रुपन्देही । भारतीय दवावमा युनेस्को र इकोमसको पक्षपाती व्यवहारकै कारण शाक्य वंशको अन्तिम राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजना फेल भएको छ ।
भारतले कपिलवस्तुको तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आइरहेको कारण युनेस्को र इकोमसको बैठकमा यसलाई अगाडि नबढाउन पटक-पटक दवाव दिएको खुलेको हो । युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले पेश गरेको डिफर प्रतिवेदनमा कपिलवस्तुको तिलौराकोट नै प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट हो भन्ने पुष्टिका लागि थप प्रमाण जुटाउन भनिएको थियो ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्न नेपालबाट गएको लुम्बिनी विकास कोषको टोलीले युनेस्को, इकोमस र स्वयं भारतीय टोलीलाई पटक–पटक भेटेर ‘कन्भिन्स’ गर्दा पनि टसमस नभएको सहभागी एक सदस्यले बताए ।
युनेस्कोको बैठकमा सहभागी हुन नेपालबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोली फ्रान्स पुगेको थियो ।
हाल युनेस्कोमा १९५ मुलुक सदस्य छन् । सूचीकृत गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार भने २१ वटा राष्ट्रलाई मात्र रहेको छ । तिनै २१ वटा राष्ट्रहरूको ४७ औं बैठक पेरिसमा बसेको थियो ।
भारतीय राजदूत नविन श्रीवास्तवले नै लुम्बिनी विकास कोषको अध्यक्ष रहेका पर्यटन मन्त्री बद्रि पाण्डेलाई भेटेर कपिलवस्तु र तिलौराकोटको विषय अघि नबढाउन आग्रह गरिसकेका थिए ।
तर नेपाल भारतका पुरातत्व विभागका महानिर्देशकहरुसहित लुम्बिनी विकास कोषका पदाधिकरीसहितको जुम मिटिङमा भारतीय संस्कृति मन्त्रालयका महानिर्देशक यदुविर रावत र सहसचिव गुरमिट सिंह चावलालाई नेपाली अधिकारीहरुले यसको समन्वय गर्न पटक पटक आग्रह गरेका थिए ।
त्यो समयमा पनि भारतले कपिलवस्तुलाई भारतले सिधै अस्वीकार गरेको थियो । त्यो बैठकपछि नेपाली टोलीले भारतीय पक्षबाट भएको अडानलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा उनले अडान लिएर टुंगाउन निर्देशन दिएका थिए ।

भारतीय टोलीले पटक पटक नेपाली टोलीलाई कपिलवस्तु नाम दिनै नसकिने अडानमा रहेका कारण तिलौराकोटलाई मात्रै भएपनि सूचिकृत गर्नका लागि अन्तिम तयारी भएपनि प्रयास गरे तर भारतीय पक्षको दवाव युनेस्को र इकोमसले थेग्न नसकेको हो । यसमा कुटनीतिक कमजोरी भएको लुम्बिनी विकास कोषका अधिकारी स्वीकार गर्दछन् ।
भारतीय प्रतिनिधिले युनेस्कोको बैठकमा ’वी लस्ट बुद्ध, विकाउज वी लुज लुम्बिनी’ अर्थात लुम्बिनी दिएर गौतम बुद्ध गुमायौं,अब तिलौराकोट विश्व सम्पदा सूचीमा पारेर अर्को गल्ती गर्दैनौ भनेर अड्डी लिएका थिए ।
‘जुलाई ५ मा फ्रान्सका लागि नेपाली राजदूत डा. सुधीर भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामासँग त्यहाँस्थित भारतीय राजदूतले भेटेर युनेस्कोलाई कपिलवस्तु हटाएर अघि बढाउन र तिलौराकोटमा सहमति जनाउने मौखिक सहमति दिएका थिए ।
त्यसैलाई आधार मानेर जुलाई ८ मा विज्ञसहितको टीम बस्यो तर पहिले सहमति जनाएको तिलौराकोटमा पनि भारतीय पक्ष तयार भएन’ टोलीका सदस्यले बताए । उनका अनुसार यसमा भारतीय पुरातत्व विभागका डिजी यदुविरसंह रावतले ‘वी लस्ट बुद्ध, विकाउज वी लुज लुम्बिनी’ अर्थात लुम्बिनी दिएर गौतम बुद्ध गुमायौं, अब तिलौराकोट विश्व सम्पदा सूचीमा पारेर अर्को गल्ती गर्दैनौ भनेर अड्डी लिएका थिए ।
भारतीय पक्षबाट युनेस्को निर्देशकलाई नै ३३ बुँदामा आपत्ति जनाएर पत्र लेख्दै कपिलवस्तु र तिलौराकोट दिन नसकिने जनाएको थियो ।
इकोमसले डिफर गरेपनि लुम्बिनी विकास कोषको टोलीले १२ जुलाईसम्म आशा मारेको थिएन । अन्य देशका यस्ता विषयमा डिफर गरेपनि युनेस्कोको बोर्डले नहटाएको तर नेपालको मात्रै रोकेका कारण यसमा पूर्वाग्रह र पक्षपाती भएको नेपाली टोलीको निचोड छ ।
लुम्बिनी विकासकोषका सदस्यसचिव सानुराजा शाक्यले इकोमसले मूल्यांकन पहिले नै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावलाई डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएको बताए ।
युनेस्कोको ४७ औं बैठकमा सहभागी सदस्य सबै राष्ट्रहरुले इकोमसको सोही प्रतिवेदनलाई समर्थन जनाएपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास असफल भएको उनको भनाइ छ ।
विकास कोषका सदस्य सचिव शाक्यका अनुसार इकोमसले डिफर गरेको प्रस्तावमाथी बैठकमा सहभागी कुनै पनि सदस्य राष्ट्रले नेपालको पक्षमा संशोधन प्रस्ताव हालेको भए तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रस्ताव बैठकमा पेश हुन्थ्यो । तर कुनैपनि सदस्य राष्ट्रले नेपालको पक्षमा संशोधन प्रस्ताव नहाली इकोमसको प्रतिवेदनलाई पूर्ण समर्थन जनाएपछि यो प्रकृया रोकिएको हो ।
तिलौराकोटलाई जस्तै इकोमसले डिफर गरेको भारतको मार्था मिल्टरी ल्यान्डस्केपको पक्षमा भने सदस्य राष्ट्र जापानले संशोधन प्रस्ताव हालेपछि बहुमत सदस्य राष्ट्रहरुको समर्थनपछि सनिवारकै बैठकबाट विश्व सम्पदा सूचीमा सूचिकृत भएको छ । सदस्य सचिव शाक्यले सम्पदा कुटनीतिमा नेपालको तर्फबाट कमजोरी देखिँदा तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको बताए ।
सन् २०२४ जनवरी ३१ मा नेपालका तर्फबाट युनेस्कोमा स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि राजदूत डा. सुधीर भट्टराईले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न एक हजार पृष्ठको अन्तिम मनोनयन दस्ताबेज पेरिसस्थित युनेस्कोको विश्व सम्पदा केन्द्रमा बुझाएका थिए ।
त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागले विभिन्न चरणमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञहरूसँग तिलौराकोट क्षेत्रमै पटकपटक छलफल भएका थिए ।
पटक–पटक गरिएका उत्खनन्मा तिलौराकोटभित्र प्राचीन इटा र ढुंगाका दरबारका तीन वटा भग्नावशेष भेटिएका छन् । भेटिएका भग्नावशेष र वस्तुहरूको आधारमा सिद्धार्थ गौतमबुद्धको जन्म २५ सय वर्षअघि भएपनि तिलौराकोटमा भेटिएका प्रमाणको आधारमा त्योभन्दा तीन सय वर्षअघि नै तिलौराकोटमा मानव सभ्यता र पौराणिक सहर रहेको पुष्टि गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९९६ मै सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो । प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट गौतम बुद्ध हुर्किएको र उनले २९ वर्षसम्मको उमेर बिताएको ऐतिहासिक एवं पुरातात्विक स्थल हो । राजा शुद्धोदनको दरबार र गौतमबुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि १९९६ देखि नै प्रमाण र आधारहरू जुटाउन प्रयास थालिएको थियो ।
युनेस्को जापनिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा गरिएको वैज्ञानिक पुरातात्त्विक उत्खनन्पछि पर्याप्त आधार र प्रमाणहरू जुटाएपछि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अगाडि बढाइएको थियो ।
उत्खनन्को क्रममा फेला परेका पुरातात्विक वस्तुहरूको वैज्ञानिक अनुसन्धान र अध्ययनको आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरातत्व विज्ञहरूले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आवश्यक प्रमाणसहितको प्रतिवेदन तयार गरेका थिए ।
अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलको नेतृत्वमा सम्पदा विशेषज्ञ प्रो. डा. रविन कनिङघम, डा. मार्क म्यानुअल, प्रोफेसर योकियो निशिमुरा, प्रो. म्याक्स डिग, डा. क्रिस्टोफ डेविस, डा. काई वाइजे, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य लगायतको विज्ञहरुको टिमले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि तयार गरेको रणनीतिक मनोनयन दस्तावेजको आधारमा २०८० माघमा विश्व सम्पदा केन्द्रमा मनोनयन दस्तावेज पेस गरिएको थियो ।
केन्द्रमा मनोनयन दस्तावेज पेश गरेपछि युनेस्कोको मूल्यांकन टिमले तिलौराकोटमै आएर पटकपटक अध्ययन र मूल्यांकन गरिसकेको थियो ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४७ औं सेसनमा छलफल गरिएपनि सूचीकृत नभएको हो । यसअघि ४७ औँ युनेस्को बैठकमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको थियो । युनेस्कोको प्राविधिक सल्लाहकार इकोमस नै तिलौराकोटबारे सकरात्मक प्रतिवेदन तयार नपारेपछि नेपालको वर्षोँदेखिको प्रयास असफल भएको हो ।

Leave a Reply