नेकपा एसको बैठक- वामदेवलाई भित्र्याएपछि झाँक्रीबारे निर्णय, प्रेम आलेलाई किन भएन कारबाही ?

काठमाडौं । नेकपा एसको सचिवालय बैठक साउन २ अघि नबस्ने भएको छ । वरिष्ठ वामपन्थी नेता वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानले नेकपा एससँग साउन २ गते एकता गर्ने कार्यक्रम निर्धारित छ । त्यस दिन राष्ट्रियसभा गृहमा विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न हुँदैछ । त्यसपछि मात्रै बैठक बोलाउने तयारी भएको कार्यालय स्रोतले बतायो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालबारे पार्टी नेतृ रामकुमारी झाँक्री दिएको ‘विष्फोटक’ अभिव्यक्तिपछि देशव्यापी रूपमा हलचल मच्चिएको थियो । असार २४ मा बसेको बैठकले झाँक्रीलाई माफ माग्नका लागि ७ दिनको समय दिएको थियो । त्यसअनुसार आज मंगलबार सातौँ दिन पूरा भयो । तर, न झाँक्रीले माफ मागिन्, न त बैठककै सुरसार छ ।

उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार झाँक्रीका सम्बन्धमा बैठकले निर्णय गरेको ७ दिनभित्र नभएर पत्र लेखेको मितिले ७ दिनको समय दिइएको हो । त्यसैले समय घर्किएको छैन ।

पार्टी कार्यालयस्रोतका अनुसार महासचिव घनश्याम भुसालले असार २६ को मितिमा झाँक्रीलाई पत्र त लेखेका छन् । तर, उनको हातमा परेको, नपरेको बारे कार्यालय हालसम्म बेखबर छ । ‘महासचिवले चिठी प्रिन्ट गरेर लानुभएको छ, तर रामकुमारी कमरेडलाई दिनु भयो कि भएन, हामीलाई थाहा छैन’, स्रोतले भन्यो ।

यदि २६ गते पत्र लेखिएको हो भने साउन १ गते ७ दिन पुग्छ । तर, त्यस दिन बैठक बोलाउने सुरसार छैन । वामदेव गौतमको पार्टी प्रवेशपछि बस्ने बैठकमा मात्रै रामकुमारीबारेको एजेण्डामा छलफल हुने भएको स्रोतले जनायो । उक्त बैठकमा ‘वरिष्ठ नेता’ को हैसियतमा गौतम पनि सहभागी हुनेछन् ।

झाँक्रीकै विषयलाई लिएर अहिले पार्टीभित्र अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालबीच कुरा मिलेको छैन । सम्मानित नेता र महासचिव भुसाल कारबाहीको पक्षमा छैनन् । तर, अध्यक्ष नेपाल कारबाही नगरी नहुने भन्दै कारबाहीका लागि भएको विलम्बप्रति महासचिव भुसालसँग रुष्ट छन् ।

उपाध्यक्ष प्रकाश ज्वाला, भानुभक्त जोशीसहितका अन्य नेता पनि कारबाही गरिनुहुँदैन भन्ने पक्षमा छन् । २ गतेपछि बस्ने बैठकमा सहभागी हुने ‘वरिष्ठ नेता’ गौतम व्यक्तिगत रूपमा झाँक्रीनिकटका हुन् । सम्भवतः उनी पनि कारबाहीको पक्षमा हुने छैनन् ।

झाँक्रीको अवस्था आलेको जस्तै

असार १४ गते रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको कार्यक्रममा झाँक्रीले पार्टीका विभिन्न नेतामाथि प्रश्न खडा भएको सन्दर्भमा ‘अर्ली महाधिवेशन’ गरी उनीहरूको सट्टा अरूलाई जिम्मेवारी दिनुपर्छ भनेर भाषण गरेकी थिइन् । त्यसअन्तर्गत पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रसंगमा पनि छोटोमा चर्चा गरेकी थिइन् । तर, उनले पार्टीविरुद्ध वा उक्त पार्टीमा रहने, नरहने विषयमा केही बोलेकी थिइनन् ।

तर, एक वर्षअगाडि नै आफूलाई पार्टीसँग कुनै मतलब नभएको र सदस्य पनि नरहेको भन्ने पूर्वमन्त्री तथा सांसद प्रेम आले अहिलेसम्म पार्टीकै तर्फबाट सांसद छन् । संसदभित्र उनी पार्टी बसेकै दीर्घामा देखिन्छन् । तर, कसैले सोधेमा आफू नेकपा एसमा नरहेको भन्छन् । यति हुँदा पनि उनीमाथि अहिलेसम्म पार्टीले कारबाही गरेको छैन । न त स्पष्टीकरण नै सोधेको छ ।

एक नेताका अनुसार, उनलाई स्पष्टीकरण सोध्ने र पार्टीबाट निकाल्ने हो भने उनको पद त जान्छ । त्यससँगै पार्टीसँग भएको १० सीटमा १ सीट स्वतः कम हुन्छ । उक्त सीट रिक्त भएपछि आलेले चुनाव जितेको डोटीबाट अहिलेकै अवस्थामा फेरि जित्ने स्थिति छैन । २०७९ मंसिरको निर्वाचनमा नेपाली कांग्रेसले समर्थन गरेका कारण आलेले जितेका थिए ।

समानुपातिकतर्फ कांग्रेसले २२ हजार ५१६, एमालेले २२ हजार ४५६, माओवादी केन्द्रले ६ हजार ९२४ मत ल्याउँदा एसले जम्मा २ हजार ३७३ मत पाएको थियो । तर, प्रत्यक्षतर्फ कांग्रेसले समर्थन गर्दा आलेले २७ हजार २१० मतका साथ एमालेकी गौरीकुमारी ओलीलाई जितेका थिए । ओलीले २३ हजार ४ मत पाएकी थिइन् ।

यस्तो स्थितिमा आलेलाई कारबाही गरेर पार्टीबाट निकाल्दा एक त प्रतिनिधिसभामा १० भन्दा कम सांसद भएको दलका सबै सांसद स्वतन्त्रसरह हुन्छन् । अर्कातिर त्यहाँ उपचुनाव भएमा नेकपा एस एक्लैले जित्ने मत छैन । कांग्रेससँगको समीकरण टुटिसकेको छ । माओवादीसँग मिल्दा पनि ऊसँग जम्मा ६ हजार ९२४ मतमात्रै छ, जो जित्नका लागि पुग्दैन ।

झाँक्री अहिले सांसद त छैनन् । तर, उनलाई अहिल्यै पार्टीबाट निकाल्दा उनीसँगै पार्टीबाट पलायन हुने ठूलो जत्थाका कारण क्षति पुग्ने एकथरि नेताहरूले भन्ने गरेका छन् । जसरी आलेलाई कारबाही गर्दा पार्टीलाई संसद अप्ठ्यारो पर्छ, झाँक्रीलाई निकाल्दा उनीसँगै बहिर्गमित हुने कार्यकर्ता रोक्न नसकिने ती नेताहरूले बैठकमै कुरा राखेका छन् । तर, अध्यक्ष नेपाल यी कुरा सुन्न चाहिरहेका छैनन् ।

त्यसमाथि झाँक्रीसँग कुरा गर्न, स्पष्टीकरण सोध्न जिम्मा लगाइएका महासचिव भुसाल आफैँ पनि उनलाई निकाल्नुपर्छ भन्ने पक्षमा छैनन् । तर, अध्यक्ष नेपालकै मन दुखेका कारण अरुले चाहेनन् भनेर रोकिने स्थिति नभएको ती नेताले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *