माया धराने बेसार : ३ दिनमा २ हजार किलो बिक्री, १६ लाखको व्यापार

काठमाडौं । तीन दिन अघि मात्रै बजारमा आइपुगेको माया धराने बेसारले अहिले बजार पिटिरहेको छ । धेरै उपभोक्ताले बेसारलाई रुचाएको मात्रै होइन, सामाजिक सञ्जालमा पनि अधिकांशले बेसारको प्याकेटको फोटो राखेर पोस्ट गरिरहेका छन् ।

माया धराने बेसार सञ्चालक समितिका सदस्य समीर तामाङका अनुसार तीन दिनमा मात्रै दुई हजार किलो बेसार बिक्री भइसकेको छ ।

प्रतिकिलो आठ सय रुपैयाँ पर्ने बेसार दुई हजार किलो बिक्री हुँदा १६ लाखको व्यापार भइसकेको छ । तामाङले भने, ‘जिल्ला जिल्लाबाट अर्डर आइरहेको थियो । अहिले विदेशबाट बढीजसो अर्डर आउन थालेको छ ।’

तामाङका अनुसार माया धराने कृषक समाज, उपभोक्ता सञ्चालक समितिले धरान उपमहानगरपालिकासँग सहकार्य गरेको हो ।

उपमहानगरले भवन निर्माण गर्नेदेखि फ्याक्ट्रीमा प्रशोधनका लागि चाहिने मेसिन पनि किनेको तामाङले बताए । त्यही फ्याक्ट्रीमा आफूहरूले बेसार प्रशोधन गरेर प्याकेजिङ गरेर बजारमा लैजाने गरेको उनले बताए ।

आधा किलो बेसारको बजार मूल्य चार सय छ भने तामाङहरूले कृषकबाट उठाउँदा तीन सयदेखि तीन सय तीस रुपैयाँसम्ममा उठाउने गरेका छन् । अहिलेसम्म धरान उपमहानगरका कृषकहरूकै बेसार उठाइरहिएको तामाङले बताए ।

तर, माया धराने बेसार बेचेर आएको मुनाफालाई के कसरी वितरण गर्ने भनेर स्पष्ट नभइसकेको तामाङले बताए । उनले भने, ‘यसबाट प्राप्त लाभलाई धरान उपमहानगरलाई कति प्रतिशत, कृषकलाई कति प्रतिशत र सञ्चालक समितिलाई कति प्रतिशत भनेर निर्णय भइसकेको छैन । अहिले हामी ट्रायल पिरियडमा छौँ । छिट्टै नै त्यसबारे पनि निर्णय गर्छौँ ।’

अहिलेसम्म उपमहानगरले भवन र मेसिन उपलब्ध गराउनु बाहेक बाँकी खर्च सञ्चालक समितिले गर्दै आइरहेको छ । सञ्चालक समितिमा १५ सदस्य छन् । १५ सदस्यले चालु पुँजीको रूपमा पाँच लाख रुपैयाँ पैसा उठाएको र त्यही पैसाले बाँकी कामहरू गरिरहेको तामाङले बताए ।

सञ्चालक समितिले सुरुसुरुमा बेसारलाई बजार पुर्‍याएर नगदमा कारोबार गरिए पनि अब भने बैंक खाता सञ्चालनमा ल्याएको छ । यदि बेसारको माग बढेमा उत्पादन बढाउँदै लैजाने सुरमा छ सञ्चालक समिति ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *