काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बज्गाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा उनले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको रास्वपालाई पहिले आफ्ना दाग सफा गर्न पनि आग्रह गरेका छन् ।
उनले भने, ‘रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस् । तपाईंहरु फोकाहरु हुन् भन्न नपरोस् । ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्नुहोस् । पहिले तपाईंले आफ्ना दाग सफा गर्नुहोस् । तपाईं नपग्लँदै मलाई कुनै मौका मिलेमा कडा परिश्रम गरेर तपाईंको प्रतिवाद म आफै गर्न सक्नेछु।’
काँग्रेस सांसद बज्गाईले रास्वपा भित्र बोल्ने व्यक्तिको हालत ढाकाराम र मुकुलको जस्तो हुने भन्दै आफुहरुलाई लोकतन्त्र र कानूनी शासन नसिकाउन चेतावनी दिए ।
उनले भने, ‘एउटा पत्रकार, एउटा पत्रकारिताको विषयमा तपाईंहरुले संसदमा के बोल्नुभयो भने, संसदमा पनि सारा पत्रकार, सारा छापको विरुद्धमा, उहाँहरुको विरुद्धमा तपाईंले, तपाईंहरुले चाहिँ एउटा स्टेटमेन्ट जारी गर्नुभयो। प्रेस स्वतन्त्रताको विरुद्धमा तपाईंहरुले विज्ञप्ति जारी गर्नुभएको छ । जो बोल्छ उसैको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ, अनि तपाईंहरु हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउनुहुन्छ ?’
रास्वपाले हदै तहमा नेपाली कांग्रेसमाथी आक्रमणको प्रयास गरेको आरोप लगाउदैँ रास्वपालाई प्रतिगामी र गैर प्रजातान्त्रिक भएको बताए । उनले भने, ‘यस्तै यो संसदमा यस्तो हर्कत कुरुपले देखाउन खोजेको हो कि भन्ने मलाई लागेको छ । तपाईंहरुले हद आक्रमण प्रयास गर्नुभएको छ, मूलतः कांग्रेसमाथि । यसकारण पनि तपाईंहरु प्रतिगामी, गैर प्रजातान्त्रिक हो ।’
सांसद बज्गाईले अदालतको आदेशको अवज्ञा गर्दै हस्ताक्षर कार्यक्रम सञ्चालन गर्न हुन्छ भन्दै आफ्ना घोटालाको बारेमा, स्क्यामरको बारेमा आवाज उठाउन सक्नुहुन्छ भन्दै थप प्रश्न गरे ।
उनले भने, घरमा चालक शम्भु दिलबहादुर थापाको रहस्यमय मृत्यु भयो । शालिकराम पुडासैनीले दुरुत्साहनमा मर्नुपर्यो । यी घटना निरुपण भयो भन्न सकिँदैन । प्राकृतिक विपत्तिका बेला राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षर कार्यक्रम सञ्चालन गर्नुहुन्छ ? हामी पहाडबाट घाइते उद्धार गर्दैछौँ, ज्यान जोगाइरहेका छौँ, गरिबलाई रोजगारी दिइरहेका छौँ, भ्रष्टाचारविरुद्ध आफ्नै पार्टीभित्र पनि आवाज उठाउँछौँ । के तपाईंहरु पनि आफ्ना घोटालाको बारेमा, स्क्यामरको बारेमा आवाज उठाउन सक्नुहुन्छ ?’

Leave a Reply