सहकारी प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त, बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको नेतृत्वमा रहेको अध्यक्ष सिफारिस समितिले शर्मासहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेकोमा सरकारले शर्मालाई अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । सिफारिस समितिले पहिलो नम्बरमा शर्मा, दोस्रो नम्बरमा पूर्वसचिव अर्जुन पोखरेल र तेस्रो नम्बरमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।
प्राधिकरणको अध्यक्षमा नियुक्त शर्माको कार्यकाल चार वर्षको हुनेछ । यसअघि अध्यक्ष नियुक्ति नभएसम्मका लागि भूमि मन्त्रालयका सचिवले अध्यक्षको भूमिका निर्वाह गरिरहेका थिए । नवनियुक्त अध्यक्ष शर्मा राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव थिए । शर्मा नेकपा (एमाल)को सहकारी विभागमा सदस्य समेत थिए ।
यसैविच सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न छानबिन समिति गठन गरेको छ । ओझामाथी छानबिन समिति गठन भएसँगै उनी स्वत निलम्बनमा परेका छन् । मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझामाथि नक्कली प्रमाणपत्र पेस गरेर अध्यक्षको नियुक्ति खाएको आरोपमा छानबनि गर्न पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गरेको एक मन्त्रीले नेपाल प्रेससँग बताए ।
समितिका सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला रहेका छन् । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्नकै लागि छानबिन समिति गठन गरेको हो । ऐनको दफा १२ को उपदफा १ को खण्ड ‘ग’ मा खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा अध्यक्ष वा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ । सोही दफाको उपदफा २ मा नेपाल सरकारले अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्नुपरेमा उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था छ ।
अध्यक्ष ओझामाथि फर्जी कागजात पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । यही विषयमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।पूर्वपत्रकार समेत रहेका ओझासँगै पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला प्राधिकरणको अध्यक्षका लागि प्रतिस्पर्धामा थिए ।

Leave a Reply