दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकहरूका हितलाई केन्द्रमा राख्दै ‘श्रमिक संवाद’ कार्यक्रम दुबईमा सम्पन्न भएको छ। झण्डै पाँच घण्टा लामो कार्यक्रममा श्रमिक र सरोकारवाला निकायबीच प्रत्यक्ष संवादको वातावरण बनेको थियो ।
कार्यक्रममा यूएईका विभिन्न क्षेत्रमा कार्यरत करिब २ सय नेपाली श्रमिक, श्रमिक कल्याणमा सक्रिय संघ,संस्था, नेपाली दूतावासका अधिकारी, दुबई प्रहरी र स्थानीय प्रशासनका उच्च अधिकारीहरू सहभागी थिए ।
श्रमिकको गुनासो, दूतावासको जवाफ
कार्यक्रमको झण्डै तीन घण्टा श्रमिक र अधिकारीबीच प्रत्यक्ष सवाल जवाफ चलेको थियो । श्रमिकहरूले अस्पतालमा उपचाररत बिरामी, शव व्यवस्थापन, क्षतिपूर्ति भुक्तानीमा भएको ढिलाइ, राहदानी समस्या, कम्पनीका गुनासा, आप्रवासन कानुन र श्रमिक बीमा सम्बन्धी समस्याहरू उठाएका थिए । सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा पाइने फाइदाबारे पनि विस्तृत जानकारी दिइएको थियो ।
नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल र श्रम सहचारी पंकज लाव कर्णले श्रम सम्बन्धी , राहदानीसम्बन्धी प्रश्नमा प्रथम सचिव तिलक सुनारले जवाफ दिएका थिए । ‘पासपोर्टको म्याद सकिएको , पासपोर्टको कारण भिसा लगाउन समस्यामा हुने सिधै दुतावास आउनुस्, हामी आफै फाराम भरेर पासपोर्ट बनाउन सहयोग गर्छौ’, दुतावासको राहदानी फाँट हेर्ने सुनारले भने ।

दूतावासले समस्याको समाधान खोज्न श्रमिकहरूलाई समयमै सम्पर्क गर्न र आवश्यक कागजात पेश गर्न आग्रह गरिएको थियो ।
दुबई प्रहरीको चासोः आपराधिक गतिविधि दोब्बर
कार्यक्रममा श्रम सहचारी पंकज लाव कर्णले पछिल्लो समय नेपालीहरूबाट यूएईमा गैरकानुनी र आपराधिक गतिविधि दोब्बर भएकोप्रति दुबई प्रहरी र सरकारी निकायले चासो व्यक्त गरेको जानकारी दिए ।
दुबई प्रहरीको अपराध निवारण टोलीबाट लेफ्टिनेन्ट मैथा मोहम्मद, मेजर अहमद अली र यार मोहम्मद कासिमले हिन्दी/उर्दू भाषामा प्रस्तुति दिँदै नेपाली श्रमिकहरूलाई सामाजिक सञ्जाल, ठगी, फेक पुलिस कल, कुरियर स्क्याम जस्ता मुद्दामा सतर्क रहन आग्रह गरे ।

उनले चोरी, मादक पदार्थ सेवन, झगडा, अवैध बसोबास, लागुऔषध प्रयोग र आपूर्ति जस्ता गैरकानुनी क्रियाकलापमा संलग्न नहुन चेतावनी दिए ।
जनचेतना अभियानमा सहकार्यको प्रतिबद्धता
कार्यक्रममा पहिलोपटक सहभागी स्थानीय प्रशासनका प्रतिनिधिले नेपाली समुदायलाई लक्षित जनचेतनामूलक कार्यक्रमहरूमा दुबई प्रहरीले पनि सहभागी हुने प्रतिबद्धता जनाए। “दूतावासले सुरु गरेका अभियानहरू सराहनीय छन्, हामी दुबई प्रहरीमार्फत नेपाली समुदायसम्म पुग्ने कार्यक्रम ल्याउँछौं,” उनीहरूले बताएका थिए।
नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरी र उपाध्यक्ष केदार कुँवरको सञ्चालनमा भएको कार्यक्रममा एनआरएन यूएईका अध्यक्ष विकास शाहीले स्वागत मन्तव्य दिएका थिए भने नेपाली समाजका अध्यक्ष राम मोक्तानले कार्यक्रमको उद्देश्य र पृष्ठभूमिबारे प्रकाश पारेका थिए।

नेपाल पत्रकार महासंघ यूएई शाखाको तर्फबाट निमेश गिरीद्वारा तयार पारिएको सामाजिक सञ्जालको प्रयोग तथा त्यसका फाइदा÷बेफाइदाबारे पूर्वअध्यक्ष लक्ष्मण खनालले प्रस्तुति दिएका थिए। स्वास्थ्य सचेतना तथा व्यायामसम्बन्धी प्रस्तुति भने समय अभावका कारण प्रस्तुत हुन सकेन।
सोनापुर, हेमाया सेक्युरिटीलगायतका विभिन्न क्याम्पहरूबाट आएका श्रमिकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष संवादले समाधानको सुरुआत गर्ने बताएका थिए।
“दूतावाससँग प्रत्यक्ष संवाद गर्न पाउनु आफैंमा समाधानतर्फको पाइला हो। यस्ता कार्यक्रमले विश्वास बढाउँछ,” नेपाली समाजका पूर्वअध्यक्ष वेद प्रसाद अर्यालले प्रतिक्रिया दिए।
राजदूतको आग्रहः समस्या भए दूतावासमा सम्पर्क गर्नुस्
कार्यक्रममा दुबईस्थित नेपाली महावाणिज्यदूत हरि ओडारी र यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले समेत सम्बोधन गरेका थिए।
राजदूत क्षेत्रीले दूतावास वा कम्पनीसँग समस्या भए सामाजिक सञ्जालको दुरुपयोग नगरी प्रत्यक्ष रूपमा सम्पर्क गर्न आग्रह गरे। दुबईमा धेरै जसो नेपालीलाई नेपालीले नै ठगेको गुनासा धेरै छन् । सक्नुहुन्छ सहयोग गर्नुस नसके कसैलाई ठग्ने काम नगर्नुस ।
दूतावासका प्रवक्ता तथा उप–नियोग प्रमुख रञ्जिता दाहालले श्रमिक संवाद कार्यक्रमलाई आगामी दिनमा थप व्यवस्थित र नियमित बनाइने जानकारी दिइन्।


Leave a Reply