ट्याक्टर दुर्घटना : २० वर्षीय चालकको ज्यान गयो, सहचालक गम्भीर घाइते

जाजरकोट । जाजरकोटमा सोमबार बिहान ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।

भेरी नगरपालिका–१० को फेराबजारबाट छेडाचौरतर्फ गइरहेको कर्णाली प्रदेश ०१००२ त ०६०७ नम्बरको खाली ट्याक्टर आलीगाउँ नजिकै सडकबाट करिब ५० मिटर तल खस्दा २० वर्षीय चालक धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो। उनी भेरी नगरपालिका–९ का बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्तकुमार शर्माका अनुसार ट्याक्टरसहित च्यापिएर मृत्यु भएका विकको शव स्थानीय जेसिबी प्रयोग गरी निकालिएको हो। सोही दुर्घटनामा परेका १५ वर्षीय सहचालक वीरेन्द्र परियार गम्भीर घाइते भएका छन्। उनी भेरी नगरपालिका–७ का हुन्।

घाइते परियारलाई तत्काल उद्धार गरी जाजरकोट अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। ट्याक्टर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *