ऋण उठाउन गएका सहकारीका कर्मचारीमाथि दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरी

विराटनगर । सहकारीबाट लिएको ऋण फिर्ता गर्छु भन्दै बोलाएर मोरङको मिक्लाजुंगमा कर्मचारीहरू माथि दुर्व्यवहार भएको छ ।

झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारीहरूलाई मिक्लाजुंगकी दुर्गामाया लिम्बु र माया मगरले दुर्व्यवहार गरेका हुन् ।

लिम्बु र मगरले स्थानीयको सहयोगमा सहारा मधु मल्ला सेवा केन्द्रका कर्मचारीहरू रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मा माथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने काम गरेका हुन् ।

दुर्गामाया लिम्बु नैनप्रसाद लिम्बुकी छोरी हुन् भने माया मगर चन्द्रलाल मगरकी पत्नी हुन्।

सहकारीका कर्मचारीमाथि जुत्ताको माला लगाउने, मोसो दल्ने प्रयास गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दर्ता भएको सहारा नेपालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटना बारेमा छानबिन सुरु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जाहेरी दर्ता भइसकेकोले उनीहरूलाई अभद्र व्यवहारमा पक्राउ गरी कारबाही हुने जानकारी दिए ।

सहकारी संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले विज्ञप्ति जारी गर्दै यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छवि धूमिल पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

घटनालाई लिएर एकीकृत कर्मचारी सङ्गठन सहारा नेपाल साकोसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थामा कर्मनिष्ठ भई कार्य सम्पादन गर्ने क्रममा यस प्रकारको निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय दुर्व्यवहार प्रति सम्पूर्ण कर्मचारी परिवारले दुःख व्यक्त गर्दै घोर भर्त्सना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *