वटा राजावादी संघ/संस्थाहरू आवद्ध छन् । सबैको धारणा के छ भने समितिको संयोजक ‘स्वतन्त्र’ व्यक्ति हुनुपर्छ । नवराज सुवेदीले राप्रपा त्याग्नु भएपछि स्वतन्त्र व्यक्तिको रुपमा सबैले साझा मानेका थिए । तर, उहाँ राप्रपामै फर्किन खोजेपछि त्यो अवस्था आएन । अब नयाँ ढंगले अघि बढ्ने कुरा भएको छ ।
– तपाईंले यो विषयमा नवराज सुवेदीजीसँग कुरा गर्नुभयो ?
उहाँसँग सीधै त कुरा गरेको छैन । आजभोलिमा गर्छु ।
– त्यसो भए अब बस्ने बैठकले नयाँ संयोजकको चयन गर्छ ?
हो । त्यही तयारी छ ।
– अब को हुन्छ त संयोजक ?
त्यो बैठकपछि नै थाहा हुन्छ ।
– डा. जगमान गुरुङलाई नै फेरि जिम्मेवारी दिने तयारी हो ?
अहिल्यै भन्न सक्दिनँ । मैले उहाँसित पनि फोनमा कुराकानी गरेको छु । धेरै कांग्रेस-एमालेका साथीहरू पनि यो अभियानमा जोडिन चाहनुभएको छ । म सबैसित संवादमा छु ।
– नवराज सुवेदी राप्रपामा फर्किनुभयो भने पनि समितिको संयोजक बन्न अयोग्य भइहाल्नु हुन्छ त ? आखिर समितिका धेरै मानिसहरू त विभिन्न पार्टी र अभियानमा जोडिएकै छन् नि ?
हो, समितिमा सबैलाई स्थान हुन्छ । उहाँलाई पनि समितिको सल्लाहकार वा अरु सम्मानित हैसियतमा राख्न सकिन्छ । तर, संयोजक चाहिँ स्वतन्त्र र साझा व्यक्ति नै चाहिन्छ भनेका हौं । अहिले उहाँको चाहना चाहिँ दलमै रहने देखियो ।
– यो तपाईंको व्यक्तिगत धारणा होला नि, सबैले मान्छन् त ?
होइन, यो त सामूहिक धारणा नै हो । म सबैसित अनौपचारिक छलफलमा छु । अब कुनै पनि पार्टीमा नभएको व्यक्तिलाई नै संयोजक बनाउनेमा सबै सहमत छौं ।
– उहाँजस्तो बयोवृद्ध नेतालाई नसोधिकन हटाइदिँदा त अपमानजनक होला नि ?
म सकेसम्म आजै उहाँलाई भेटेर जानकारी गराउँछु ।
– राप्रपाले उहाँलाई अब स्पेस नै नदिने कुरा गरिरहेको छ । यदि राप्रपामा फर्किन पाउनुभएन भने चाहिँ समितिको संयोजकमा बहाल रहन सक्नुहुन्छ ?
त्यस्तो नहोला । अब उहाँलाई मार्ग प्रशस्त गरिदिनुस भनेर अनुरोधै गर्ने हो । समिति अब साँच्चिकै सबैको साझा हुनुपर्छ ।

Leave a Reply